• मंसिर १२ २०८१, बुधबार

ढुसी संक्रमित परालले गाई प्रजातिमा पार्ने असर

कार्तिक १८ २०७८, बिहीबार

पृष्ठभूमि :

कात्तिक–मंसीरको महिना यसै पनि दक्षिण एशियाका मुलुकमा धान भित्र्याउने, पराल थन्क्याउने, अनि त्यहि पराल गाईभैंसीलाई हिउँदमा खुवाएर पाल्ने मानिन्छ । यसै पनि धान खेती, नजिकै कुनै नदिनाला जसबाट कुलो बनाई सिँचाइ गरिन्छ ।

धानका बोटलाई ब्याडदेखि भित्र्याउने बेलासम्म पनि पानीको आवश्यकता पर्दछ । धान दाँइ गरी आउने पराल राम्रोसँग सुकाएर खुवाउँदा त समस्या हुन्न । तर पराल थन्काउन अघि भिज्यो र सुकाउन पाइएन भने कुहिने डर हुन्छ ।

यस्ता कुहिएका पराल खुवाउँदा हिउँदमा भैंसीको स्वास्थ्यमा प्रतिकुल असर पार्छ । यसरी राम्रोसित नसुकाई भिजेको पराल संचय गर्दा कुहिन पुग्यो, यस्ता पराल खाएका भैंसी प्रजातिमा पुच्छर सुक्ने, खुट्टा सुन्निने, खुर माथिको खुट्टाको भागका छाला सुकेर झर्ने, कानको टुप्पा सुक्ने देखिएको छ ।

दुध दिने भैंसीको दुध ७०–८० लिटरसम्म कमी आएको तथ्य वीगत वर्ष नेपालका झापा, सप्तरी, सिराहा, रौतहट, चितवन, बाँके, अनि लमजुङ नुवाकोट जिल्लामा देखिएको छ ।

त्यस क्षेत्रमा कार्यरत पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिकले यो अवस्थालाई कतै खोरेत कतै चरचरे कतै लुतो ठानी उपचार गरेको तथ्य त भेटिन्छ, तर बिरामी निको भएको भने हुँदैन ।

दक्षिण एशियाको अन्य मुलुकमा के छ ?

माथि उल्लेख गरिएका लक्षण, भौगोलिक अवस्थिति तथा पशुपालनका तरीकाको विवेचना गर्ने हो भने एउटा रोचक तथ्य भेटिन्छ, जसको यहाँ चर्चा गर्नु उचित होला । इ.सं १९३० ताका हालको पाकिस्तानको पञ्जाव प्रान्तमा डेग नामको खोला छेउछाउँमा लगाएको धानबाट उपलब्ध पराल हिउँदमा त्यस क्षेत्रका भैंसीलाई खुवाएर पाल्दा माथिका लक्षण देखाई भैंसीहरु बिरामी पर्न थालेछन् ।

त्यसबेला त्यहाँ कार्यरत ब्रिटिस पशुस्वास्थ्य प्राविधिक सरलौले रोगका सबै लक्षणसहित रोगका सबै लक्षणसहित रोगको नाम डेगनाला भनी नामाकरण गरेको तथ्य भेटिन्छ । कारण एकिन त उनले पनि गर्न सकेनन् ।

तत्पस्चात् इ.सं १९६०–७० तिर फेरि पाकिस्तान तथा भारतको पञ्जाब क्षेत्रका पशु चिकित्साकर्मीले पुनः यस रोगबारे चर्चा गरेको अभिलेख पाइन्छ ।

ई.सं १९७३ तिर भारतको पञ्जाब प्रान्त लुधियाना क्षेत्रबाट रोग देखिएको क्षेत्रबाट भैंसीलाई हिउँदमा खुवाउने पराल ब्रिटेनको क्यू सर्रेमा रहेको प्रयोगशालामा परीक्षण गर्दा पराल फ्युजारियम प्रजातिको ढुशीबाट प्रदुषित भएको ठहर हुन गएको पुष्टि भएको छ ।

यसरी ढुसी प्रदुषित दाना, पराल खाँदा सो दाना परालसँग ढुसी पनि शरीरमा चय–अपचय हुँदा ढुसीबाट उत्पन्न विषक्तिको असरका रुपमा भैंसीहरुमा उपरोक्त अनुसारका लक्षण देखिने गरेको अनुसन्धानकर्ताको ठहर रहेको छ । आजको स्थितिसम्म आइपुग्दा माथि उल्लेख गरिएका रोग डेगनाला पाकिस्तानको डेग खोला क्षेत्रमा मात्र नभई धानखेती गरिने क्षेत्रमा पालिने भैंसीमा देखिन्छ नै ।

