• मंसिर १२ २०८१, बुधबार

छठ पर्वको लागि श्रिङ्गार्न थालिए जलाशयहरु

कार्तिक २२ २०७८, सोमबार

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी ४ दिनसम्म मनाइने छठ पर्व शुरु भएसंगै देशभरका जलाशयहरु श्रिङ्गार्न थालिएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर छठको शुरूवात गरिन्छ ।

आजदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाई शुद्ध खानपीन गर्छन् ।

छठ पर्वको रौनक तराईका जिल्लाहरुमा बढी देखिने भएपनी पछिल्लो केही वर्ष यता काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साज सज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

कार्तिक शुक्ल चतुर्थीका दिन छठ स्थलमा सरसफाइ एवं स्नान गरेका व्रतालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउछन् ।

षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ, रोटी सूर्य एवं छठी मातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिइ प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।