पछिल्लो एक दशकदेखि नेपाली दर्शकमाँझ महानायकका रुपमा चर्चित अभिनेता राजेश हमालको महानायक उपाधिप्रति निर्देशक सोभित बस्नेत लगायतका केही चलचित्रकर्मीहरुले विवाद सृजना गरेपछि महानायक उपाधि सोसल मिडियामा फेरि वहसको विषय बनेको छ । केही समय यता राजेश हमालका फैनहरु आक्रमक रुपमा सोभित बस्नेतमाथि खनिएका छन् । यसको असर उनको नयाँ फिल्मले डाँडाको वरपिपलमाथि पनि पर्यो । अधिकांश सिने दर्शक तथा सिनेकर्मीहरुले राजेश हमाललाई नै महानायक स्वीकारेका थाहा हुँदाहुँदै पनि किन सोभित बस्नेतले महानायकको विवाद झिके ? किन अभिनेता भुवन केसीलाई उचाल्ने र राजेश हमाललाई थेचार्ने प्रयास गरे ? त्यसो त अहिले सोभित बस्नेतले माफी मागेर राजेश हमाल नै महानायक हुन् भन्न थालेका छन् ।
नेपाली चलचित्र जगतमा शिव श्रेष्ठ, भुवन केसी तथा राजेश हमालको आआफ्नै स्वर्णीम इतिहास छ । नेपाली चलचित्र जगतलाई यहाँसम्म ल्याई पराउनुमा यी तीन लेजेन्डरि अभिनेताहरुको उत्तिकै योगदान छ । त्यसैले उनीहरुको योगदानको उचित कदर हुनुपर्छ । कोही कसैले पनि एकलाई ठुलो देखाउन अरुलाई होच्चाउने खसाल्ने काम गर्नु हुँदैन । त्यसो भए महानायकको असली हकदार को हुन् त ? राजेश हमाल महानायक भए शिव र भवन केसी के हुन् त ? प्रश्नहरु उठ्न सक्दछ । त्यसैले यस आलेखमा कुनै आग्रहपुर्वाग्रह नराखिकन नेपाली चलचित्र जगतको असली महानायकको खोजी गर्ने जमर्को गरिएको छ ।
कुरा शुरु गरौं अभिनेता शिव श्रेष्ठबाट । वि.स. २०३९ सालमा बनेको नेपाली कथानक चलचित्र जीवन रेखाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता शिव श्रेष्ठ जीवन रेखाको अपार सफलतासँगै चर्चित भए । नेपाली दर्शकले पहिलो पटक जीवन रेखामा नै हिरोको एक्सन देखेका थिए । हिन्दी फिल्महरु हेरेर हुर्किएका नेपाली दर्शकलाई बल्ल हिरो पाएको महसुस भयो । शिवलाई बलिउड अभिनेता धर्मेन्द्रसँग दाज्न थालियो । सम्भवत नेपालको इतिहासमा शिव श्रेष्ठ नै फैनहरुलाई अटोग्राफ दिने पहिलो नेपाली अभिनेता हुन् ।
जीवन रेखा पछि शिव श्रेष्ठले बदलिदो आकाश, कान्छी तथा विश्वास आदि जस्ता नेपाली चलचित्रहरुमा अभिनय गरे । संयुक्त लगानीका चलचित्रहरु जीवन ज्योति तथा हामी एक हौं मार्फत उनी पाकिस्तानी चलचित्र उद्योगमा पुगे । पाकिस्तानमा उनी रातारात नेपालका शिवा नामले चर्चित भए । २६ वटा पाकिस्तानी फिल्महरु र सयौं नेपाली चलचित्रहरुमा अभिनय गरेका अभिनेता शिव श्रेष्ठ अहिले पनि नेपाली चलतित्र उद्योगमा सक्रिय छन् । नेपाली दर्शक माँझ एक्सन किंग तथा ठुल्दाइका उपनामले चर्चित छन् ।
शिवको एक्सन उत्कृष्ट छ । यो कुरा भुवन केसीले मात्र होइन द्वन्द निर्देशक राजेन्द्र खड्की पनि स्वीकारेका छन् । शिवको डान्स पनि राम्रो छ । उनी भुवन केसी र राजेश हमाल भन्दा राम्रो नाच्छन् । तर शिवको कमजोर पक्ष भनेको डाइलग डेलिभरी हो । शिवले बोलेका राम्रोसँग बुझिँदैन । एक्सन दृश्यमा उनको सम्बाद अझ बढी लडखडाउँछ । उनको एक्सन जस्तै डाइलग डेलिभरि पनि दम्दार हुन्थ्यो भने सुनमा सुगन्ध थपिन्थ्यो ।
डाइलग डेलिभरि शिवको भन्दा भुवन केसीको राम्रो छ । वि.स. २०४० सालमा नेपाली कथानक चलचित्र जुनी मार्फत् नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका अभिनेता भुवन केसी गायक पनि हुन् । उनले चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि नै जागे शारा रात जस्ता गीत गाएर गायकको छवि बनाइ सकेका थिए ।
जुनी पछि भुवन केसीले सम्झना, कुसमे रुमाल तथा साइनो जस्ता फिल्महरुमा आफ्नो कुशल अभिनय देखाए । आफ्नो मुस्कानले फिदा बनाएका नेपाली दर्शकमाँझ उनले रोमान्टिक हिरोको छवि बनाएका छन् ।
