• मंसिर १४ २०८१, शुक्रबार

पटाका पड्काउने चलन कहिले र कहाँबाट सुरु भयो ?

कार्तिक १८ २०७८, बिहीबार

तिहारमा झिलीमिली बनाउने प्रचलन पुरानो हो । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । भारतको पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों तर, पटाका पड्काउने परम्परा थिएन ।

पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्दीबाट भित्र्याए ।

उनले सायद चीन, तिब्बत र पूर्वी एसियाबाट यस्तो प्रचलन सिकेर आएका थिए । अन्यथा ऋग्वेदमा त दुग्र्भाय ल्याउने ‘निरृति’लाई पनि देवी मानिएको छ र दीकपाल (दिशाहरुका ९ वटा स्वामीमध्येका एक) को दर्जा दिइएको छ,’ लोचनले भने,‘ती देवीलाई त प्रार्थना गरिन्छ र अब जानुस्, फर्केर नआउनुस् भनिन्छ । पटाकाको आवाजबाट तर्साएर उनलाई भगाउन सकिन्छ भनेर कहीँ लेखिएको छैन ।’

प्राचीनकालदेखि नै भारतमा विशेष प्रकाश र आवाजसहित फुट्ने यन्त्रहरू थिए । दुई हजार भन्दा पुराना भारतीय मिथकहरुमा यसको वर्णन गरिएको छ । ईसापूर्व कालमा रचना गरिएको कौटिल्यको अर्थशास्त्रमा पनि एउटा यस्तै चूर्णको विवरण छ, जो तेजसँग जल्ने गर्दथ्यो । आगोको ठूलो लप्का पैदा गर्दथ्यो र यदि यसलाई केही पदार्थमा झोसियो भने पटाका बन्ने गर्दथ्यो ।

बंगालका इलाकामा वर्षाको मौसमपछि केही इलाकाका सुख्खा जमिनमा नै लवणका ढिक्काहरु बन्ने गरेका थिए । यस्ता लवणहरुको प्रयोग वैद्यले पनि विभिन्न रोगहरुका लागि गर्ने गरेका थिए । यस्ता लवणलाई पिसेर तेजसँग चल्ने चूर्ण बनाइन्थ्यो । यदि गन्धक र कोइलाको उचित मात्रा मिलाउँदा भने यसको ज्वलनशिलता पनि बढ्थ्यो ।
भारतभर यस्ता चूर्ण र यसबाट बन्ने बारुद भेटिन्थ्यो तर, यो प्रयोग पटाका बनाउनमा पनि हुन्छ भन्ने पत्ता लागिसकेको थिएन । खुसीयाली मनाउनका लागि, उल्लासका लागि घरहरुमा दीपावली गरिन्थ्यो तर पटाकाको प्रयोगबारे कुनै विवरण भेटिएको छैन ।

यो बारुद त्यति धेरै प्रज्वलनशील पनि थिएन कि यसलाई दुश्मन मार्नका लागि प्रयोग गर्न सकियोस् । १२७० मा सिरियाका रसायनशास्त्री हसन अल रम्माहले आफ्नो पुस्तकमा यस बारुदको व्याख्या गरेका छन् । उनले यस्तो बारुदलाई गरम पानीले शुद्ध गरेर ज्यादा बिस्फोट बनाउन सकिने उल्लेख गरेका थिए ।

के मुगलले ल्याए ?

सन् १५२६ मा काबुलका सुल्तान बाबरले मुगल सेनासँग मिलेर दिल्लीका सुल्तानमाथि हमला गरेका थिए । यतिबेला अफगानी सेनाको तोपको आवाज सुनेर भारतीय सैनिक अति तर्सिएका थिए । यदि मन्दिर र शहरहरुमा पटाका पड्काउने चलन हुन्थ्यो भने सायद, भारतीय सैनिक यति धेरै तर्सने थिएनन् । यद्यपि, मुगलकालिन इतिहासका प्रोफेसर नजफ हैदरका अनुसार मुगल आउनु अघि पनि भारतमा पटाका प्रयोग हुन्थ्यो ।

‘मुगल शासनका दौरान आतिशबाजी र पटाकाको व्यापक प्रयोग भयो तर, यसको अर्थ भारतमा मुगलले नै पटाका लिएर आएका थिए भन्नु गलत हुनेछ,’ उनले भने,‘यदारा शिकोहको विवाहको तस्विरमा पनि मानिसहरुले पटाका पड्काउँदै गरेको देखिन्छ । मुगल भन्दा पहिले, फिरोजशाहको जमानामा पनि आतिशबाजी खुबै हुन्थ्यो ।’
मुगलको शासनकालमा विवाह र अन्य समारोहमा पनि आतिशबाजी गरिन्थ्यो ।