भारतमा पनि भारतका उत्तरी राज्य, पञ्जाब, हरियाणा, उत्तर प्रदेश, उत्तराञ्चल, बिहार, बङ्गाल, झारखण्ड, छत्तीसगढजस्ता प्रदेशमा प्रत्येक वर्ष नियमित रुपमा देखिने गरेको छ ।

हाम्रो आफ्नो नेपालकै संदर्भमा भने माथि उल्लेखित लक्षणका रोग सर्वप्रथम २०४४ तिर बाँके जिल्लामा पहिलो पटक यस स्तम्भकारले त्यहाँ कार्यरत हुँदा गरेको अभिलेख छ ।

हाम्रो आफ्नो सन्दर्भमा अन्य वर्षमा फाट्टफुट्ट देखिने यो समस्या २०५६ सालमा भने माहामारीकै रुपमा नेपालको झापा, मोरङ्ग, सुनसरी, सिराहा, सप्तरी, बाँके, बर्दियामा देखा परेको तथ्य भेटिन्छ ।

यसै रोग गराउन तम्सिने ढुसी फ्युजारियमको आनीबानी सम्बन्धमा यस स्तम्भकारले पशु चिकित्सक विज्ञानको स्नात्तकोत्तर अध्ययन गर्ने क्रममा गरेको अनुसन्धानले किन पुच्छर सुक्छ, खुट्टाको छाला किन सुक्छ, हिउँदमा भैंसी खाँदा खाँदै किन दुब्लाउँछन् ।

किन सद्धे भैंसीको दुध उत्पादन घटेर जान्छ भन्नेबारे निम्न तथ्य निकालेको छ । यस ढुसीको चय अपचयबाट निस्कने विषका विषाक्तिका कारण छाला, मासु तथा रगतका नशामा पाइने, कोलाजन रेशालाई कोलाजिनेज इन्जाइममा परिवर्तन गर्छ भने इलासटिन रेशालाई इलास्टिनेजमा परिवर्तन गर्छ ।

यसका कारण शरीरका तल्ला भाग पुच्छर, खुट्टामा रक्त सञ्चार अवरोधहुँदा छालामा पानी, हावा तथा पोषण तत्व अभाव हुन जान्छ अनि तन्तु मरेर जान्छन् ।

यीबाहेक ढुसीजन्य विषाक्तिले कलेजो, फोक्सो, मुटु, मृगौलामा समेत क्षति पु¥याउँछ जसका कारण एक त ढुसी प्रदुषित पराल जुन राम्ररी पच्न पाउँदैन साथै पचि हाले पनि शरीरका विभिन्न भागमा सहज आपुर्ति हुन सक्तैन । त्यसकारण भैंसीका बथानमा माथि उल्लेखित लक्षण देखिने गर्दछ ।

दुधालु गाईमा ढुसी प्रदुषित पराल आहाराको असर के होला ?

यस वर्ष कात्तिक मंसीरको महिनामा जुनबेला धानबाली भित्र्याउने समय थियो, अचानक लामो झरी पर्न पुग्यो । यसको परिणाम पराल भिज्न गई राम्रोसँग नसुकाई भण्डारण गर्दा कुहिन पुगेको स्थिति छ । यसरी कुहिन गएको परालमा विभिन्न खाले जीवाणु, विषाणु तथा ढुसीको बासस्थान बन्न पुगेको तथ्य गत वर्ष झापा सिराहा, सप्तरी, चितवन, लमजुङ, नुवाकोट, गोरखा र धादिङ, बाँकेतिर भैंसीमा देखिएको रोग डेगनालाले पुष्टि गर्दछ ।

सँगैपालिएका गाई प्रजाति त्यही कुहिएको पराल अनि भिजेको धानबाट तयार पारिएको ढुटो खाएर स्वस्थ्य नै रहलान् भन्न सकिन्न । फरक यति मात्र हो ती गाई प्रजाति बिरामी परे, भैंसीलाई जस्तै पुच्छरको तल्लो भाग सुक्दै झरे, खुट्टा सुन्निए र खुर माथिको खुट्टाको छाला सुके ।

झरी आलो घाउ बन्नेजस्ता प्रत्यक्ष लक्षण त न देखाउलान् नै भैंसी प्रजातिजस्तै खाँदाखाँदै दुनलाएर सुकेर जाने लक्षण पनि न देखाउलान् । त्यसो भन्दा यिनमा यसको प्रतिकुल असर नपर्ला भनी ढुक्क हुने अवस्था भने छैन ।

त्यसो भए गाई प्रजातिमा लक्षण के देखिन्छ त ?

