नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष तथा नेता भीम रावल अहिले आशंकाको टाकुरोमा एक्लै फतफताइरहेका छन् । उनका सहकर्मी साथीहरु चूपचाप छन् । एकताका ‘दश भाइ’ बनेर ‘तेस्रो धार’को वकालत गरिरहेका मध्ये ‘नौभाइ’ कल्प पसिसकेका छन् ।
रावल भने निकै छटपटाहटमा छन् । कहिले घरभित्रका त कहिले घरबाहिरका कुरा झिकेर राँको बालिरहेका छन् । तर उनको राँकोले विगतमा जस्तो कसैलाई उज्यालो देखाइरहेको छैन । बरु सबै जिल्ल परिरहेका छन् ।
यसका पछाडि नेता रावलले ‘फेस’ गरिरहेका ४ चुनौती बढी जम्मेवार छन् :
१. कुरा कुतीको व्यवहार काँशीको :
पछिल्लो समयमा विचार र व्यवहारका बीचमा अकल्नीय विरोधाभाषका पर्याय बन्न पुगेका नेता रावलका ‘कुरा कुतीका छन् भने व्यवहार काँशीका ।’ अर्थात् बोल्ने र गर्ने कुरा विपरीत मात्र छैनन् बरु बढी विसंगतीपूर्ण छन् ।
उनी एमाले पार्टीमा उपाध्यक्ष छन् र आश्चर्यको कुरा उनी एमाले एकताका कुरा गर्छन् । पार्टी एकता कमिटीबाट राजीनामा दिएको कुरा गर्छन् । आफू एकताबद्ध हुन नसकेको अमूर्त रुपमा कुरा गर्छन् । यसले उनीभित्र रहेको त्रास, आशंका, हीनताबोध र बार्गेनिङको गन्ध मात्र दिन्छ ।
कतै आत्मग्लानी बोधको गन्ध पनि आउँछ । उनी अहिले जहाँ छन्, त्यहाँ सन्तुष्ट छैनन् । जहाँ हुनु पर्ने थियो, त्यहाँ रहेनन् । मौकापरस्त राजनीति गर्न खोज्नु नै उनको महाभूल थियो । यो ‘मिस्टेक’ भन्दा पनि ‘प्रवृत्ति’को कुरा हो ।
त्यसैले उनी कुती जाँदैछु भन्दै काँशीतिर ओह्रालो झरिरहेका छन् । उनको ‘कथनी’ र ‘करणी’मा दुई ध्रुवबीचको ठूलो खाडल छ ।
२. सुदूर पश्चिमको आधारमाथि ‘जुरे पहिरो’ :
रावलको आधारभूमि भनेको सुदूरपश्चिम हो । यो आधार भूमिमा रावलको मत र विश्वासमाथि ‘जुरेको पहिरो’ गएको छ । त्यहाँका प्रदेश तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ता रावलको पक्षमा छैनन् । नयाँ बनेको एकीकृत समाजवादीमा छन् ।
यसो हुनुमा भीम रावलको कित्ता परिवर्तन हो । उनी माधव नेपालका मानिस हुन् पहिले, ओलीकहाँ गएका छन् अहिले । उनी अहिले ‘दुई जोईको पोइ, कुना बसी रोई’ को अवस्थामा छन् । उनको सोच र व्यवहारबीचको भिन्नता अहिले चरम पदलोलुपतामा अभिव्यक्त हुन पुगेको छ ।
उनी जुन हैसियतमा थिए, समयछँदै त्यो हैसियत र गरिमाको बोध भएन, उनलाई । भीम रावलमाथि गएको सुदूर पश्चिमको ‘जुरेपहिरो यही’ यसैको अभिव्यक्ति थियो । आधार आफ्नो पक्षमा नरहे पछि एमाले महाधिवेशन उनका लागि एकल सहभागिताजस्तो हुन गएको छ ।
३. आफ्नै उपाध्यक्षमाथि ओलीको अविश्वास :
भीम रावललाई एमाले अध्यक्ष केपी ओलीले पनि विश्वास गर्दैनन् । विगतमा माधव नेपाल पक्षका कारण ओलीले विश्वास गर्दैन थिए । अहिले ओली सरकार ढलाउनमा उनै रावलले अगुवाइ गरेका कारण विश्वास गर्दैनन् । यसको सिधा अभिव्यक्ति मंसिरमा हुने पार्टी महाधिवेशनमा हुने ओली निकट बताइरहेका छन् ।
स्रोत भन्छ, ‘अहिले त नभनौ, देखेपछि थाह हुनेछ ।’ रावलको एकताको रटान ओलीका लागि धामी बसेर एकोहोरो ‘किन्निङ किन्निङ’ घण्टी बजाएसरह हुन गएको छ । यस्तो रटान र ध्वनी ओलीका लागि असैह्य बनिरहेको छ ।
एमाले युवा नेता महेश बस्नेतहरुको शब्दमा एमालेका यी ‘गलगाँड’ को धेरै आयु देखिदैन पनि । तर नेता रावल ‘अन्तिम युद्ध’ गर्न पनि तयार देखिन्छन् । उनका लागि अहिले एमालेभित्र उनको राजनीतिक जीवन ‘मरता, क्या नही करता’ को अवस्थामा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
४. फुत्किएको चुनावी सरकार :
एमालेभित्र रहेको विभिन्न कित्ताको आधारमा भागबण्डा हुँदा जहिले पनि नम्बर १ मा रहने भीम रावल अहिले सरकारमा छैनन् । शायद यो देउवा सरकार नै अबको चुनाबी सरकार पनि हुने सबैको अनुमान छ । रावलका वरिपरि तीन तरवार खडा छन् : पहिलो, पार्टी एकताको जस पाएनन्, सुदुर पश्चिम उनको पकडमा रहेन र ओली स्वयम् दाहिना छैनन् ।
चुनावसम्म ककसको गठबन्धन बन्छ भन्ने थाह नभए पनि रावल माधव नेपालमा रहेका भए, नेता पनि र मन्त्री पनि अवश्यै हुने थिए । अझ त्यसमाथि सुदूर पश्चिमको जनमतको भारी किल्ला पनि । उनले अवसरको मात्र खोजी गर्दा यी सबै गुमाए ।
त्यसमा थप उनले आफ्नै दुईतिहाइको ओली सरकारलाई रछ्यानमा खसाले, अनि माधव नेपाललाई बोकेर भीरको थाप्लोमा लगेर एक्लै बसाले । रावललाई अहिले ‘बाउ फाल्ने डोको’को भारी थामिनसक्नु हुन गएको देखिन्छ ।