• फाल्गुन २६ २०८२, मंगलवार

गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक छैन : नेता सिंह

कार्तिक २४ २०७८, बुधबार

काठमाडौँ। सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्।गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको बताए ।

सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंहले बताए।

‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ’, उनले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए ।

‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ छ।
‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ, उनले भने ‘प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन।’

उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न नहुने नेता सिंहकाे भनाइ छ । ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’ उनले भने ।

साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदानको स्मरण गरेका थिए । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान कांग्रेसले पछ्याउनु पर्ने बताए।

वि.सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका छन्।