१. हिँड्दा थरथर काप्ने ।

२. अत्यधिक -याल सिंगान काढ्ने ।

३. बान्ता गरेजस्तै गर्ने । ख्याल राख्नु पर्ने कुरा के हो भने उघार काट्ने जनावरले बान्ता गर्दैन ।

४. जीउभरि रगतै चुहिएलाजस्तो गरी बिमिरा आउने गर्छ ।

५. खाने रुची कम हुनुका साथै पेट ढाडिने, पखाला लाग्ने पनि हुन सक्छ ।

६. त्यो प्रचलित औषधिले निको नहुने थुनेलो, पाठेघरको सङ्क्रमण अनि बाली न थामिने समस्या बथानमा देखिए आश्चर्य मान्नु पर्ने कारण छैन ।

७. बथानमा पशुहरु थारो हुनु कुनै नौलो कुरा रहेन, दिनकै कृत्रिम गर्भाधान गराउँदा पनि ब्याउँदैनन् ।

८. लिटरमा दुध दिने भनी किनी ल्याएको त्यो जर्सी, होल्स्टीउन फ्रिजनले थोपा पनि दूध दिएन भने टाउकोमा हात राखी पछुतो गर्ने गराउँछन् ।

९. अचानक बथानका गाई तुहिन पुग्ने समस्या पनि देखिन्छ ।

१०. सासै फेर्न गाह्रो हुन्छ ।

११. ब्याउने बेलाका गाई थला परेपछि उठ्न सक्दैनन् ।

यसको रोकथाम नियन्त्रण तथा उपचारको व्यवस्थापन गर्ने कसरी ?

यो स्तम्भकार बीगत वर्ष बाँके, सिराहा, सप्तरी, रौतहट, लमजुङ नुवाकोट पुगी फर्केको हो । त्यस क्षेत्रमा कार्यरत पशु चिकित्साकर्मीले एण्टीवायोटिक उपलब्ध खोप, जुका जन्य औषधि अत्याधिक मात्रामा प्रयोग गरेको, तर निष्प्रभावी भएको थियो । एकातिर कृषकको आर्थिक क्षति एवम् मनोवैज्ञानिक त्रास अर्काेतिर पशुचिकित्साकर्मीको प्रतिष्ठामा नै आँच आएको स्थिति छ ।

अब के गर्न सकिन्छ ?

क) सकेसम्म कुहिएको पराल नखुवाउने ।

ख) पराललाई राम्रोसँग सुकाउने, टकटक्याउने, हाल खुवाउनेभन्दा आधा मात्र खान दिने, आधा हरियो घाँस, डाले घाँस खुवाउने ।

ग) पराललाई केही सोडियम हाइड्रो–अक्साइड १ ग्राम, १०० एम.एल. पानीमा झोल बनाई प्रति २० के.जी.का दरले पराल उपचार गर्ने ।

घ) पाइन्छ भने पेन्टा सल्फेट पहिलो दिन ६० ग्राम त्यसपछि ३० ग्रामका दरले अर्काे १५ दिन खुवाउने ।

ङ) एन्टीडेगनाला झोल १० एमएल्का दरले ७ देखि १० दिन दिने ।

च) ल्याक्टोलाइनजस्ता औषधि खुवाउने साथै पोषणयुक्त खनिज मिश्रण कुहिएको पराल खुवाउने विकल्प नभएसम्म भैंसीको आहारमा आपूर्ति गर्नु त झनै वेश हुन्छ ।

आउँदो वर्ष के गर्ने ?

अ) प्राविधिक तथा कृषकलाई सचेतनामूलक तालिम त दिनु पर्छ ।

आ) यस्ता खाले रोगलाई प्राथमिकता दिनै पर्ने हुन्छ ।

इ) किन त्यो भैंसीको पुच्छर कहिले सुक्ला भनेर कुर्ने, हिउँदमा पराल मात्र खुवाउने बेला माथि भनेका औषधि फेरि खुवाउने, त्यो विषले असर गर्नुभन्दा पहिले भैंसी चनाखो भइहाल्छ ।