काठमाडौं । माओवादी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष गोपाल किरातीले अमेरिकी एमसीसी सम्झौता कुनै पनि हालतमा लागू गर्न नहुनेमा जोड दिएका छन् ।
आज एक विज्ञप्ति मार्फत् निर्ग नवीनको अगुवाईमा रहेको एमसीसी खारेज राष्ट्रिय अभियानलाई किरातीले दृढ समर्थन गर्दै यस्तो बताएका हुन् ।
यस्तो छ, किराती र निर्ग नवीनले जारी गरेको संयुक्त विज्ञप्ति ।
संयुक्त राज्य अमेरिकाको एमसीसी परियोजना उसको साम्राज्यवादी इन्डोप्यासिफिक सैन्य रणनीतिको प्रत्यक्ष अंग भएको र त्यसले नेपालको असंलग्न परराष्ट्र नीति ठाडै उल्लंघन गर्ने र नेपालको सार्वभौम स्वाधिनता र शान्तिपूर्ण गणतान्त्रिक व्यवस्था विरुद्ध अनाहकमा वैदेशिक युद्ध थोपर्ने देशद्रोही परियोजना ठहर भइसकेको हुँदा एमसीसी परियोजनाको पूर्ण खारेजीका लागि देशभक्त नेपाली जनता एकमत प्रदर्शनमा छन् । एमसीसी सम्झौताले नेपालको राष्ट्रिय आत्मनिर्णयको अधिकार र स्वतन्त्रता सँगसँगै जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका गणतन्त्रलगायत उपलब्धीमाथि मानवता विरोधी आपराधिक युद्ध थोपर्ने उद्योग गरिरहेको जगजाहेर छ । अतः यस्तो संगीन सवालमा हामी निम्न दुई पक्षबीच जिम्मेवार वार्ता गरी अमेरिकी इन्डोप्यासिफिक सैन्य रणनीतिको प्रत्यक्ष अंग एमसीसी परियोजनालाई ध्वस्त पार्ने संकल्प गर्दै त्यस निमित्त व्यवस्थित र दीर्घकालीन संघर्षको योजना निर्माण गर्दै अघि बढ्ने प्रतिवद्धता सहित निम्न सहमतिको निर्णय सार्वजनिक गर्दछौं ।
१) महाकाली सन्धिको राष्ट्रघात साक्षी छ, नेपाली जनतालाई साम्राज्यवादी कम्पनी सरकारको दासमा बदल्ने देशद्रोही एमसीसी कार्यान्वयन गर्न लागि परेको गठबन्धन सरकारको नेतृत्वलाई सुगौली सन्धिका गद्धारहरु चन्द्रशेखर उपाध्याय र गजराज मिश्रको राष्ट्रिय आत्मसमर्पणवादी गद्धारी नदोहर्याउन कडा शब्दमा खवरदारी गर्दछौं । र, विशेषतः माओवादी तथा पूर्वमाओवादीका जिम्मेवार नेताहरु समक्ष महान जनयुद्धमा, राष्ट्रिय स्वधीनता खातिर बगेको अमर सहिदहरुको अमूल्य रगतको अपमान होइन, सम्मान गर्दै देशभक्त नेपाली जनता एवं गणतन्त्र नेपालको रक्षा र विकास पक्षमा दृढतापूर्वक उभिन यसैसाथ गम्भीर आग्रह गर्दछौ ।
२) क. निर्ग नवीन संयोजक रहनु भएको एमसीसी खारेज राष्ट्रिय अभियानले यसअघि जसरी देशभक्तिपूर्ण संघर्ष गर्दै आएको छ, राष्ट्रिय स्वाधीनता र गणतन्त्रलाई एकीकृत रुपमा सुदृढ गर्ने दृष्टिकोणप्रति यो अभियान दृढ अविचल रुपमा अग्रसर रहने थप प्रतिवद्धता गर्दछ ।
३. खासगरी, देशभक्त प्रगतिशील एवं गणतन्त्रवादी युवाहरु संगठित रहेको भरोसायोग्य एमसीसी खारेज राष्ट्रिय अभियानको साझा, स्वतन्त्र तथा जुझारु संघर्षप्रति माओवादी कम्युनिष्ट पार्टी, नेपाल दृढ समर्थ गर्दछ ।
गोपाल किराती
अध्यक्ष
माओवादी कम्युनिष्ट पार्टी, नेपाल
निर्ग नवीन
संयोजक
एमसीसी खारेज राष्ट्रिय अभियान
मिति : २४-०७-०७८