काठमाडौँ। भारतको राजधानी नयाँ दिल्ली शुक्रबार संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको छ । बिहीबार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण दिल्लीको वायुमा प्रदूषणको मात्रले खतराको तह पार गरेको बीबीसीले जनाएको छ। शुक्रवार बिहान सहर प्रदूषणका कारण धुम्म थियो भने धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका थिए।
सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको भारतीय समाचार माध्यमहरुले जनाएका छन्।
त्यहाँका धेरै ठाउँहरूमा ५०० भन्दा माथि पीएम २.५ को मात्रा रेकर्ड गरिएको थियो। यो मात्रा भनेको जनस्वास्थ्यलाई गम्भीर असर गर्ने स्तर हो।वायु गुणस्तर सूचकाङ्क एक्यूआईमा शून्यदेखि ५० सम्मको मात्रा “राम्रो” मानिन्छ र ५१ र १०० बीचमा मात्रा “सन्तोषजनक” मानिन्छ।
प्रदूषणका कारण राजमार्गमा छवटा कार दुर्घटना भएका छन्। साथै केही मानिसहरू घाइते भएको बताइएको छ। अधिकारीहरूले आइतबार बेलुकीसम्म वायु गुणस्तर थोरै सुधार हुने बताएका छन्।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्।
भारत संसारकै सबैभन्दा वायु प्रदूषित देश हो। संसारका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा रहेका छन्।
भारतकमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन्।
गत वर्ष दिल्लीमा पीएम २.५ को हालसम्मकै सबैभन्दा बढी मात्रा रेकर्ड गरिएको थियो जुन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सीमा भनी निर्धारण गरेको भन्दा १४ गुणा बढी थियो।