ओली सरकार सत्ताच्युत हुने बित्तिकै प्रतिपक्षमा पुगेको एमालेभित्र आन्तरिक भिडन्त चर्कन थालेको छ । पार्टी एकताका लागि तयार पारिएको १०–बुँदे कार्यान्वयन नगरिएको विषय निहुँका रुपमा उठे पनि विवादको फेहरिस्त लामो छ ।
हालको अध्यक्ष ओलीको संस्थापन पक्ष र तेस्रो धार मानिने युवा नेताहरुको बीचमा खटपट जारी छ । त्यसको पृष्ठभूमिमा रहेको छ, एउटै पार्टीमा रहँदा माधव–ओली बीचको अन्तहीन संघर्ष र फुट ।
तत्कालका हिसाबले यिनै युवा नेताहरुका कारण ओली सरकारको बहिर्गमन र देउवा सरकारको आगमनको रिस निकै ठूलो छ । एउटै पार्टीमा रहे पनि कटुरुपमा पक्ष र प्रतिपक्षता कायमै छ ।
केही क्षमता र समझदारीको अभाव त सिंगो एमाले नेताहरुमा देखिएकै हो । यसको पछाडि इगो, महत्वाकांक्षा र खिचातानीले काम गरिरहेको छ । यिनै कुराको कोपभाजनमा परेको छ, एमाले अहिले ।
एकातिर विचार धुमिल हुँदै जानु, अर्कोतिर चरम महत्वाकांक्षाले घर गर्दै जानु एमालेभित्रको साझा प्रवृत्ति हो । तर त्यही प्रवृत्तिमा टेकेर एकले अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् नेताहरु ।
एकातिर सरकार गुमेको छ, अर्कोतिर आन्तरिक किचलो उठिरहेको छ । सरकार बाहिर रहेर नजिकै आइरहेको आवधिक निर्वाचनको मुकावला गर्नु निकै कठिनाइपूर्ण छ । प्रतिपक्षमा रहँदा सत्तासाधनको प्रयोग गर्न पहुँच पुग्दैन ।
निर्वाचनको बेलामा सरकारमा हुनुको मज्जा बेग्लै हुन्छ । राज्यको साधनस्रोत प्रयोग गरेर निर्वाचनमा जाने र आफ्नै पार्टीगत बलबुताले निर्वाचनमा जाने कुरा आफैमा आकाश– पातालको फरक छ ।
सरकारमै रहेका बेला निर्वाचनमा जाने ओलीको चाहना दुदुईपटक संसद बिघटन गरेर मरिहत्ते गर्दा पनि सफल हुन सकेन । त्यसैले पनि यो चुनाव ओलीका लागि ‘डु अर डाइ’ मा परिणत हुन गएको छ ।
‘इगो’को लडाइँ तीब्र छ । एकले अर्कालाई ‘देखाइ दिने’ यो लडाइँमा राजनीतिक हैसियत पनि देखाउनु छ । त्यसैले पनि स्थानीय निर्वाचन हुन एक वर्ष बाँकी रहँदा स्थानीय तह तातिइसकेको छ ।
अध्यक्ष केपी ओलीले आन्तरिक विवाद छोप्नका लागि पार्टीबाहिर आक्रमणलाई तेज बनाइरहेका छन् । तर आन्तरिक चुनौतीले उनलाई फितलो बनाइरहेको छ । पार्टी महाधिवेशन र आवधिक निर्वाचनको आगमन सँगसँगै हुनुको कारण पनि यसो हुन पुगेको हो ।
आक्रामक रुपमा प्रस्तुत हुँदै ओलीले ‘अबको निर्वाचनमा जमानत बचाउन सकेमात्र पनि सत्ताधारीको ठूलो विजय हुने’ दाबी गरिरहेका छन् । उनको चुनौती छ– ‘हाल सत्ता गठबन्धन सरकारमा मन्त्री भएकाहरुले अबको निर्वाचनमा जमानत बचाउन सकेमात्र पनि त्यो उनीहरुका लागि ठूलो कुरा हुनेछ ।’
सत्ताधारी दलमा पनि आन्तरिक चुनौती छ । कुरा जे गरे पनि आगामी निर्वाचन सबैका लागि फलामको च्युरा साबित हुँदै छ । एकले अर्कालाई चुनौती पनि दिइरहेका छन् । यो नेपाली निर्वाचनको सन्दर्भमा यथार्थता पनि हो ।
