काठमाडौं । विज्ञापन बोर्डले मदिरा, सुर्ती र सुर्तीजन्य वस्तुको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएपछि विज्ञापन संघले त्यसको विरोध गरेको छ । संघले विज्ञप्ति निकाल्दै विज्ञापन रोक्न निर्देशन दिनु व्यवसायी माथिको कुठराघात भएको उल्लेख गरेको छ ।
विज्ञप्तीमा उल्लेख छ, ‘बोर्डले ऐनको हवाला दिएर कोभिडपछि बिस्तारै अगाडि बढ्दै गरेको विज्ञापन व्यवसायलाई मदिराको विज्ञापन नगर्नु भन्नु व्यवसायी माथिको कुठराघात हो ।’ बोर्डले कात्तिक २५ गते विभिन्न सञ्चारमाध्यम र देशका विभिन्न भागमा मदिराको विज्ञापन देखेकोले ती सबै विज्ञापन तत्काल हटाउन निर्देशन दिएको थियो ।
यो निर्देशनको विरोध गर्दै विज्ञापन संघले कोभिडले थलिएको उठ्नै लाग्दा बोर्डले षड्यन्त्र गरेको दाबी गरेको छ । यद्यपि, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था छ । साथै, विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १(छ) मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका बिषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था गरेको छ ।
यस्तै, मदिरा तथा सुर्तीजन्य वस्तुको ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६’ विपरित छ ।