• मंसिर १४ २०८१, शुक्रबार

पूर्वमन्त्री ढकालले गुरु रवि शंकरलाई भेटे

कार्तिक २५ २०७८, बिहीबार

बैंगलौर । भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकरसँग भेट गरेका छन् । बैंगलौरस्थित गुरु रवि शंकरको आर्ट अफ लिभिङ्ग आश्रममा भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मिक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याउनु भएको अतुलनीय योगदानको प्रंशसा गरे ।

अध्यक्ष ढकालल गुरु रवि शंकरको शिक्षाले नेपालका पनि लाखौं नागरिक लाभान्वित भएकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरे । विश्व शिखर सम्मेलनको विशेष दुत समेत रहेका ढकालले गुरु रवि शंकरलाई विश्व शान्ति सम्मेलनमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न आयोजकको तर्फबाट आमन्त्रण पत्र हस्तान्तरण गर्नु गरे ।

गुरु रवि शंकरले नेपालका चचित युवा नेतालाई आफ्नो आश्रममा स्वागत गर्न पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली हरुमा र विश्वशान्ति अभियानका सदस्यहरुमा सुख शान्ति र समृद्धि होस् भनी कामना गरे । करिब ३० मिनेट भएको भेटघाटमा नेपाल र भारत बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयदेखि दक्षिण एशिया र सिङ्गो एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वको बारेमा पनि छलफल भएको थियो ।

गुरु रवि शंकरले यूनिभर्सल पिस फेडरेशनका संस्थापक महामहिम डा. सन म्योङ्ग मून र श्रीमती डा. हाक जा हान मुनको विश्व शान्तिको अथक प्रयासको उच्च प्रशंसा गर्दै मदर मूनको सुस्वास्थ्य दिर्घायुको कामना गरे ।

गुरु रवि शंकरलाई भेट्न पूर्वमन्त्री ढकाल, परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेल र दक्षिण एसियाली मामिलाका संयोजक कृष्ण अधिकारी सहभागी थिए । विश्वका १५५ राष्ट्रमा करिब ३७ करोड भक्त भएका गुरु रविशंकर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका निकट व्यक्तित्व हुन् ।

पूर्वमन्त्री ढकालले केहि दिन अघिमात्र बिहारस्थित नालन्दा विश्वविद्यालयमा आयोजित विशेष सभामा सम्बोधन गर्नुको साथै बिहारका मुख्य मन्त्री नितेशकुमार लगायतका नेताहरुसँग भलाकुसारी समेत गरे ।