६ वटा संयुक्त लगानीका पाकिस्तानी चलचित्रहरु तथा १०० भन्दा बढी नेपाली चलचित्रहरुमा अभिनय गरेका अभिनेता भुवन केसी निर्माता तथा निर्देशक पनि हुन् । उनका छोरा अनमोल केसी अहिलेका चर्चित नायक हुन् । भुवन केसीमा एक रोमान्टिक हिरोमा हुने सबै गुणहरु छन् । बुढेसकालमा पनि उनी हिरो जस्तै देखिन्छन् । एक्सनमा भने उनी अलि कमजोर छन् । तर उनको डाइलग डेलिभरि राम्रो छ । अभिनेता शिव श्रेष्ठले त भुवनको जस्तो डाइलग डेलिभरि नेपाली चलचित्र जगतमा कसैको छैन भन्छन् । भुवन केसी उहिले मात्र होइन अहिले पनि केटी विवादमा परिरहन्छन् ।
वि.स. २०४७ सालसम्म नेपाली चलचित्र जगतमा शिव र भुवन केसीको अधिपत्य थियो । तर २०४७ सालमा प्रर्दशित नेपाली कथानक चलचित्र युगदेखि युगसम्म मार्फत् नेपाली चलचित्र उद्योगमा अभिनेता राजेश हमालको प्रवेश भयो । युगदेखि युगसम्म हेरेका दर्शकहरुले राजेशमा बलिउड सुपरस्टार मिथन चक्रवर्तीको झझल्को पाए । राजेशको आवगमनसँगै नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थपियो ।
उनको आवगमनले करिब एक दशकदेखि नेपाली चलचित्र उद्योगमा स्थापित शिव र भुवनको अधिपत्य तोडियो । त्यसो त शुरुका वर्षहरुमा राजेश निकै विवादित भए । युगदेखि युगसम्म मार्फत पर्दामा उतारेका उनकै मामा दीपक रायमाझीले राजेश हमाललाई एक्टिंग नै आउँदैन भन्ने वक्तव्यबाजी समेत गरे । भाग्य रेखाबाट राजेशलाई हटाएर रविन्द खड्कालाई हिरो बनाए । तर यसले राजेश हमालको कअरियरमा कुनै असर गरेन । युगदेखि युगसम्मको सफलतापछि राजेशले भटाभट फिल्महरु खेल्न थाले । देउता अधिकार, पृथ्वी तथा सीमाना जस्ता सिनेमाहरुले उनलाई सुपरस्टार बनायो ।
हेर्दाहेर्दै राजेश हमाल निर्माता निर्देशकको पहिलो रोजाइ हुन पुगे । उनको डिमाण्ड यति बढ्यो कि उनको टाउको देखाएर फिल्महरु चल्न थाले । आफ्नो यति डिमाण्ड हँुदा पनि उनले आफ्नो व्वावसायिक मर्यादा कायम राखे । न त आफ्नो भाऊ बढाए न त कसैलाई निराश बनाए । अधिकांश निर्माता निर्देशकहरुलाई तथा सहकर्मीहरुलाई स्थापित बनाए ।
राजेश हमालले अहिलेसम्म ढाइ सय भन्दा बढी नेपाली चलचित्रहरुमा अभिनय गरेका छन् । उनले अभिनय गरेका अधिकांश चलचित्रहरु सफल पनि भएका छन् । बलिउडका महानायक अमिताभ बच्चनले भन्दा पनि बढी र सफल सिनेमाहरु दिएका छन् राजेश हमालले । अभिनयको दृष्टिमा राजेश हमालको एक्सन तथा डाइलग डेलिभरि राम्रो छ । तर उनी नृत्यमा कमजोर छन् । नृत्यका हिसाबमा उनी बलिउड सुपरस्टार शन्नी देवल जस्तै छन् ।
राजेश हमाल एक वौद्धिक व्यक्तित्व पनि हुन् । राजेश हमाल हिजोको पुस्तामाँझ मात्र होइन अहिलेका पुस्तामाँझ पनि निकै लोकप्रिय छन् । राजेश हमाललाई महानायक मान्ने अहिलेका पुस्ता मध्य ३० प्रतिशतले पनि शिव श्रेष्ठ र भुवन केसीलाई चिन्दैनन् । त्यसैले हरेक दृष्टिकोणमा नेपाली चलचित्र उद्योगमा कोही महानायक छ भने त्यो राजेश हमाल नै हो । वास्तवमा राजेश हमाल नै महानायकका असली हकदार हुन् । राजेशलाई नेपाली दर्शकले दिएको यस उपाधिप्रति कसैले पनि ईष्या राख्नु हुँदैन । आफ्नो निजी श्वार्थका लागि विवाद सृजना गर्ने कार्य गर्नु हुँदैन ।
अब प्रश्न उठ्न सक्दछ, अभिनेता राजेश हमाल महानायक भए अभिनेता शिव श्रेष्ठ र भूवन केसीको मूल्यांकन खै त ? यस प्रश्नको सटीक उत्तर हो, एक्सन किंग उपनामले चिनिने अभिनेता शिव श्रेष्ठ नेपाली चलचित्र जगतका फस्र्ट सुपरस्टार हुन् । त्यसैले उनी युग नायक हुन् । रोमान्टिक हिरोको छवि बनाएका अभिनेता भुवन केसी हिजो हिरो थिए, आज बुढेसकालमा पनि हिरो जस्तै छन् । त्यसैले उनी इभरग्रिन सुपरस्टार हुन् अर्थात् सदावहार नायक हुन् ।
अतः अभिनेता शिव श्रेष्ठ युगनायक, अभिनेता भुवन केसी सदावहारनायक तथा अभिनेता राजेश हमाल महानायक । यी तीन लेजेण्डरि अभिनेताहरुको असली मूल्यांकन यही हो । अब महानायकको विवाद सकियो ।
(लेखक मनोविद् हुन् ।)