काठमाडौं । जसपा र लोसपाको आधारभूमि तराई हो । दुवै पार्टीको भोट बैंक पनि तराई नै हो । त्यसैले दसैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउन भन्दा पनि व्यस्त भए ।
जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैंदेखि मधेसमै छन् । उनीहरु कात्तिक भर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए ।
धेरै जसो समय मधेसमै बसे । यहाँसम्म कि अघिल्लो दिन काठमाडौं आएर भोलिपल्टै मधेश फर्किए । मधेसमा अहिले दिनहुँ जस्तो पार्टी प्रवेश कार्यक्रम हुने गरेका छन् । कहिले जसपा त कहिले लोसपाका तर्फबाट पार्टी प्रवेश कार्यक्रम भइरहेका छन् । लोसपाको कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार कात्तिक २९ गते वीरगञ्जमा ठूलो तहको पार्टी कार्यक्रम राखिएको छ ।
नेताहरुको नाम भने उनले खुलाउन चाहेनन् । नाम खुलाए चलखेल हुने उनको बुझाइ छ । यसले उपेन्द्र यादवलाई ठूलै धक्का लाग्ने उनको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।