• असार २५ २०८१, सोमबार

अध्यक्ष दाहालले सेवाघरमा पालैपालो फोटा खिचे

कार्तिक १९ २०७८, शुक्रबार

घोराही, १९ कार्तिक ।
‘मेरो फोटो खिच्नुस् त’ घोराही ५ का अध्यक्ष विष्णुमणि दाहालले मानव कल्याण समाज (सेवाघर) घोराही १५ मा पुगेका पत्रकारहरुलाई भन्नुहुन्थ्यो । पालैपालो जाने पत्रकारले एक बृद्धासँग अध्यक्ष दाहालको फोटा खिचिदिन्थे । धेरैजनाले फोटो खिच्दा दाहालले गौरव महशुस गर्नुभयो ।

सडक मानव मुक्त गराउने घोषणा गरेपनि आफै भने ठोस कदम चाल्न सकेको भने देखिंदैन । स्थानीय सरकारले संस्थालाई बुझाएर गौरव गर्छ । आफ्नो बजेटबाट थोरातिनो सहयोग गरेर जिम्मेवारी बहन गरेको देखिन्छ । अध्यक्ष दाहालले पनि व्यवारिसे आफ्ना नागरिक बुझाएकोमा खुशी व्यक्त गर्नुभयो । कतिपयले भने त्यसरी राज्यले संस्थालाई बुझाउँदा लुकालो गर्छन् ।

त्यसरी फोटो खिचिएको सवालमा बृद्धाको भने कुनै प्रतिकृया थिएन । कुर्सीमा बसेकी उनी उभिइन् । फोटो खिचाइन् । बसिन् । फेरि अर्को टोली पुग्यो अध्यक्ष दाहालको आग्रहमा फेरि उठिन फोटो खिचाइन् र पूर्ववत अवस्थामा बसिन् । यो क्रम दुईतिन पटक चल्यो । उनलाई कस्तो लाग्यो भन्ने प्रतिकृया भने दिइनन् । त्यसैले फोटा खिचेको समेत तिनलाई थाह थियो, थिएन भन्न सकिन्नथ्यो ।

सेवाघरले गत शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्यसै दिन अध्यक्ष दाहालले एकजना वडावासीलाई सेवा घरमा पठाउनु भएको थियो । तिनै बृद्धालाई हस्तान्तरण गरेको फोटो खिचाउनु भएको हो । घरमा स्याहार गर्ने मानिस नभएको, बोलचाल गर्न नसक्ने ती बृद्धालाई पठाइदिएको बताउनु भयो ।

अध्यक्ष दाहाललाई ती महिलाको नाम के हो भन्ने पनि थाह थिएन । ‘तपाईंको नाम के हो भन्नुस् त ?’ अध्यक्ष दाहालले सोध्नुभयो, ती महिलाबाट कुनै प्रतिकृया आएन । नजिकै उभिनुु भएका सेवा घरका केन्द्रिय सचिव विजयकुमार पोख्रेलले जवाफ दिनुभयो, ‘अहिल्यै बोल्दैनिन् केहि दिनपछि मात्रै परिचय खुल्छ ।’ उहाँका अनुसार उचित स्याहारसुसार पछि समूहमा परिचित हुन्छन् । आफ्नो महशुस गरेपछि मात्रै बोल्न थाल्छन् । जति नयाँ आउँछन् तिनलाई घरयासी माया दिनुपर्छ । पुरै आफ्नो ठानेपछि मात्रै दिल खोल्छन् ।

त्यस कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई सेवा घरको बारेमा पोख्रेलले जानकारी दिनुभयो । उहाँले भवनको सबै कोठाहरु अवलोकन गराउनु भयो । दिसा पिसाव ओच्छ्यानमै छोड्ने आमा, दिदी–बहिनीहरुको एउटा कोठा, त्यस्ता बुवा दाजुभाईको अर्को कोठा भनेर सिकाउनु भयो । शौचालयमा गएर दिसा पिसाव आफैले गर्न सक्ने आमा, दिदी–बहिनीको एउटा कोठा र बुवा दाजुभाईको अर्को कोठा भनेर परिचय गराउनु भयो ।

यसैगरी पुरुष अभियन्ता, महिला अभियन्ता, उपचार कक्ष, भण्डार कोठा लगायत सबै देखाउनु भयो । खाना खाने ठाउँ भने टहरामा थियो । सबै कुराको अवलोकन पछि मेयर चौधरीले ‘सिष्टम राम्रो रहेछ’ भनेर प्रतिकृया दिनुभयो । मेयर चौधरीले बलियो गेट, सुत्ने ठाउँ सफा र व्यवस्थित रहेको टिप्पणी गर्नुभयो । थातमै दिसा पिसावब छोड्नेको कोठामा पनि कुनै किसिमको गन्ध थिएन । घरको चारैतिर कतैबाट पनि भाग्ने र हराउने अवस्था देखिन्नथ्यो ।

केहि मानिसहरु फटाफट हिंडेर बाहिर निस्कन खोज्थे । कतिपय हाँसी रहेका थिए । कति त रुँदै चिच्याउँदै नबुझिने भाका निकाल्थे । गीत गाउँदै गुनागुनाउँदै गर्नेहरु पनि थिए । झ्याप्पै हात हालेर अंगालो मार्न आउने पनि थिए । त्यहाँ रहेका ४० जना सबैमा फरक फरक बैगुन जस्तो लाग्थ्यो ।

उनीहरुका सबै बैगुनलाई प्यार गरेर अभियन्ताले सहयोग गरिरहेका थिए । कतिपय बेला मेरो मानिस राखिदिनुस् भनेर दबाव आउने गरेको सेवा घरका सदस्य रचना सुवेदीले बताउनु भयो । त्यहाँका मानिस सम्हाल्ने भने व्यवारीसे खोजेर हस्तान्तरण गर्नु जस्तो सजिलो थिएन । उनीहरुको स्याहारले अभियन्ताको जति प्रशंसा गरेपनि कमै हुने पुष्टि हुन्थ्यो ।