• मंसिर ७ २०८१, शुक्रबार

पृथ्वीमा ल्याइँदै मंगलको माटो

कार्तिक २२ २०७८, सोमबार

काठमाडौं । नासाद्वारा सफलतापूर्वक अवतरण गराइएको पर्सिभिअरन्स रोभरले हालसम्म मंगल ग्रहमा रोचक काम गरिरहेको छ । यसले आफू अवतरण गरेको स्थान वरपर नयाँ ठाउँहरुको खोजी गर्ने र भिन्न फोटोहरु पठाउने गरिरहेको छ ।

मंगलमा सफलतापूर्वक अवतरण गर्नुका साथै पृथ्वीमा पठाउनका लागि वैज्ञानिक परीक्षणयुक्त माटोको खोजीमा रोभरले मंगल सतहमा यात्रा जारी राखेको छ ।

सन् २०२३ सम्म मंगल सतहको माटो पृथ्वीमा ल्याइसक्ने उद्देश्यका साथ यसले आफ्नो उत्खनन् कार्यलाई अघि बढाएको छ । यसका लागि नासाले तीन मिसन पूरा गर्ने गरी तयारी गरिरहेको छ ।

क) मंगलको माटो ल्याउने नासाको ३ मिसन :

पहिलो मिसन अन्तरगत मंगल ग्रहमा रोभर उतार्ने र अनुसन्धानका लागि उपयुक्त माटोको खोजी गर्ने कार्यक्रम रहेको छ । अहिले रोभरले आफू अवतरण गरेको स्थान वरपर यसैका लागि आफ्नो खोज केन्द्रित गरिरहेको छ ।

माटो प्याकिङ :

करीब २ वर्षसम्म यसै खोजीकार्यमा समय बिताउँदा उक्त रोभरले उक्त समयको अन्तिमतिर एउटा सानो ट्युवमा खोजी गरिएको मध्ये उपयुक्त माटो भर्ने छ । त्यसलाई सुरक्षित प्याक गरी दोस्रो मिसन आगमनको प्रतिक्षामा रहने छ ।

माटो यन्त्रान्तरण :

त्यसपछि दोस्रो मिसन अन्तर्गत नासाले अन्तरीक्ष यान मंगल ग्रहमा अवतरण गराउने छ । यो यानले माटो प्याक गरिएको ट्युव उठाएर मंगल ग्रहको कक्षमा फेरो मारिरहने छ । मंगलको कक्षमा घुमिरहने यो प्रक्रिया तेस्रो मिसन अन्तर्गतको अन्तरीक्ष यान त्यहाँ नजाँदासम्म जारी रहने छ ।

 

वेलकम ब्याक टु अर्थ :

तेस्रो मिसन अन्तर्गतको यान मंगलको सतहमा पुगेपछि माटोले भरिएको यो ट्युव दोस्रो मिसनको यानबाट तेस्रो मिसनको यानमा यन्त्रान्तरण गरिने छ । यसपछि तेस्रो मिसनको यानले ‘वेलकम ब्याक टु अर्थ’ को यात्रा सुरु गर्ने छ ।

माटो नै ल्याउनुको उद्देश्य :

माटोमा धेरै जीवांश पाइन्छ । साथै, माटो सबैको समिश्रण पनि हो । यसमा ढुंगा पनि हुन्छ, हावाको प्रभाव र तत्व पनि हुन्छ । माटोमा पानीको प्रभाव र तत्व पनि हुन्छ र जीवांश पनि त्यसैमा हुन्छ ।

यस कारणले पनि नासाको रोजाइमा मंगलको माटो नै पर्न गएको छ । माटोको वैज्ञानिक परीक्षणमा पनि मंगलमा रहेको ग्यास, पानी तथा जीवांशको बारेमा अध्ययन गरिने उद्देश्य रहेको नासाको स्पष्टोक्ति छ ।

मुख्यतः मंगलमा जीवको अवशेषको खोजीका लागि यो सबै गरिएको छ ।

ख) एक ट्युव माटोको मूल्य ६६ हजार ५ सय करोड रुपैयाँ :

मंगल ग्रहबाट पृथ्वीमा ल्याइने एक ट्युव माटोको मूल्य ९ मिलियन डलर पर्ने छ । यसको भारतीय रुपैयामा ६६ हजार ५ सय करोड रुपैयाँ हुन आउँछ ।

यदि यसले सोचेको जस्तो परिणाम ल्याउन सक्यो भने पृथ्वीवासी नासाप्रति ऐतिहासिक रुपमै आभारी हुने छन् ।