काठमाडौँ। चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप हस्तान्तरण गरेकी हुन् । सो अवसरमा राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।
त्यस्तै स्वास्थ सचिव रोशन पोखरेलले चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकोमा धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशावादी रहेको बताए।
चीनले पटक पटक गरी हालसम्म ३४ लाख डोज खोप अनुदान दिएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।