• मंसिर ८ २०८१, शनिबार

अनुहार चिन्ने प्रविधि हटाउने फेसबुकको घोषणा

कार्तिक १८ २०७८, बिहीबार

काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो संजालमा प्रयोग गरिएको मानिसको तस्विर र भिडियोमा अनुहार चिन्ने सोफ्टवेयर अबदेखि प्रयोग नगर्ने घोषणा गरेको छ । त्यस्तो अनुहार चिन्ने प्रविधिको प्रयोग कति ठिक छ र कति बेठिक छ भनेर संसारमा चर्चा भइरहेको बेला सो डिजिटल सामाजिक संजालले त्यस्तो सोफ्टवेयर संजालमा प्रयोग नगर्ने निर्णय गरेको हो ।

अहिलेसम्म फेसबुकले प्रयोग गरेको सो प्रविधिले मानिसको गोपनियता र प्रविधिको यथार्थपरकताप्रति मानिसहरुले गम्भीर रुपमा प्रश्न उठाएका थिए । फेसबुकका अनुसार नियामक निकायहरुले सो प्रविधि प्रयोग गर्ने सन्दर्भमा कुनै स्पष्ट नियम बनाएका छैनन् । सो डिजिटल सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सो प्रविधिको अनुहार चिन्ने सुविधा चलाउने कि नचलाउने भन्ने रोज्न दिइएपनि प्रविधि चलाउदा प्रयोगकर्तामा पर्ने प्रभावका कारण फेसबुकको चर्को आलोचना हुने गरेको छ ।

सो प्रविधि चलाउन इच्छुक प्रयोगकर्तालाई फेसबुकले प्रयोगकर्ताका साथीहरुलेमध्ये आर्य कसैले तिनको तस्विर संजालमा प्रयोग गरेको प्रेषित गरेको पत्ता लगाएर सुचित गथ्र्यो । सन् २०१५ देखि चलिरहेको फेसबुकले तस्विर स्क्यान गर्ने र ट्याग गर्ने तरिका बारेको मुद्दा गतवर्ष मात्रै पार लागेको थियो । फेसबुकले प्रयोग गरेको अनुहार छुट्ट्याउने प्रविधि संयुक्त राज्य अमेरिकाको इलिनोय राज्यको गोपनीयता सम्बन्धी कानुन विपरीत भएको तर्क गर्ने प्रयोगकर्ताहरूको एउटा समूहलाई उक्त कम्पनी ५५ करोड डलर दिन सहमत भएको थियो । अनुहार चिन्ने प्रविधि विवादास्पद भएका कारण अमेजन र माइक्रोसोफ्ट कम्पनीले उक्त प्रविधि प्रयोग भएका उत्पादनहरू प्रहरीलाई बेच्न रोकेका छन् । इन्स्टाग्राम र सन्देश पठाउने सेवा ह्वाट्स्याप पनि सञ्चालन गर्ने फेसबुक नियामक निकाय र राजनीतिकर्मीहरूको निरन्तर दबावमा छ ।

अमेरिकाको फेडरल ट्रेड कमिशनसहित अन्य नियामक निकायहरूले फेसबुकलाई प्रतिस्पर्धाको मर्मविपरीत काम गरेको भन्दै एकाधिकारको अभियोगमा मुद्दा दायर गरेका छन् । गत महिना एक पूर्वकर्मचारीले फेसबुकको व्यवहार अनैतिक भएको आरोप लगाएकी थिइन् । फेसबुकका धेरै आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै तिनबाट फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा पनि नाफालाई प्राथमिकता दिएको देखिने उनले दाबी गरेकी छिन् । फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले आफ्नो कम्पनीलाई बदनाम गराउन सुनियोजित रूपमा त्यस्तो दाबी गरिएको बताएका छन् । फेसबुकले भर्खरै आफ्नो मुख्य कम्पनीको नाम मेटा राख्ने घोषणा गरेको छ ।