काठमाडौं । रानीपोखरीको निर्माण कार्य सम्पन्न भैसकेको छ । तर यसलाई हालसम्म खुल्ला गरिएको छैन । खुल्ला नगरिएका कारण यो वर्षको छठ पर्वका लागि रानी पोखरी खुल्ला हुन सकेन ।
छठ पर्व मनाउँदा काठमाडौं उपत्यकाको केन्द्रका रुपमा रहने गरेको रानीपोखरी यस वर्ष सुनसान रह्यो । मन्दिर र पर्वहरुको सहरको रुपमा रहेको काठमाडौं अहिले छठको रौनकबाट बिमुख हुन पुग्दा सर्वसाधरणलाई पनि नियास्रो महसुस भैरहेको छ ।
रानीपोखरीमा छठ मनाउँदै आएका ब्रतालु यो व्यवहारबाट सन्तुष्ट छैनन् । सबैले काठमाडौं महानगरपालिकातिर आफ्ना प्रतिक्रिया फर्काउने गरिरहेका छन् । संघीय शासन प्रणाली कार्यान्वयनपछि स्थानीय तहबाट गरिएको यो व्यवहारले सबैलाई बेखुशी बनाएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त हुन पुगेको रानीपोखरीको झन्डै पाँच वर्षपछि पुनर्निर्माण कार्य पूरा गरिएको हो । पुनर्निर्माण कार्य सम्पन्न पछिका २ वर्षसम्म पनि सर्वसाधरण दर्शनार्थीका लागि यसलाई खुल्ला गरिएको छैन ।
रानीपोखरी सर्वसाधरणका लागि खुल्ला नगरिए पनि छठजस्ता जलाशययुक्त पोखरीको वरिपरि मनाइने छठजस्ता ठूला पर्वका लागि भने खुल्ला गरिने अपेक्षा गरिएको थियो । तर महानगरपालिकाले जनताको भावना किन बुझ्न सकेन यो भने आश्चर्यको विषय बनेको छ ।
स्थानीय जनताको घरदैलोमा सिंहदरवारका रुपमा आएको सरकारले कुरा बुझ्न नसकेको पनि हुन सक्दैन । जनतासँग पूर्वाग्रही हुनुपर्ने कारण पनि छैन । बरु जनताको संस्कृतिको संरक्षण र सम्बद्र्धनमा सरकार लाग्नु पर्छ ।
जलाशययुक्त पोखरीमा मनाउने चाड, यो चाड मनाउनका लागि आवश्यक तथा उपयुक्त स्थान, सबैको पायक, निकास र विकास दुवै भएको रानी पोखरी छठका लागि अति नै उपयुक्त स्थान हो ।
यस्तो स्थान बन्द नै राख्नु पर्ने कुनै पनि कारण देखिदैन । रानीपोखरीमा पुनर्निर्माणको काम हुँदै गरेको पनि देखिदैन । तर पनि महानगरपालिकाले नगरवासीको सांस्कृतिक आस्थालाई बुझ्न सकेन ।
संस्कृतिसँगै रानीपोखरीमा गरिने छठ पुजाको संस्कार पनि उपत्यकामा बसिसकेको छ । रानीपोखरीमा छठको उद्घाटनपछि कमलपोखरीमा पनि छठ मनाउन सुरु गरिने परम्परा बसिसकेको छ । यस अर्थमा रानीपोखरीमा मनाइने छठको काठमाडौं उपत्यकामा अभिभावकीय भूमिका रहँदै आएको महसुस गर्न सकिन्छ ।
रानीपोखरीमा जस्तै कमलपोखरीमा पनि महानगरपालिकाको असहयोग रहेको गुनासो आएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्र कमलपोखरी छठका लागि खुल्ला गरिएको थियो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सकारात्मक नभइँदिंदा रानीपोखरीमा छठ मनाउन नपाएको जनस्तरबाटै व्यापक गुनासो आएको छ ।