स्कटल्यान्डको ग्लास्गोमा ३१ अक्टुवरदेखि १२ नोभम्बरसम्म चलिरहेको विश्व जलवायु सम्मेलन अर्थात् कोप–२६ मा हालसम्म सहभागी राष्ट्रहरुले जनाएका प्रतिबद्धता र कार्यक्रममध्ये ब्राजिलले अघि सारेको वन फँडानी रोक्ने रणनीतिले हालसम्म अग्रता हासिल गरेको छ ।
ब्राजिलको वन फँडानी रोक्ने कार्यक्रमले उक्त शिखर सम्मेलनमा एक सय जनाभन्दा बढी राष्ट्रहरुको नेतृत्व गरिरहेको छ । ब्राजिलजस्तै प्रतिबद्धता जनाउने देशहरुले आगामी २०३० सम्ममा वनफडानी रोक्ने कुरा समान स्वरमा उच्चारण गरेका छन् ।
यसका लागि देशमा आआफ्नै घरेलु कानुनमा सशक्ता ल्याउने उनीहरुको धारणा छ । यसका लागि सबैभन्दा पहिले वनफँडानीलाई गैरकानुनी बनाउने उनीहरुको प्रतिबद्धता छ । शायद यो नै यो सिंगो सम्मेलनको पहिलो प्रमुख र साझा सम्झौता हुने जाने देखिन्छ ।
उक्त सम्झौतामा हस्ताक्षर गर्ने देशहरुको संख्या बढिरहेको छ । दक्षिण अमेरिकामा र त्यसमा पनि सबैभन्दा ठूलो जंगलको भूभाग रहेको सदावहार अमेजन जंगल संरक्षणका कारण ब्राजिल अग्रतामा रहेको छ । वन फँडानीको समस्या भोगिरहेका देशमा ब्राजिल आफै पनि एक हो ।
सम्झौता प्रतिबद्धता अनुसार वन फँडानी रोक्नका लागि ब्राजिलले सरकारी तथा निजी कोषबाट झन्डै १९ अर्ब २० करोड अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ । यसबाट सम्मेलनमा सहभागी विश्वका सबै देशहरु खुशी भएका छन् ।
ब्राजिलको अमेजन जंगलले विश्वको कूल भूभागको ४ प्रतिशत भूभाग ओगट्छ । यसले दक्षिण अमेरिकामा पर्ने कूल वर्षाको ५० प्रतिशत वर्षा यही अमेजन जंगलका कारण हुनजान्छ । यसका साथै आसपासका महादेशमा हुने वर्षामा पनि यसले प्रभाव पारिरहेको हुन्छ ।
विश्वमा खपत हुने कूल काठजन्य पदार्थको १० प्रतिशत हिस्सा अमेजनको काठले ओगट्दछ । यो ठूलो मात्राको काठ प्रयोगका कारण पनि अमेजनको जंगल अनावश्यक फडानी हुँदै गैरहेको छ । यसलाई रोक्नु जरुरी भैरहेका बेला विश्व जलवायु सम्मेलनको अवसर पारेर ब्राजिल आफैले यसको संरक्षणका लागि अग्रसरता लिनु आफैमा निकै प्रेरणादायी कुरा हो । तर यसले यो जंगलको वरिपरि बसिरहेका आदिवासीका लागि वैकल्पिक उपाय वा जीवन निर्वाहको कार्यक्रम दिन सक्नु पर्छ ।
वन फडानी रोक्ने भन्ने पहिलेका सम्झौताहरु कार्यान्वयन हुन सकिरहेका छैनन् । वातावरण विशेषज्ञहरूले ग्लास्गो सम्मेलनमार्फत् लिन थालिएको कदमको सतर्कतापूर्वक स्वागत गरेका छन् । यसका साथै सन् २०१४ को वनफँडानी रोक्नेसम्बन्धी पुरानो सम्झौता कार्यान्वयन हुन नसकेको पनि बताइरहेका छन् । वनफँडानी नियन्त्रण गर्न असफल भएको चेतावनी पनि दिएका छन् ।
रूख कटानी हुँदा तापक्रम बढाउने कार्बनडाइअक्साइडको ठूलो परिमाण सोस्ने वनजंगल पातलिने भन्ने सत्यतथ्य जानकारीमा हुँदाहुँदै यसको फँडानी साच्चिकै नरोकिएको भने सत्य हो । यसैले गर्दा जलवायु परिवर्तनमा ठूलो नकारात्मक असर परिरहेको छ ।
ग्लास्गो सम्मेलन आयोजक राष्ट्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पृथ्वीमा रहेको जंगल संरक्षण र पुनस्र्थापनाका लागि हुन थालेको यो सम्झौता अत्यन्तै महत्वका साथ प्रचार गरिरहेका छन् ।
जलवायु परिवर्तनका विषयमा चलिरहेको ग्लास्गो वैठक सातासम्म चल्दै छ ।