काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्कता रहनुपर्ने बताएका हुन् ।
उनले उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताए ।
उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिए ।आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान रहेको उनको भनाइ छ।
वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौं लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । वरिष्ठ मौसमविद् पौडेल प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने सुझाव दिए । उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए ।
वरिष्ठ मौसमविद् पौडेल जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताए ।