हिन्दु संस्कृतिमा धर्मका विविध पक्षहरु छन् । त्यसकारण हाम्रो देशमा मनाइने पर्वहरुमा चार मुख्य मान्न सकिन्छन्– श्रावणमा मनाइने श्रावणी (ऋषितर्पणी, रक्षाबन्धन, तागो बाँध्नेदिन) आश्विनमा मनाइने विजया दशमी (दशैं नवरात्र) कार्तिकमा मनाइने तिहार (दीपावली वा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार, भाइ तिहार हुन् ।
यी चाडहरु कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँचदिनसम्म रहन्छ र यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । त्यसमा कार्तिक कृष्ण त्रयोदशी धनत्रयोदशी भनिन्छ । यस दिनमा धातुका पात्र (भाँडा) हरु, सुवर्ण, रत्न आदि किन्नु राम्रो हुन्छ भन्ने चलन छ ।
यसै दिन आयुर्वेद चिकित्सा शास्त्रका प्रवर्तक भगवान् धन्वन्तरिको प्रादुर्भाव भएको हो र उनको पूजा यसै दिन गर्ने विधान देखिन्छ । यो चिकित्साकर्मीहरुको महत्वपूर्ण दिन मानिन्छ । जसरी दक्षिणायमा पर्ने शुक्ल र कृष्ण पक्षमा आआफ्नै किसिमका पर्वहरु पर्दछन् भने त्यस्तै गरी तिहार महान चाड मध्ये दोस्रो पर्व हो ।
बसन्तलाई ऋतुहरुको राजा भनिन्छ तापनि शर्द ऋतुको झन् बढी महत्व छ । मूलतः न जाडो, न गर्मी हुने शरद् ऋतुमा झरी, बादल र वर्षा पनि विरलै हुन्छ । वर्षदिनको सबैभन्दा ठूलो चाड बडादशैं र तिहारको महोत्सव यसै ऋतृमा मनाइन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको र अज्ञानमाथि ज्ञानको विजयको सनातनकालीन शाश्वत सत्यलाई उजागर गर्ने विजयादशमी पर्व मनाएर पुनः कार्यशील भएका नेपाली आज तिहार एवम् दीपावली पर्व भव्यताका साथ मनाउँदैछन् ।
कार्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ तिहार पर्व पाँच दिनसम्म चलेर कार्तिक शुक्ल द्वितीयाका दिन सम्पन्न हुँदैछ । यम पञ्चकको नामले चिनिने तिहार पर्वसँग यमराजको नाम पनि गाँसिएको छ ।
यस चराचर जगत्का सम्पूर्ण प्राणीप्रति दया, स्नेह र समता भाव राख्न तिहार पर्वले अभिपे्ररित गर्दछ । परमेश्वरका सृष्टिमा सर्वोच्च प्राणी मानव हुन् । मानवलाई परमेश्वरले बृद्धि र विवेक दिनु भएको छ । अन्य प्राणीमा यी दुई वस्तुको अभाव छ ।
विवेकपूर्ण चेतनाले मानव समुदायले काम गर्ने भएकाले अन्य प्राणीको तुलनामा मानवका क्रियाकलाप त्रुटिरहित हुन्छन् । जन्मजात पाएको ज्ञान, विवेकलाई मानव समुदायले यथोचित प्रयोग गरेको खण्डमा यस जगत्मा अन्याय, अत्याचार हुन सक्तैन ।
तर, समाजका बोझ बनेका, संस्कारविहीन, विवेकशुन्य र बुद्धिहीन केही व्यक्तिका अपराधमूलक प्रवृत्तिले समाजमा अन्याय र अपराध प्रवृत्ति बढ्दछ ।
सबै प्राणीप्रति दयाभाव देखाउन, सबैमा समानभाव प्रकट गर्न हामी नेपाली चाड पर्व मनाउँछौ । यसै क्रममा तिहार पर्व आउँछ । फलतः धन धान्य र वैभवकी स्वामी लक्ष्मीदेवीको पूजा आराधना एवं दीपावली गरेर तथा सबै प्राणीको सम्मान गरेर तिहार पर्व मनाउने नेपालीहरुको आफ्नै पन छ ।
स्थलचर, नभचर, जलचर सबै परमेश्वरका सृष्टि भएकाले उनीहरुको रक्षा गर्नु मानव समुदायको कर्तव्य हो । यम पञ्चकको पहिलो दिन चराचुरुङ्गी प्रति दयाभाव देखाउन कागको पूजा गर्ने, खानदिने चलन छ । यसर्थ नभचरको प्रतिनिधित्व गर्ने कागलाई उत्सव मनाएर पूजा गरी खान दिएर समस्त पंक्षी जगत्प्रति मानव समुदायको सद्भावना व्यक्त गरिएको हो । अहिंसालाई धर्म मान्नेहरुले सबै जीवजन्तुप्रति दयाभाव राख्तछन् ।
वातावरणलाई स्वच्छ राख्न पंक्षी जगत्ले पनि विशेष भूमिका खेलेको हुन्छ । त्यसैकारण शास्तीय आधार दिएर काग तिहार मनाइएको हो । शिकार एवं अन्य कारणले विश्वबाट दुर्लभ पंक्षीहरु समेत निमिट्यान्न हुन लागेको र वातावरण प्रतिकूल भइरहेको वर्तमान परिप्रेक्ष्यमा पंक्षीप्रति दयाभाव प्रदर्शन गर्ने तिहार हिन्दू धर्मालम्बीले मात्र होइन सबै धर्मका अनुयायीले र विश्वले नै मनाउनु अपरिहार्य भएको छ । वर्षको एक दिन पंक्षीप्रति सन्मान देखाउने पंक्षी दिवस मनाउनु सर्वजनाहिताय नै हुनेछ ।
त्यसै गरी यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको रुपमा मानवभित्र कुकुरलाई पूजा गरी खान दिएर मनाउने परम्परा छ । घरेलु जनावर कुकुर मानिसको सच्चा साथी र हितैषी मानिन्छ । पश्चिमा मुलुकमा वृद्धावस्था र यौवनावस्थामा समेत एक्लै बस्न बाध्य कतिपय मानिसका एक मात्र साथी एवं सहारा कुकुर बनेका छन् । बोलीले अभिव्यक्त गर्न नसके पनि इशाराले कुकुर आफ्ना स्वामी र उनका परिवारप्रति स्नेह र आस्था प्रकट गर्न पछि हट्दैन ।
सुरक्षा कार्य, अनुसन्धान कार्यमा समेत कुकुर एकदमै उपयोगी साबित भएको छ । सर्वतोभावेन हितैषी कुकुरको सम्मानमा कुकुर तिहार मनाउने परम्परा चलाएर आर्यधर्मावलम्बीले आफ्ना हितैषी साथी सेवकको यथोचित कदर गरेका छन् ।त्यसरी नै तिहारको सबैभन्दा रमाइलो दिन लक्ष्मी पूजा मानिन्छ । यसको साथसाथै औंसीको रातमा पनि पूर्णिमाको रातभन्दा बढी प्रकाश दिने दीपावली लक्ष्मीपूजाको अर्को नाम हो ।
यसरी मलमूत्रदेखि लिएर दूधसम्म दिने गाईको पूजा बिहान गरेर बेलुका लक्ष्मीपूजा गरिने भएकाले यमपञ्चकको तेस्रो दिनलाई गाई तिहार पनि भनिन्छ । दूध र मलमूत्र दुबैको उत्तिकै उपयोगिता भएको गाईलाई आर्यहरु आमाको रुपमा मान्दछन् । गाईको दूध जति पौष्टिक पदाथै केही नभएको, बाल, वृद्ध, रोगी सबैका लागि अत्यन्त आवश्यक दूध दिने गाईको अत्याधिक महत्व हुन्छ । वैदिककालमा दक्षिणास्वरुप गाई दिइन्थ्यो, गाईदान गरिन्थ्यो ।
अहिले पनि गोधनको महत्व त्यत्तिकै रहेको तर, गौशालाको कमी भएकोले मानिसहरु गाईको सट्टा पैसा दान गर्दछन् । धनधान्यकी देवी लक्ष्मीको आराधना सबैले गर्दछन् । यसरी लक्ष्मी पूजाको दिन गरिने विशेष पूजाआराधना र दीपावली अत्यन्त हर्षवद्र्धक भएको छ । यद्यपी, गाउँघर घुमेर, आफन्त गाउँलेलाई सुख समृद्धिको आशीर्वाद दिएर लक्ष्मीको बखान गर्दै द्योसी र भैलो खेल्ने अर्को अनौंठो परम्परा हामीकहाँ छ ।
