काठमाडौँ । जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ । काराागारभित्र दुई पक्षबीच दोहोरो झडप हुँदा छ जना कैदीबन्दी घाइते भएका छन्।
घाइतेहरु सबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको छ।
कारागार प्रशासनका अनुसार कारागारभित्र चौकिदार किरण गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू मंगलबार बिहानै आक्रोशित भई आन्दोलनमा उत्रिएका थिए । त्यस क्रममा दुई पक्षबीच झडप भएको हो। चौकिदार गुरुङले अनावश्यकरुपमा कैदीबन्दीहरुलाई यातना दिने, आर्थिक शोषण गर्ने जस्ता कार्य गर्दै आएको कैदीबन्दीहरुले बताएका छन्। झडप पछि अन्य कैदीबन्दीहरुले चौकिदार गुरूङ सहित १४ जनालाई एउटा कोठामा थुनिदिएका थिए ।
थुनिएका कैदीहरुलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् । कारागार प्रशासनले चौकिदारसहित १४ जना नाइके र भाइनाइकेहरु लाई कारागार भित्र पठाउने अवस्था नरहेकोले अन्यत्र सरुवा गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।