• बैशाख १० २०८२, बुधबार

नोवेल शान्ति पुरस्कार विजेता मलालाले विहे गरिन्

कार्तिक २४ २०७८, बुधबार

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छिन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्वपूर्ण दिन भएको बताइन् ।

पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो ।

मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन् । उनी लेख्छिन्,‘हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ ।’

मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भएको थियो ।

जुलाईमा फेसन पत्रिका भोगसँगको एक अन्तरवार्तामा उनले भनेकी थिइन्,‘म कुरा बुझ्दिनँ कि मानिसहरु विवाह किन गर्छन् । तपाईंलाई जीवनसाथी चाहिन्छ भने तपाईं कागजमा किन हस्ताक्षर गर्नुहुन्छ ? यो पार्टनरसीप किन हुन सक्दैन ।’ उनले थपिन्,‘मेरो आमा भन्छिन्, भुलेर पनि यस्ता कुरा नगर्नु । तिमी विवाह गर्नुपर्छ र विवाह एक सुन्दर चिज हो ।’