• असार २३ २०८१, शनिबार

बिकेन मादल, बादी समुदायको तिहार भएन रमाइलो

कार्तिक १७ २०७८, बुधबार

दाङ, १७ कात्तिक ।

तिहार पर्व नजिकिंदै गर्दा पनि तुलसीपुर ४ का जीतबहादुर बादी फुर्सदिला छन् । उनलाई यस वर्ष पनि देउसी भैलोका लागि मादलको माग खासै नआएकोले उनी फुर्सदिला भएका हुन् । तिहारको समयमा ४० देखि ६० वटा सम्म मादल बिक्री गर्ने उनले अहिले १० वटा पनि बिक्रि नभएको बताए ।

कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गएपनि देउसी भैलोको लागि मादल किन्नेहरुको संख्या बढ्न नसकेको उनले बताए । “गत वर्ष कोरोनाले गर्दा मादल बिक्री भएन, यसवर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन, मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ” उनले भने । मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो अहिले उनी चिन्तामा छन् ।

‘मादल बिक्री हुने भनेकै तिहारमा हो, यो समयमा पनि मादलको माग कम भएको छ, मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ’ उनले भने । तिहार नजिकैगर्दा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहार नजिकिए पनि अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन् ।

मादल नेपाली गीतसंगीतका लागि मात्रै नभएर तिहारमा खेलिने देउसी भैलोको लागि महत्वपूर्ण मनिने बाजा हो तर, पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेशा नै संकटमा परेको छ । गत वर्ष कोरोना महामारीले देउसी भैलो नै नहुने भएपछि मादलको माग घटेको थियो, पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनिहरुको गुनासो छ ।

तुलसीपुर उपमहानगरपालिका ४ बायँखोलाकै गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याई हुने गरेको थियो । तिहारमा खेलिने देउसी भैलोका लागि मादलको माग अत्याधिक हुँदा उनले वर्षदिनको आम्दानी तिहारमा मात्रै गर्थे तर, करिब तीन वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन् ।

“कोरोना महामारी शुरु भए यता मादलको व्यापार हुन सकेको छैन्, यसवर्ष पनि गत वर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ” उनले भने । तिहारको समयमा ४०÷५० वटा मादलको व्यापार गर्ने गरेका उनले कोरोना पछिका तिहारको समयमा ५÷७ वटामात्रै पनि मुस्किलले बिक्री गर्ने गरेका छन् । “मादलको खोजि पनि कम हुन थालेको छ, मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ” उनले भने ।

मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए । “मादलको व्यापार नै छैन, मादल बिक्री हुने समय भनेकै त तिहारको समय हो तर कोरोना महामारीका कारण मादलको माग पनि घटेको छ’ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ, अब त मादल बनाएर पनि दैनिकी चल्दैन जस्तो छ” उनले भने ।

तिहारको समयमा बिगतका वर्षहरुमा दैनिक ४ हजारसम्म आम्दानी गर्ने गरेपनि यसवर्ष १ हजारको समेत व्यापार हुन नसकेको उनले बताए । “अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमाइलो हुने भयो” बादीले भने । मादलको बजार राम्रो नभएपछि बादी समुदायको बावुबाजेले गर्दै आएको मादल बनाउने पेशा संकटमा पर्न थालेको छ ।

यस्तै अवस्था भएमा भावि पुस्तलाई मादल बनाउने बारे ज्ञानको अभाव हुने निश्चित देखिएको ती बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ । बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले बादी समयुदायको मादल बनाउने पेशा नै संकटमा पर्ने निश्चित छ ।