• मंसिर ८ २०८१, शनिबार

चीनविरुद्ध निर्माण गरिने पन्डुब्बीबारे फ्रान्स-अस्ट्रेलियालीबीच पोल खोलाखोल

कार्तिक १७ २०७८, बुधबार

फ्रान्स–अष्ट्रेलियाबीच चीनविरुद्ध पनडुब्बी निर्माण सम्झौताबारेमा जी–२० वैठकस्थलमै पोल खोलाखोल भएपछि यसले सम्मेलनमा सहभागी सबैलाई जिभ्रो टोक्ने अवस्थामा पुर्याएको छ । सिधासिधा कुरा गर्ने र बढी कुटिलताको प्रयोग नगर्ने  फ्रान्सेली राष्ट्रपति इमान्युयल म्याक्रोंले अस्ट्रेलियाली प्रधानमन्त्रीलाई पनडुब्बीका कुरा झिकेर डाँट्न थालेपछि पोल खोलाखोलको स्थिति उत्पन्न भएको हो ।

फ्रान्ससँग पनडुब्बी सम्झौता भङ्गबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले झुठो बोलेको उनको आरोप लगाएका छन् । मोर्रिसनलाई बेइमान नभने पनि उनी कच्चा भएको म्याक्रोंको संकेत रहेको छ । अठोट नभएका मानिसका रुपमा म्याक्रोंले मोर्रिसनलाई डाँटेका थिए ।

फ्रान्स र अस्ट्रेलियाबीच १२ वटा पनडुब्बी बनाउने र त्यसको प्रयोगमा दुवैको सहकार्य गरिने सम्झौता भएको थियो । तर उक्त सम्झौता कार्यान्वयनमा लैजानुभन्दा फ्रान्ससँग एक वचन कुरा पनि नगरी अस्ट्रेलियाले अमेरिकासँग अर्को सम्झौता गरिसकेको छ ।

यो कार्यमा अस्ट्रेलियाले ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता रद्द गरी संयुक्त राज्य अमेरिका र बेलायतसँग नयाँ प्रतिरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । यसले नै म्याक्रोंलाई झोक्काझोक्कीको अवस्थामा पुर्याएको थियो ।

यसका लागि अस्ट्रेलियाले अमेरिका र बेलायतसँग ‘अकस’ नामक सम्झौता गरेको छ । यो सम्झौता गरेर आफू बेइमान नभएको भन्दै प्रम मोर्रिसनले स्पष्टीकरण पनि दिएका छन् । आफू बेइमान नभएको मोर्रिसनले बताइरहँदा म्याक्रों हाँसिरहेका थिए ।

म्याक्रोंलाई लागिरहेको थियो, ‘ढाँटको निम्तो खाएर पत्याउनू ।’ सम्झौता निमोठिदिए पछि चिढिएका म्याक्रों जी–२० शिखर बैठकमा भएको जम्काभेटमै मोर्रिसनमाथि ठाडै जाइलागेका थिए । हाल अमेरिका–बेलायत–अस्ट्रेलियाबीच भएको अकस सम्झौताले फ्रान्स, अमेरिका र अस्ट्रेलियाबीच तनावको वातावरण सिर्जना गरिरहेको छ ।