• मंसिर १२ २०८१, बुधबार

जलवायु बित्त परिचालनको आवश्यकता

कार्तिक २२ २०७८, सोमबार

बेलायतको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा उठेको सबाल ज्यादै सान्दर्भिक छ । सम्मेलनमा सहभागी राष्ट्रहरुले जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक उठाएको देखिन्छ ।

जसमा नेपालको तर्फबाट सहभागी प्रतिनिधि मण्डलले पनि जोडदार रुपमा जलवायु परिवर्तनको बारेमा आफ्नो धारणा राख्ने काम सकिएको छ । अक्टोवर ३१ देखि ग्लास्गोमा सञ्चालित उक्त सम्मेलनमा विश्वका १२० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधि मण्डलको सहभागिता रहेको छ ।

नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सहभागी भएको छ । उक्त सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र आगामी दिनमा यसले निम्त्याउन सक्ने समस्याका बारेमा बृहत् छलफल भएको छ भने जलवायु वित्त परिचालनमा पनि बिलम्व गर्नु नहुने धारणा सहभागी राष्ट्रको पाइन्छ ।

विश्वको जलवायु परिवर्तन र बढ्दो वातावरण विनाशप्रति सहभागीहरुले चिन्ता प्रकट गरेका छन् । उनीहरुले तत्कालै त्यसतर्फ सचेत हुनु पर्नेमा समेत जोड दिएका छन् ।

छिमेकी मुलुक भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेको छ भने अर्को छिमेकी चीन सम्मेलनमा अनुपस्थित भएको छ । जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलनमा चीनको अनुपस्थितिलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय महत्वको यस सम्मेलनमा चीनको अनुपस्थितिमा केही राजनैतिक आभाष पनि पाइन्छ । भारतको सन् २०७०सम्म शून्य प्रतिशतमा कार्बन उत्सर्जन झार्ने वचनबद्धतालाई सकारात्मक मान्न सकिन्छ भने चीनको अनुपस्थितिले विश्वव्यापी राजनीति झल्कन्छ ।

स्मरण रहोस यस अगाडिको विश्व जलवायु सम्मेलनमा अमेरिका अनुपस्थित भएको थियो यसपटक चीन । यसपटकको जलवायु सम्मेलनलाई अमेरिकाले विशेष महत्व दिएको पाइन्छ ।

जबकि जलवायु कोषदेखि वित्त परिचालनमा पनि अमेरिकाले बढी चासो देखाएको छ । तर विश्वको शक्तिशाली राष्ट्र चीन उपस्थित नहुनुलाई बढी चासोका रुपमा लिइएको देखिन्छ । यो जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण सबालका रुपमा लिइन्छ ।

विश्वका अति गरिब राष्ट्रहरुले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०२० देखि परिचालित हुनुपर्ने कोष हालसम्म सञ्चालन हुन सकेको छैन र अनुदान प्राप्त गर्नुपर्ने राष्ट्रले सो अनुदान सहजै प्राप्त गर्न सकेका पनि छैनन् ।

जलवायु वित्तको परिचालनमा सबै सहभागी राष्ट्रले जोडदाररुपमा आवाज उठाएका छन् । सन् २०२०देखि नै परिचालन हुने भनिएको १०० विलियन डलर आजसम्म परिचालन हुन सकेको छैन ।

उक्त कोष परिचालन हुन नसक्नुको पछाडिको कारण पहिचान गरी चाँडै कार्यान्वयनमा जानु पर्ने कुरामा सबैको एकमत रहेको देखिन्छ । उक्त सम्मेलनमा जलवायु परिवर्तनका विभिन्न क्षेत्र र पेरिस एग्रिमेन्टलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि गम्भीर छलफल भएको छ ।

जलवायु परिवर्तनका कारण विश्वको वातावरण प्रतिकूल भएको छ । विश्वको बढ्दो तापमानका कारण सबैलाई चिन्तित तुल्याएको छ । यही गतिमा मानवीय आविष्कार र प्रविधिको प्रयोग हुने हो भने सन् २०५० भित्र जलवायुमा व्यापक परिवर्तन देखिन्छ ।

मानव समुदायले विभिन्न महामारी तथा प्रकोपको सामना गर्नुपर्ने चिन्ता वातावरणविद्हरुको रहेको छ । विश्वव्यापी रुपमा शून्य कार्र्बन उत्सर्जनका लागि नयाँ प्रविधिको आविष्कार गर्नुपर्ने देखिन्छ ।

