• चैत्र ९ २०८१, आईतवार

जनगणनामा जातीय पहिचान झल्कने गरी सहभागी हुन मगर संघको अपील

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौं । नेपाल मगर संघले राष्ट्रिय जनगणनामा मगर समुदायका मानिसलाई आफ्नो जातीय पहिचान झल्कने गरी जनगणनामा सहभागी हुन आह्वान गरेको छ ।

सो संघको केन्द्रिय समितिले बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत् उक्त आह्वान गरेको हो । ‘मेरो गणना मेरो अधिकार, मगर गणना हाम्रो सरोकार, भन्ने मुख्य नारा सहित मगर समुदायलाई जनगणनामा सहभागी हुन आग्रह गरिएको हो ।

आजदेखि देशभर जनगणना हुन गइरहेको छ । सरकारले जनगणनाका लागि सर्वेक्षणको काम यस अघि नै सम्पन्न गरिसकेको छ । पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष नवीन रोमगरले ३ महिनादेखि सञ्चालित जनगणना मगर जागरण राष्ट्रिय अभियानको कामहरुका कार्यप्रगति विवरण पेस गरे ।

रोकामगरले पेस गरेको कार्यप्रगति विवरणमा नेपाल मगर संघसँग सम्बन्धित संघ–संस्थाहरुको साथ र सहयोगमा जागरण अपिल प्रकाशन गरी मगर संघको प्रदेश, जिल्ला, पालिका, वडा समिति र भातृसंस्था तथा आवद्ध संस्थाहरु मार्फत् देशै भर मगर जागरण अभियान सञ्चालन गरिसकिएकोले जनगणनामा मगर जातीय पहिचान लेखाउन सक्रियता साथ सहभागी हुन आह्वान गरिएको छ ।

कार्यक्रममा महासचिव ज्ञानेन्द्र पुनमगरले सबै मगर संघ–संस्थाहरु र ब्यवसायिक निकायहरुको साथ सहयोगमा प्रकाशित भएको जागरण अपिलमा उल्लेखित सवालहरु, जातजातिमा मगर (३०), पुर्खाको भाषामा मगर ढुट (८), मागर खाम पाङ्ग (३०), मगर काइके (११४) त्यसैगरी मातृभाषामा मगर ढुट (८), मागर खाम पाङ्ग (३०), मगर काइके (११४) र धर्ममा प्रकृति (६) र बौद्ध (२) लेखाउनु पर्ने बारेमा जानकारी गराए । कार्यक्रममा आयोजकका तर्फबाट मगर जागरण अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरियो ।