(सत्ताधारी गठबन्धनले पाँच पार्टीले ‘उच्चस्तरीय समन्वय समिति’ गठन गरेपछि यसको चर्चा निकै चलिरहेको बेला यसैको सेरोफेरोमा रहेर गठबन्धनकै दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठसँग गोलखबर डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको जस्ताको तस्तै प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. चार दलीय सत्ता गठबन्धनको औचित्य सकियो भन्छन् त ?
यो गठबन्धन प्रतिगमन विरोधी संघर्षका क्रममा कार्यगत एकताका आधारमा निर्मित गठबन्धन हो । संविधान र लोकतन्त्रको सुरक्षा, यसको सुदृढीकरण र रक्षा, राष्ट्रियता र सुशासनको सवाल तथा सेवा र विकासका लागि यसको निर्माण गरिएको हो ।
प्रतिनिधिसभालाई पूरा कार्यकाल जीवित राखेर संविधानतः आवधिक निर्वाचन सम्पन्न गराउने यसको लक्ष्य र उद्देश्य हो । त्यसैले निर्वाचन सम्पन्न गर्ने अवधिसम्म यो गठबन्धन रहन्छ । त्यतिबेलासम्म यसको औचित्यता समाप्त हुँदैन ।
२. भनेपछि चुनावपछि पनि यो गठबन्धन रहिरहन्छ ?
चुनाव पछि यो गठबन्धन रहन सक्छ सक्दैन, त्यो अहिले अनुमान गर्न सकिने विषय त होला तर त्यो अवस्तुवादी हुन जान्छ । यो कुरा त्यतिबेलाको परिस्थतिले निर्धारण गर्छ । किनकि, यो लामो समयसम्म रहने रणनीतिक मोर्चा होइन ।
कार्यगत एकताबाट निर्माण भएको यो कार्यनीतिक मोर्चा मात्र हो । तर पनि अहिले प्रतिगमनको खतरा देखिइरहेकाले आबद्ध पार्टीहरुबीच सहकार्य रहिरहन्छ ।
चुनावपछि पनि यदि राष्ट्रियताको खतरा रहिरहेमा वा विकास निर्माणका कार्यहरु अघि बढाउनु पर्ने भएका यो मोर्चा कायमै रहन सक्छ । यस अर्थमा निर्वाचनपछि पनि यो मोर्चाको औचित्यता रहने कुरामा आशंका गर्न सकिन्न ।
देशमा संविधानमाथि खतरा आइपरेमा र राजनीतिक स्थिरता देखा पर्न गएका यो कार्यनीतिक मोर्चा कायमै रहन सक्छ ।
३. तर चुनावकै मुखमा पुगेको बेलामा यो गठबन्धन रहन्न भनिरहेका छन् त प्रतिपक्षले ?
पहिलो कुरा त अहिले नै हामीले यो गठबन्धन सधैं रहला कि नरहला भनेर एजेण्डा बनाएर छलफल गरेका छैनौ । यो भिन्दै एजेण्डा हो । पछि छलफल होला नहोला, त्यो आवश्यकताले माग गर्ने कुरा हो ।
अहिले गठबन्धनको औचित्य चुनाव सम्पन्न गर्नेसम्म मात्र रहेको छ । पार्टीहरुका बीचमा चुनावमा कसरी जाने भन्ने मात्र छलफल भएको छ ।
विभिन्न विचार र आस्थामा आधारित पार्टीहरु यो गठबन्धनमा रहेकाले पार्टीका फरक मतहरुलाई लिएर गठबन्धन सिद्धिन्छ भन्नुमा तुक छैन ।
४. तर गठबन्धनभित्रै आआफ्ना कुरा छताछुल्ल आइरहेका छन् त ?