यसको आशय वातावरणमा कार्बन उत्सर्जन कम गर्न सकोस् भन्ने होस् । के सौर्यशक्ति, वायुशक्तिले मात्र यसमा प्रभावकारी भूमिका खेल्न सक्छन् । कार्बनबाट मुक्ति पाउनका लागि मानव समुदाय आफैँ सचेत रहनु पर्दछ ।

बढ्दो कार्वन उत्सर्जनका कारण विश्वमा उष्णता बढ्दै गएको छ । विकासका नाममा जङ्गल फडानी भएको छ । पृथ्वीको तापमान बढेर हिमालको हिउँ पग्लिने क्रम रोकिएको छैन ।

सामुद्रिक देशका भूभाग जलसतहले पुरिँदै गएका छन् । जलजन्तुको संख्या पनि कम हुँदै गएको छ । मरुभूमिकरण बढ्दो छ ।

त्यसैले मानिसले स्वच्छ वातावरणका लागि पृथ्वीको समग्र वातावरणीय क्षेत्रको संरक्षणका लागि आजैबाट पहल गर्नु पर्दछ । जलवायु परिवर्तनसँग लड्नका लागि हामी सबै मानव समुदाय जिम्मेवार छौँ ।

विद्युत उत्पादनबाट विश्वमा करिब २७ प्रतिशत कार्बन उत्सर्जन हुन्छ । कोलम्बिया विश्वविद्यालयको एक रिपोर्टअनुसार कार्बन नियन्त्रणका लागि ११५ मिलियन डलर खर्च बढाएर ३०० मिलियन डलर गर्नु पर्दछ ।

वातावरणमा कार्बन ग्याँस मिल्नुपहिले नै त्यसलाई एकत्रित गर्नु पर्ने प्रविधिको विकास र विस्तार गर्नु आवश्यक देखिन्छ । जलवायु परिवर्तनप्रति विकसित र सम्पन्न राष्ट्र पनि चिन्तित देखिन्छन् । तर आज विश्वको वातावरण विनाशप्रति धनी र सम्पन्न राष्ट्र नै जिम्मेवार मानिन्छन् ।

धनी राष्ट्रहरुका कलकारखाना र आणविक भट्टीबाट निस्किएको कार्बन र मरुभूमिबाट उडेर गएको धुलोमिश्रित वायुका कारण हिमालय क्षेत्रको तापमान बढेको र हिमालमा हिउँ कम भएको र त्यहाँका पहाडहरु हिमबिहीन बन्दै काला पहाड बनेको तथ्य उनले थाहा पाएछन् ।

त्यसपछि हिमाल जोगाउन विश्व नै लाग्नुपर्ने चिन्ताले ती मित्रलाई भित्रभित्र पिरोलेछ । हामीले बढीभन्दा बढी कार्बन उत्पादन गर्ने सामग्री घरमा प्रयोग गरिरहेका छौँ ।

दैनिक उपभोग्य बस्तु, विद्युतीय सामग्री, सौन्दर्यका प्रशाधन, वनजङ्गल विनाश, अव्यवस्थित शहरीकरण, फोहोरमैलाको अवैज्ञानिक बिसर्जन, बढ्दो जनसङ्ख्या, विभिन्न रासायनिक तथा जैविक हतियार र प्रविधिको प्रयोग एवम् परीक्षण आदिका कारण विश्वको वातावरण प्रतिकूल बन्दै गएको छ ।

त्यसैले मानिसको यात्रा अब वातावरण संरक्षणतर्फ केन्द्रित हुुनु आवश्यक छ । मानिसको नयाँ यात्रा पुनः वातावरण विनाश र कार्बनको बढ्दो निष्काशनमा केन्द्रित भयो भने भोलिको पुस्तालाई बाँच्न धेरै सङ्घर्ष गर्नु पर्दछ ।

त्यसैले हामी सबैले आ-आफ्नो ठाउँबाट स्वच्छ वातावरण कायम राख्न जोडतोडले साथ दिनु आवश्यक देखिन्छ । कार्बन बढी उत्पादन गर्ने सवारी साधनमा रोक लगाई विद्युत वा सौर्य ऊर्जाबाट सञ्चालन हुने सवारीमा जोड दिनु पर्दछ ।

बैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिनु पर्दछ भने वृक्षरोपण कार्यलाई बढीभन्दा बढी प्रभावकारी बनाउनु पर्दछ । वातावरण संरक्षणका लागि विभिन्न खालका रणनीति र योजनाहरु तर्जुमा गर्नु पर्दछ । त्यसो भएमा मात्र विश्वको वातावरण अनुकूल बन्नेछ ।