• फाल्गुन २६ २०८२, मंगलवार

बुस्टर खोपको घाम ताप्नु भन्दा पहिला खोप आमजनतासम्म पुर्याऊ

कार्तिक २५ २०७८, बिहीबार

नेपालमा कुल जनसंख्याको २८.८ प्रतिशतले एकपटक मात्र खोप लिएका छन् । २४.६ प्रतिशतले पूर्णमात्राको खोप लिन पाएका छन् । अथवा, दुई डोज खोपको मात्रा लिइसकेका छन् । अब यति नै बेला सबैका माझमा कुरा आइरहेको छ, अबका दिनमा कुन खोप र त्यसको कति मात्रा दिने ?

कोरोना महामारीको प्रकोपमा कमी आएको छैन । नयाँ नयाँ भ्यारियन्ट देखा परिरहेका छन् । यसले अबका दिनमा पनि केही न केही खोपको आवश्यक छ भन्ने देखाइरहेको छ । यसै कुरालाई लिएर नेपालमा अबका दिनमा ‘बुस्टर खोप’ दिनु पर्छ भन्ने कुरा चल्न थालेको छ ।

यसको बारेमा राष्ट्रिय रुपमा एउटा स्पष्ट सोच र मापदण्ड बन्नु बनाइनु जरुरी छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि यसलाई कसरी लगिएको छ, सोको जानकारी हुनु जरुरी छ । कोरोना महामारी आफैमा ‘प्यान्डेमिक’ हो । यसको असर कुनै एक ‘क्षेत्र’ र एकखाले ‘जिन’ विशेष मात्र नभै विश्वव्यापी हुन्छ र हुँदै आएको छ ।

नेपालमा यसका बारेमा विज्ञ समूहको रायसुझाव जरुरी छ । किनकि, बुस्टर खोप नेपालमा पहिलो प्रयोग हुनेछ । यसका लागि विश्व स्वास्थ्य संगठन सुझाव र निगरानी पनि उत्तिकै जरुरी छ । बुस्टर खोपको प्रचलन विश्वमा लोकप्रिय हुँदै गए पनि विश्व स्वास्थ्य संगठनले बुस्टर खोप दिन कुनै पनि देशलाई अनुमति प्रदान गरेको छैन ।

हालसम्म बुस्टर खोप चलाइरहेका अति विकसित तथा विकसित देशहरुले आफ्नै देशको ‘इपिडेमिक’ रोगको नियमअनुसार यस्ता खोप दिने गरिरहेका छन् । यसलाई उनीहरुले आफ्नो देशभित्रको स्वास्थ्य मामलाका रुपमा परिभाषित गरिरहेका छन् ।

हाल आएर दुई डोज दिइने खोपको मात्रा पूरा भएपछि अबका दिनमा के गर्ने भन्ने स्वास्थ्यसम्बन्धी गम्भीर प्रश्न नेपालजस्ता देशमा परिरहेको छ । अति विकसित तथा विकसित देशहरुले आफैले खोपको विकास गरिसकेकाले पनि यो विषय उनीहरुका लागि त्यति गम्भीरताको विषय रहेन, तर नेपालजस्ता देशका लागि भने यस्ता विषय निकै पेचिला बनेर देखा परिरहेका छन् ।

खोप एकपछि अर्को गरी श्रृङ्खलाबद्ध रुपमा दिइने गरिन्छ । पहिलेको प्रचलन पनि यस्तै रहेको छ । त्यसमा पनि ‘बुस्टर मात्रा’ भनेको खोपको श्रृंखलाबद्धता होइन । यो त खोपको ‘अतिरिक्त मात्रा’ हो । त्यसैले पनि यो अतिरिक्त मात्राको परिभाषा र सम्बन्ध कहाँ हुने हो ? परिभाषित हुन जरुरी छ ।

हालसम्म उही खोप औषधिको मात्रालाई ‘बुस्टर खोप’का रुपमा लिन थालिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा यस्तो दोहर्याई तेहर्याई गरिएको प्रयोगमा चिन्ता पनि व्यक्त गरिएको छ । यसको असर के हुन्छ भन्ने बारेमा विश्व स्वास्थ्य संगठनले पनि निष्कर्ष निकालिसकेको छैन ।

विश्व स्वास्थ्य संगठनको हालको तर्क छ बुस्टर खोप अहिलेलाई बन्द गरौं र विश्वका जनतामाझ दुई डोज खोप पुर्याऔं । बुस्टर खोपलाई भन्दा पनि खोपको पहुँच विश्वभरका जनसाधरणसम्म पुर्याऔं भन्ने उसको सोच रहेको देखिन्छ ।

यसका लागि डब्ल्यूएचओले नै नैतिकताको आधारमा बुस्टर अभियान रोकेर सामान्य खोप अभियानलाई विश्वव्यापी बनाउन पहल गरिरहेको छ । हालसम्म सबैभन्दा बढी बुस्टर खोप दिने देशमा इजरायल परेको छ । हाल चीन, बेलायत, यूएई, चिली, उरुग्वे, थाइल्याड, फ्रान्स, जर्मनी लगायत देशमा बुस्टर खोप अभियान तीब्रतामा चलिरहेको छ ।

नेपालमा पहिलो खोप अभियान नै सकिएको छैन । ३० प्रतिशतले मात्र खोप लिनु भनेको बाँकी ७० प्रतिशत जनसंख्याको पहुँचमा सामान्य खोप पनि छैन भन्ने बुझिन्छ । यसलाई पूरा गर्न सरकारले ध्यान दिनु जरुरी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर खोपको हल्ला चलाएर गल्ती नै त गरिसकेको होइन, तर पनि पहिलो दुई डोज खोप किन जनताका माझमा पुर्याउन सकेको छैन, त्यसबारे गम्भीर हुनै पर्छ ।

देशमा संघीयता धानेर खान धौधौ परिरहेका राजनीतिक दलहरुले ‘समाजवाद ल्याउँछौं’ भनेर फूर्ति लगाएजस्तो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘झूठको राजनीति’ गर्नु छैन । बरु पहिलो खोपको मात्रा आमजनतासम्म छिटै पुर्याउने पहल लेऊ ।