आजकै दिन नेपाली साहित्यका नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएकाले लक्ष्मी जयन्तीका रुपमा साहित्यकार एवं साहित्यप्रेमीले मनाउने गरेका छन् । लक्ष्मीपूजाको दिन जन्मिएर सरस्वतीको वरदान पाएका महाकवि देवकोटालाई लक्ष्मीले भन्दा सरस्वतीले नै वरद पुत्र बनाएकाले नेपालीले गर्व गर्ने अवसर पाएका छन् । त्यस्तै गरी तिहारको चौथो दिन हामी गोवद्र्धनपूजा, गोरु पूजा गर्दछौ । कृषि एवं दुवानी क्षेत्रमा सश्रम योगदान पु¥याउने गोरु एशियाली राष्ट्रमै महत्वपूर्ण चौपाया मानिन्छ । जमीन जोतेर, सरसामान ओसारेर गोरुले मानवजातिलाई ठूलो सेवा पु¥याएको छ । गोरुको नकारात्मक अर्थ पनि लगाइन्छ तर, हामीले गोरुतिहार मनाएर श्रमिक पशुधनको कदरै गरेका छौं ।
यसै दिन शंखधरले प्रचलनमा ल्याएको संवत्सर फेरिन्छ । यस वर्ष ११४२ नेपाल संवत् प्रारम्भ हुने भएकोले यसको विशेष महत्व हुन्छ । तिहारको अन्तिम दिन हो भाइटीका । यम द्वितीयाको नामले प्रचलित यस चाडमा दाजु भाइलाई दिदीबहिनीले टीका लगाउने र दिदीबहिनीलाई दाजुभाइले टीका लगाई आत्मीयभाव प्रकट गरिन्छ । जन्मेको घर छोडेर पतिघर जान बाध्य दिदीबहिनीले चाडको रुपमा भए पनि एकदिन दाजुभाइलाई बोलाएर वा दाजुभाइकहाँ गएर आत्मीयता प्रकट गर्नु मानवीय गुण हो ।
पौराणिक कथन अनुसार मृत्युका देवता यमराज पनि आफ्नी बहिनी यमुनालाई भेट्न भनी वर्षदिनमा पाँच दिन यमदण्ड परित्याग गरेर बहिनीसँग कुशलमंगल गरेर बिताउँछन् । त्यसकारण यमपञ्चकको पाँच दिन मर्ने जस्तोसुकै पापी पनि नरक होइन स्वर्गमा पुग्दछ ।
बिमिरो, कटुस र ओखर एवं सेलपुरीको चाड मानिने तिहार पर्वले सबै पक्षलाई समेटेको छ । धार्मिक, सामाजिक, शैक्षिक सबै पक्षको यसमा सामञ्जस्य छ । अतः भाइ पूजामा दुवाको मुण्टाले हातमा लिएको तेलधारा भुइँमा चुहाउँदै प्रदक्षिणा गर्ने र यसै गरी जलले पनि प्रदक्षिणा गरेर तेल लगाई दिने । सातरङ्गको टीको लगाई दिने, फूलको माला लगाई दिने र टोपी लगाई दिने चलन छ । यसै गरी दाजुभाइले पनि दिनीबैनीलाई तेलधाराले र जलधाराले प्रदक्षिणा गरेर टिको लाइदिने र दक्षिणावस्त्र गहना इत्यादिले दिदीबैनीको सम्मान गर्ने चलन छ । त्यसपछि दिदीबैनीले दाजुभाइलाई भोजन गराउने चलन छ ।
समग्रमा भन्नुपर्दा यो चाड हाम्रो राष्ट्रिय सभ्यता कृतज्ञता, सौमनस्यको सन्देश दिने पर्व हो । गाई, काग, कुकुरको पूजनले मानवको उपकारी प्रति कृतज्ञता र सबै प्राणीमा ईश्वरको वास छ भन्ने भाव प्रकट हुन्छ । गाईको छोरो गोरुले जोतेर हामीले अन्न खान पाउँछौ, गाईको दूध, दही, गोवर, गोमूत्र, ध्यू सबैले हामीलाई पवित्र गर्छन, रोगनाश गर्छन ।
आधिदैविक दृष्टिले गाईका अङ्गमा सबै देवताको बास छ । गाईको पूजाले सबै देवताको पूजा हुन्छ । यसैगरी कागले खेतीका शत्रु कीरा इत्यादिको नाश गर्नाले मानवको मित्र हो । भाइतिहारले दाजुभाइ दिदीबैनीमा परस्पर सौमनस्य र हार्दिक स्नेहको वातावरण बनाएर सामाजिक जीवनलाई सुखी बनाउँछ । यो चाड राष्ट्रिय एकता र अखण्डताको पनि प्रतीक पनि हो ।