गठबन्धनको भविष्य यसले तय गगर्ने विचार र बाटोमा भर पर्छ । यो कुरा साँचो हो । तर यो आफैमा रणनीतिक मोर्चा भने होइन ।
यसको अर्थ के हो त भने गठबन्धनमा रहेका पार्टीहरुका आआफ्ना धारणा छन् । तर गठबनधनको धारणा भने साझा छ र साझा रहेको छ । संविधान, लोकतन्त्र, संघीयता, संसद आदिको रक्षाका लागि यसको निर्माण गरिएको हो ।
देशको आवश्यकताका आधारमा यो टिक्छ । जहाँसम्म यसमा अबद्ध पार्टीहरुको धारणाको कुरा छ, त्यो त पार्टीका आआफ्ना सोच, विचार, कार्यदिशा र कार्यक्रम छन् । यो राख्न सबै पार्टी स्वतन्त्र छन् ।
५. यसैले हो यी सारा टिप्पणी भैरहेको ?
त्यसो त नभनौ । कार्यगत एकतामा निर्मित गठबन्धनमा हुने टिप्पणी स्वाभाविक हो । यहाँ आबद्ध पार्टीहरुका विचार गठबन्धनले अपनाएको सझा कार्यक्रमको विचार होइन ।
बरु विभिन्न फरक विचार राख्ने पार्टीहरुले तात्कालीन आवश्यकताका आधारमा यो गठबन्धन निर्माण गर्न पुगेका हुन् । अहिलेको सरकार यसैको प्रतिफल हो ।
सरकार आफैमा मिलिजुली सरकार हो । यो एउटै विचारबाट निर्देशित सरकार पनि होइन । विविध विचारहरु राख्ने पार्टीहरु यसमा सामेल छन् । फरक मत र टिप्पणीहरु आउनु स्वभाविक नै हो ।
६. संविधान, संसदआदि जोगाउन त यसले काम गर्यो, अब थप के गर्नुपर्छ ?
यो गठबनधनले नयाँ सरकार दिन सक्दा नै प्रतिगमनकारी कदम बिफल हुन गएका छन् । नेपाल हालको अवस्थामा छ ।
संसद जीवित र सुचारु छ । प्रतिगमनकारी सरकार बिस्थापित हुन गएको छ । तिनै बिस्थापितबाट आलोचना हुनु कुनै नौलो कुरा भएन पनि ।
साथसाथै, अर्को कुरा भनेको हामीले त्यति बेला प्रतिगमनकारी कदम असफल पार्ने मात्र कुरा गरिरहेका थिएनौ । बरु त्याभन्दा अघि बढेर देशमा सुशासन र विकास निर्माणका काम दिनु पर्छ भनेका थियौं ।
प्रतिगामी कदम केपी ओलीको थियो । त्यसको बाहकका रुपमा केपी प्रवृत्ति थियो । यो प्रवृत्तिलाई हटाउने र हामी सबै मुक्त हुने कुरा गरेका थियौं ।
संविधान र लोकतन्त्रभन्दा आफूलाई माथि राख्ने, निरंकुशता लाद्ने, स्वेच्छाचारिता हाबी गराउने, व्यक्तिवाद लाद्ने र विधिपद्धति नमान्ने प्रवृत्तिका रुपमा केपी प्रवृत्ति आएको थियो ।
यस्तो खाले प्रवृत्ति केपीले गर्दा नमान्ने तर अरुले गर्दा मान्ने भन्ने हुन सक्दैन । हामीले आत्मसमीक्षा गर्नुपर्छ । र, यो प्रवृत्तिबाट मुक्त हुनु पर्छ ।
७. साँचै, आत्मसमीक्षा गर्न तयार हुनुहुन्छ त्यसो भए ?
हो, हामीले आत्मसमीक्षा गरेर अघि बढ्ने कुरा नै गरेका थियौं । तर केपी ओलीकै ढर्रा अहिले यथावत छ । त्यसैले पनि आलोचनात्मक टिप्पणी गर्ने कार्य जारी छ । त्यसो गर्नु भनेको नराम्रो कुरा होइन ।
हामीले आत्मसमीक्षा गर्नु पर्ने केपी प्रवृत्तिका मुख्य पात्र केपी ओली नै हुन् । उनैले सबै कुरा भताभुंग पारे । तर हामी त्यस्ता प्रवृत्तिबाट पूरै मुक्त भएका छौं भन्ने चाहिं सत्य र यथार्थ होइन । हामीले पनि आआफ्ना कमी कमजोरी सच्याउनु पर्छ ।
हामीले आलोचनात्मक चेतका साथ सबै कुरालाई लिने र हेर्ने गर्नुपर्छ । गठबन्धनमा आबद्ध पार्टी र सरकारले आफूलाई सच्याउने दिशामा लैजानु पर्छ ।
८. देउवा सरकारले उही अध्यादेश ल्यायो, संसद अकारण बन्द गर्यो, जनताले खासै फरक भएको अनुभूति गरेका छैनन् त ?
