• मंसिर ७ २०८१, शुक्रबार

श्रीमान ‘कुकुर’ !

कार्तिक २४ २०७८, बुधबार

विश्वमा नयाँ कुराको खोजी गर्ने र दुनियाँलाई चकित पार्ने कामको खोजीमा छन् सबै । सामाजिक सञ्जालले मानिसलाई ‘सेल्फ एक्स्प्लोरेशन’ तिर लगिरहेको देखिन्छ । जे जसरी हुन्छ आफूलाई खुल्ला गर्नेतिर लागिरहेको छ मानिस ।

कसैले प्रेमको नाममा, कसैले शिक्षाको नाममा, कसैले सबक दिने नाममा त कसैले कसैले यसो गर्दा के हुन्छ हेरौं भन्ने अर्थमा केही साँचै आश्चर्य लाग्ने काम गरिरहेका हुन्छन् । यस्ता कामले कसैकसैलाई त उदेकलाग्ने नै बनाएको हुन्छ ।

यस्तै आश्चर्य भनौं वा उट्पट्याङपूर्ण काम भनौं, ब्राजिलमा एक महिलाले श्रीमानको गलामा कुकुरलाई बाँध्ने फित्ताले घाँटीमा बाँधेर निस्फिक्रिका साथ सार्वजनिक स्थान र रेष्टुरेन्टहरुमा घुमाइन् मानौं कि त्यहाँ कुनै कार्निभल आयोजना गरिएको छ ।

चेनले बाँधिएको यात्रा अवधिभर श्रीमानले मुखमा एउटा कुकुर झैं देखिने मुखौटो लगाएका थिए । यो घटना ट्रोल भयो । प्रतिक्रिया आए, चारैतिरबाट ।

श्रीमानलाई कुकुरलाई झैं सडक, रेष्टुरेन्ट घुमाउँदा उनी कुकुरको झैं चालमा हुन्थे । फोटो सुट गरिँदा उनी श्रीमतीको छेवैमा कुकुर झैं गरी बस्ने गर्दथे ।

लुआना कजाकी नाम गरेकी ती महिलाले कार्निभल उत्सवको छनक दिंदै उनका श्रीमान आर्थर ओउर्सोलाई यसो गराएपछि उनीहरुबीच प्रेम र आशक्ति झन् गाढा हुने आश्चर्यजनक अभिव्यक्ति दिंदै हिँडिन् । यसले झन् रोचक बनायो, उनीहरुको त्यो कार्य ।

मानिसहरुले यस्तो कार्य दण्डनीय हुन सक्ने बताइरहँदा लुआनाको थप तर्क थियो- ‘हामीहरुले असंवैधानिक काम गरिरहेका छैनौ, अर्को कुरा, हामीले सहमतिमा यो काम गरिरहेका छौं ।’

आर्थरको घाँटीमा कुकुर झैं चेनले बाँधेर डुलाउँदा आफूहरुबीच ‘प्रेम र रोमान्स’ बढ्ने लुआनाको थप तर्कले मानिसलाई झनै आश्चर्यमा पारिरहेको थियो । नेपालमा यस्तो कार्य दण्डित गर्नका लागि मात्र गरिन्छ ।

त्यसदिन पाइलै पिच्छे फोटोसुटमा परेका ती दम्पत्ति बीचमा मालिक र कुकुरजस्तो व्यवहार देखिन्थ्यो । फोटो सुटका बेलामा लुआना मालिक झैं देखिन्थिन भने उनका आर्थर कुकुर झैं भुइँमा बसिरहेको देखिन्थे ।