• फाल्गुन २६ २०८२, मंगलवार

मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

कार्तिक २४ २०७८, बुधबार

काठमाडौँ। प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश–१ को प्रदेशसभा बैठक कात्तिक ३० गते मध्यान्ह १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईको तयारी छ ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए। तर प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिने तयारी गरेका हुन् ।

विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवायलमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुपर्ने प्रावधान छ । दुई दिनअघि प्रस्ताव दर्ता गरेर ३० गते विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ । हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच दलीय गठबन्धनका ५० जना सदस्य छन् ।

प्रमुख प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री बनाएका छन् ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईले बताएका छन्।