अर्कोतिरको आक्रामकतामा पनि कमी छैन । एमालेबाट भर्खरै भिन्न भएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल को दाबी छ, ‘अबको चुनावमा सबैभन्दा अप्ठ्यारो एमालेलाई छ ।’
तात्कालीन पार्टी एकताका १०–बुँदा तयार पार्ने तेस्रो धारका युवा नेता र संसथापन बीचको खिचातानी औंल्याउँदै भुसाल थप्छन्, ‘एमालेमा अर्को धार पनि छ, बिचरा घनश्यामजीहरू अप्ठ्यारोमा पर्नुभएको छ ।’
हाल एमाले सबैभन्दा गम्भीर संकटमा रहेको कुरामा भुसालको दाबी छ, ‘चुनावसम्म कुर्नै पर्दैन, मंसिरमा हुने महाधिवेशनबाटै एमालेको हबिगत देखिनेछ ।’
सत्ता गठबन्धनलाई जमानत जोगाउन चुनौती दिइरहेका एमाले अध्यक्ष केपी ओलीलाई भुसालको सिधा जवाफ छ, ‘एमाले आफैले चुनाव जितेर देखाए भैगो नि, माओवादीसँग मिलेका बेला ओलीले पार्टीको निर्णयविपरीत झापामा राप्रपासँग तालमेल गरेर चुनाव जितेको होइन र ? अहिले फेरि चुनाव जितेर देखाए हुन्छ ।’
एकताका निकै चर्चामा रहेको तर अहिले एमालेमा सेलाउँदै गएको तात्कालीन तेस्रो धारका युवा नेता भीम रावलले मंसीरमा सम्पन्न हुँदै गरेको पार्टी महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा उत्रने संकेत गरिरहेका छन् ।
उनले ओलीले पार्टी एकताको भाव दिन नसकेको भन्दै अबका दिनमा ‘एमाले पाटीपौवा बन्दै’ जान थालेको संकेत गरिरहेका छन् । उनको आशयमा यदि भीम रावल पार्टी अध्यक्ष भए आफूले पार्टीलाई पाटीपौवा हुन नदिने आभाष दिन थालेका छन् ।
उनले आजसम्म सहारा लिंदै आएको १०–बुँदे सहमति र अन्तर पार्टी निर्देशिकालाई गुटबन्दीको अभिव्यक्तिका रुपमा व्याख्या गर्न थालेका छन् । यो ‘१०–बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन अवैध र गुटबन्दीको नमुना’ रहेको कुरा दोहर्याइरहेका छन् ।
पार्टीका अध्यक्ष केपी शर्माओलीप्रति कटाक्ष गर्दै नेता रावल खुलेरै भन्छन्, ‘पार्टीको त्यत्रो ठुलो निर्णय, स्थायी कमिटीले गरेको सहमति कार्यान्वयन गर्न नदिएर बाधा खडा गर्ने र आफैँले गरेका निर्णय कार्यान्वयन नगर्ने व्यक्तिहरु नै असक्षम हुन्, म होइन ।’
नेता भीम रावलसँग कार्यक्षेत्रमा प्रत्यक्ष टक्कराइरहेका एमालेका अर्का नेता लेखराज भट्ट भन्छन्, ‘मविना पृथ्वी घुम्दैन भन्नु गलत सोच हो ।’ भट्ट थप्छन्, ‘केन्द्रको निर्णयकै आधारमा प्रदेश कमिटीको बैठक बसेको कुरा उहाँलाई पनि थाह छ । त्यसबारे कुनै मतभेद भएमा पार्टी कमिटीमा राख्दा हुन्छ, बाहिर प्रचार गर्नु चरम अराजकता हो ।’
पार्टी अधिवेशन र आवधिक निर्वाचन मुखामुखभै आइरहेको बेलामा एमालेभित्रको आन्तरिक भिडन्त प्रत्युत्पादक हुने देखिएको विश्लेषकहरुको ठम्याइ छ ।