• मंसिर १३ २०८१, बिहीबार

प्रदूषणले चीनको आकाश घपक्कै ढाक्यो

कार्तिक २० २०७८, शनिबार

काठमाडौं । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका कारण २ सय मिटर भन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने कारखानाका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् ।

सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ । विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा चल्ने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

चीनले प्रदूषण विरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले सेप्टेम्बरमा भनेको थियो, ‘यो वर्ष देशको ६४ औद्योगिक क्षेत्रमा यो अभियान सञ्चालन हुनेछ ।’

चीनमा ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना हुनेछ । यो कार्यक्रम बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुने बताइएको छ ।