• फाल्गुन २९ २०८२, शुक्रबार

भारतले नेपाली भूमी ‘सुस्ता’ मिचेको भन्दै काठमाडौंमा प्रदर्शन (तस्विरहरु)

कार्तिक २३ २०७८, मंगलवार

काठमाडौँ । नवलपरासीको सुस्तामा गरिएको भारतीय हस्तक्षेप विरुद्ध जनसंगठनहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरुले काठमाडौँको माइतीघरमा सो विरोध प्रदर्शन गरेका हुन् । विभिन्न स्थानहरुबाट आएर माइतीघरमा जम्मा भएका सो पार्टी निकटका विभिन्न जनसंगठनमा संगठित कार्यकर्ताहरुले नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द

प्रदर्शनलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष बन्धु चन्दले पुर्खाले रगत बगाएर बनाएको देशमा विदेशीको बुट र लाठी बज्रिंदासम्म नेपाल सरकार चुप लागेको हुनाले यिनी शाषकहरुमा देशको राष्ट्रप्रतिको माया नभएको प्रष्ट भएको बताइन् । चन्दले नेपालको दलाल संसदीय व्यवस्थाका नेताहरु आफूले पाउने मन्त्री र प्रधानमन्त्री पदको लागि देशको जमिन बेच्ने गरेको आरोप लगाइन् ।

दलाल संसदीय राजनैतिक व्यवस्थाले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको ग्यारेण्टी गर्न नसकेकोले जनमत संग्रहबाट नेपालमा वैज्ञानिक समाजवादी राजनैतिक व्यवस्था लागु गर्नु पर्ने धारणा उनले व्यक्त गरिन् । अहिले जारी भएको संसदीय व्यवस्थाले नै देशलाई उधो गतिमा लिएको भन्दै उनले भनिन्,‘दलाल संसदीय व्यवस्थाबाट देशको समृद्धि पनि सम्भव छैन ।’

अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही
अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष प्रकाश शाहीले दलाल संसदीय व्यवस्थाका नेताहरुले आफ्नो कुर्सीसँग देशको स्वाधिनतालाई साटेको आरोप लगाए । सुस्ता नेपाली राष्ट्रियता बलियो खम्बा भएको उल्लेख गर्दै प्रकाश शाहीले सुस्तामा भारतीय पक्षले नेपालको जमिन मिच्दा किन चुप लागेको ? भनेर सरकारलाई प्रश्न गरे ।

विरोध प्रदर्शनमा उत्रिएका जनसंगठनका नेता तथा कार्यकर्ताहरुले वैदेशिक हस्तक्षेप बन्द गर, वैज्ञानिक समाजवाद, जिन्दावाद, सीमानामा काँडेतारको व्यवस्था गर, लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, राष्ट्रघाती दलालहरु मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद लगायतका नाराहरु लगाएर विरोश प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनपछि भएको कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव सावित्रा अधिकारी ‘विदुषी’ले गरेकी थिइन् ।