• मंसिर १४ २०८१, शुक्रबार

देउसी खेल्ने समूहलाई बसले ठक्कर दिँदा २ जनाको ज्यान गयो

कार्तिक २१ २०७८, आईतवार

काठमाडौं । देउसी भैलो खेल्ने समूहलाई बसले ठक्कर दिँदा गए राति दुई जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर–१९ स्थित नेवारपानीमा शनिबार राति १० बजे देउसी खेल्दै हिँडेका स्थानीय पैदल यात्रुलाई हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेका छन् । मकवानपुर प्रहरीका अनुसार नौ जना घाइतेहरुमध्ये एक जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

आठ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये हाल पाँच जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक जयश्वर रिमालले बताए । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।
आगजनीका कारण बस पूर्ण रुपमा ध्वस्त भएको छ । सडकमा बस आगजनीका कारण केही घण्टा राजमार्ग अवरुद्ध भएको थियो । डिएसपी रिमालका अनुसार हाल राजमार्ग पूर्ण सूचारु छ । दुर्घटनापछि प्रहरी टोलीले बस चालक र एक स्थानीयलाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता रिमालका अनुसार बस चालक रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने ३८ वर्षीय अमितकुमार कार्की र घटनापछि बसमा आगजनी नियन्त्रण र राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुडा गर्ने हेटौंडा–१९ निवासी ३२ वर्षीय सुनिल ठकुरी पक्राउ परेका हुन् ।