त्यसैले आलोचनात्मक टिप्पणी गर्ने काम सुरु भएको छ । हामीले आफूलाई सुधार्नु पर्छ । पार्टी तथा सरकार सबैले आफूलाई सुधार्ने प्रक्रिया अबलम्बन गर्नुपर्छ ।
यो भनेको असन्तुष्टिको कुरा होइन । यो भनेको सही दिशामा जाने र सही विष्य पकड्ने कुरा हो । पार्टीहरु र सरकारले यो स्पिरिटलाई कायम गरेर अघि बढ्नु पर्छ ।
९. त्यसो भए उच्चस्तरीय समन्वय समिति यसैका लागि बनाइएको हो त ?
सरकार गठबन्धनको छ । यसमा विचार र सोचमा एकरुपता हुन सक्दैन । यो आफैमा चुनावी सरकार पनि हो । त्यसैले गठबन्धनभित्रै कार्यक्रमका हिसाबले एक श्रपता ल्याउन यो उच्चस्तरीय समन्वय समिति निर्माण गरिएको हो ।
यो समिति सरकार सञ्चालनका लागि निर्माण गरिएको होइन । यो समन्वय समितिले गठबन्धनका साझा न्युनतम कार्यक्रम बनाउने छ । यो गठबन्धनलाई प्रभावकारी रुपमा लैजान निर्माण गरिएको उच्चस्तरीय संयन्त्र मात्र हो ।
१०. यो आफैमा गठबन्धनभित्रको सत्ताजस्तो त देखियो त ? नेतृत्व पनि आलोपालो गर्ने भनिएको छ नि ?
उच्चस्तरीय संयन्त्र निर्माण हुनु आफैमा राम्रो कुरा हो । यो एक सकारात्मक कदम पनि हो । गठबन्धनमा रहेको पहिलो पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भएपछि दास्रो ठूलो दल नेकपा माओवादी केन्द्रले उच्चस्तरीय समन्वय समितिको नेतृत्व गर्ने कुरा पनि छलफलमा आएको थियो ।
तर यसलाई ‘रोटेशनमा लैजाने’ प्रस्ताव माओवादी केन्द्र आफैले राख्यो र नेतृत्व आलोपालो गर्ने निर्णय गरियो । यो राम्रो अभ्यास पनि हो ।
११. उपनिर्वाचन र राष्ट्रिय सभामा त मिलेर जाने भन्ने कुरा बाहिर आएको छ त ?
यो साँचो हो । यो सहमति ५ दलको उपस्थितिमा गरिएको हो । स्थानीय, प्रदेश तथा संघीय तीनै तहमा हुने आवधिक निर्वाचनका बारेमा केही पनि निर्णय लिएका छैनौ ।
तर उपनिर्वाचन र राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जाने भन्ने पहिले देखिकै समझदारी हो । ५ पार्टीहरुका बीचमा यो समझदारी स्वेच्छिक तबरले भएको छ ।
१२. तर पनि गठबन्धनभित्र किचलो त कायमै छ ?
गठबन्धन एउटा पार्टी होइन । यो त विभिन्न पार्टीहरुको गठजोड हो । सबैका विचार, नीति, आचार, सिद्धान्त र व्यवहार फरकफरक छन् । मात्र तात्कालीन कार्यक्रममा कार्यगत एकता मात्र भएको हो ।
यसमा विभिन्न विचार र मत स्वाभाविक रुपमा देखिन्छन् । तर सत्ताधारी दलले घोषणा गरेको साझा कार्यक्रम लिएर हामी अघि बढ्छौं । यो गठबन्धनको साझा कुरा पनि हो ।
पार्टीका आआफ्ना कुरा हुन सक्छन् । तर पनि गठबन्धन नै सिध्याउने कुरा त कुनै पार्टीले पनि गर्दैनन् र गरेका पनि छैनन् ।