काठमाडौं । दसैंमा चोरहरुले भरिने हिरासत तिहारमा भने जुवा खेलेका कारण पक्राउ परेका जुवाडे राख्दा भरिभराउ भएका छन् । अहिले काठमाडौं, भक्तपुर तथा ललितपुरका हिसरासत यिनै जुवाडेले खचाखच भरिएका छन् ।
भाइटीका सकिएपछि तिहार सकिएको मानिन्छ । तिहार विशेषतः लक्ष्मीपुजा, गोरु पुजा र भाइटीका गरी तीन दिनसम्म मनाइन्छ ।
तर काठमाडौं उपत्यकामा भने भाइटीकाको भोलिपल्टसम्म जुवा खेलेर तिहार मनाइरहेको भेटिएको छ । देशका विभिन्न स्थानमा जुवा खेल्ने पक्राउ परिरहे पनि काठमाडौं उपत्यकामा भने यसको चाप निकै बढ्दो छ ।
जुवाडेका कारण हिरासत भरिभराउ :
पक्राउ परेका जुवाडेका कारण हिरासतमा खुट्टा टेक्ने ठाउँ पनि नरहेको हिरासतमा रहेका अन्य केसका थुनुवाहरुको गुनासो देखिएको छ । तिहारको भोलिपल्ट पनि हुलका हुल जुवाडे हिरासतमा भित्रिइरहेका छन् ।
काठमाडौंको चन्द्रागिरिदेखि भक्तपुरको चाँगुनारायण नगरपालिकासम्म पुग्दा जुवाडेबाट प्रहरीले ६२ लाखभन्दा बढी रकम बरामद गरिसकेको छ । सैयौं जुवाडे हिरासतमा हावा खाइरहेका छन् भने जुवाको खेल गाउँगाउँमा अझैं चलिरहेको र सोको नियन्त्रणका लागि प्रहरी परिचालन पनि भैरहेको छ ।
जुवाको एउटै खालबाट १२ लाखसम्म कब्जा :
सूचनाका आधारमा छापा मार्दा प्रहरीले जुवाको एउटै खालबाट १२ लाख रुपैयाँसम्म कब्जा गरेका छन् । भक्तपुरको एउटा जुवाको खालबाट १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ कब्जा गरिएको प्रहरीले जनाएको छ । हरेक जुवाको खालमा कब्जा गरिएका तासका गड्डी मात्र झोलाका झोला हुने गरेको उनीहरुको भनाइ छ ।
उपत्यका बाहिरका यस्ता घटनामा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका अगाडि देखा परिसकेको छ । त्यहाँको बाबुगाउँबाट जुवा खेलिरहेका ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ सहित पक्राउ गरिएको छ ।
लकडाउन फुकुवा भएको साल : जुवाको खाल :
सबै मानिसले यो वर्षमा आएर बिगत २ वर्षदेखि मनाउन नपाएको पर्व एकै पटक मनाएको देखिएको छ । चिल्लो तथा मासुको खपत पनि निकै भएको छ । बिरामी पनि अस्पतालमा निकै भरिभराउको अवस्था देखिन थालेका छन् ।
रंग मिसाएको रोटीको परिकार, मासुको परिकार र पटाकाको धुँवायुक्त वासनाले मानिसलाई बिरामी बनाएको छ । ‘औंसीको साटो, पूर्णीको साटो, खाऊ जुवाइँ एकैसाटो’ भने झैं चिल्लो, बोसो, मासु तथा पटाकाको गन्ध यो वर्षको तिहारमा एकै पटक हुन गएको छ ।
हिरासतमा पनि ज्वाइँ :
रमाइलो कुरा त के भने ‘जुवा नारिरहेका जुवाइँहरु’ यति खानाले पनि नपुगेर हिरासतको चीसो खान पनि गैपुगेका छन् । तिनीहरु पनि केही दिनभित्रै अस्पताल भर्ना हुने ग्यारेन्टी जस्तो छ ।