न्यायालय अहिले कचहरीमा फेरिएको छ । त्यो पनि न्यायालयकै आफ्नै कचहरी ! कम्तिमा पनि जनताका लागि भनेर गाउँघरमा गरिने कचहरीमा जनताको गुनासो सुनिन्थ्यो ।
जनताले उठाएका कुराहरुमाथि छलफल गरिन्थ्यो । न्याय पीडितले पाउँथे वा पीडकले, त्यो त्यति बेलाका कचहरीका प्रमुखमा निर्भर हुन्थ्यो । प्रजातान्त्रीकरणको प्रक्रियासँगै राज्यका अंगहरुको परिभाषा गरियो, साथै उनीहरुको काम पनि बिभाजन गरियो ।
शायद यही कचहरी पछि न्यायालयमा विकास भयो । अहिले पनि मध्यस्थताको लागि ‘जुरी’ राखिने गरिएको छ । यसमा न्यायालयको जस्तो एकतर्फी फैसला गरिदैन ।
तर ‘जुरी’ भन्दा पनि ‘भुँडी’ भर्न थालेपछि न्यायालयमा अहिले समस्या आएको छ । जतिसुकै नैतिकता र आदर्शका कुरा गरे पनि न्यायालय आफैमा अहिले विवादको कठघरामा उभिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराको राजीनामा माग गरिएको छ ।
सर्वोच्चका न्यायाधीले इजलास बहिस्कार गरिरहेका छन् । उनीहरु प्रन्याको राजीनामा नआउँदासम्म आन्दोलनमा छन् । वकिलहरुको छाता संगठन वार अशोसियसन नेपाल पूरै आन्दोलनमा छ ।
यस विषयमा राजनीतिक पार्टीहरु मौनब्रत बसिरहेका छन् । कुरा पनि उठिरहेको छ, पाहुर कसरी फर्काउनु ? यसले कार्यपालिका र न्यायपालिकाको साँठगाँठलाई राम्रैसँग उजागर गरिदिएको छ । जनस्तरमा पनि यो कुरा बुझिने गरी अभिव्यक्त भैसकेको छ ।
न्यायालयको नैतिकता र जनविश्वासका कुरा धेरै टाढा भैसके, त्यो भन्दा पनि बढी त संवैधानिक उपचारको हकबाट सर्वसाधरण पनि पीडित र बन्चित भैसके । सर्वोच्च धुमिल छबीमा डुबुल्की मारिरहेको छ । न्यायसम्पादन अस्तव्यस्त हुन पुगेको छ ।
सर्वोच्च मातहतका न्याय सम्पादन गर्ने थलोहरु अभिभावकविहीन हुन पुगेका छन् । सर्वत्र विवाद र बहस मात्र उठेका छन् । जवाफ कहिं र कतै पनि छैन । उचित जवाफ दिने व्यवस्थापिकालाई बन्दी बनाइएको छ ।
राज्यका तीन अंगका बीचमा शक्ति पृथकीकरणका आधारमा होइन, हस्तक्षेप र भागबण्डाका आधारमा शक्ति बाँडफाँड भैरहेको छ । को बोल्ने यो बेलामा ? भुइँको टिपौं भन्दा पोल्टाकै खस्ने डर बढी छ ।
न्यायालयको तालुक निकाय थला परिसकेपछि बिरामीलाई टुलुटुलु हेर्ने र छिटै सञ्चो होस् भनी कामना अभिव्यक्त गर्ने अवस्था मात्र बाँकी रहेको बोध हुन थालेको छ । ‘बिरामी’ नांगो ढाक्ने कपडा स्याहार्न सक्ने अवस्थामा पनि देखिदैनन् । राजनीतिक दलहरु आ-आफ्ना झण्डाले छेउँछाउँबाट प्रत्यक्ष नदेखियोस् भनेर टाढैबाट लाजमाथि यसो छायाँ पार्ने कोसिस गरिरहेका छन् ।
जनता यो अवस्था पचाउन सकिने मनोविज्ञान थाति राखेर अघि बढ्ने अवस्थामा पनि देखिएका छन् । तर चुनावको बेमौसमी बाजा बजाइदिएर राजनीतिक दलहरु तिनलाई भुलाउने ध्याउन्नमा केन्द्रित हुँदै गएका छन् ।
अब सर्वोच्चको विषय टुंगो लगाउनतिर लाग्दा राम्रो हुने छ । न्यायालयलाई कचहरीको थलो हुनबाट जोगाउन श्री पशुपतिनाथले सद्बुद्धि देऊन् ।