काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनका लागि पत्र पठाइसकेको बताएछन्। स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागिता जनाएर बिहीबार बिहान काठमाडौं आइपुगेका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले मंगलबार भेटवार्ताका क्रममा आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रधानमन्त्री देउवाले बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’ देउवाले ल्याटोर्तुले कहिले सम्म संसद्बाट एमसीसी पास गर्नुहुन्न भन्ने जिज्ञाशा राखेको र आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको बताउँदै अहिलेको संसद्अधिवेशन अन्त्य अर्कै कारणले गरिएको समेत जानकारी दिएको बताए ।
नेपालमा संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नु नपर्ने बताउँदै आइरहेका छन् ।
अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।