काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चीन र रुसको आलोचना गरेका छन् । कोप २६ जलवायु सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्र भ्लादमिर पुटिन अनुपस्थित भएकोमा बाइडनले आलोचना गरेका हुन् ।
मंगलबार रातिको एक मनतव्यमा राष्ट्रपति बाइडनले जलवायु ‘एक विशाल मुद्दा’ भएको र यसबाट चीन भागेको र यही कुरा रुस र पुटिनको सन्दर्भमा पनि मिल्ने बताए । चीन र रुसका राष्ट्रपति सहभागी नभए पनि १४ नोभेम्बरसम्म दुई हप्ता चल्ने सम्मेलनमा दुवै देशले प्रतिनिधिहरू पठाएका छन् ।
चीन विश्वकै सबैभन्दा ठूलो कार्बन डाइअक्साइड उत्सर्जक हो भने रुस, अमेरिका, ईयू र भारतपछिको पाचौँ ठूलो उत्सर्जक हो । स्कटल्याण्डको ग्लास्गोमा भएको सम्मेलनमा १२० भन्दा बढी देशका नेताहरू सहभागी भएका छन् ।
देशहरूले सन् २०३० सम्म मिथेनको तहलाई कटौती गर्ने र वनविनाश अन्त्य गर्ने विश्वव्यापी वाचासहित प्रमुख सम्झौताहरू घोषणा गरिसकेका छन् । चीन र रुस दुवै यी घोषणाका पक्ष राष्ट्र हुन् ।
राष्ट्रपति बाइडनलाई वार्तामा चीन, रुस र साउदी अरेबियासहित अरु देशहरूले खेलेको भूमिकाको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
चीनले नदेखाइकन विश्व नेताको रूपमा नयाँ भूमिका दाबी गर्न खोजेको तथ्य प्रष्ट भएको भन्दै बाइडनले जलवायु सम्मेलनमा चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिलाई ‘ठूलो भुल’ भनेका छन् । बाइडनले रुसको बंजर भूमि जलिरहँदा रुसी राष्ट्रपति मौन बसेको आरोप लगाए । रुसी राष्ट्रपति पुटिन किन अनुपस्थित भएको भन्नेबारे कुनै कारण दिइएको छैन । चिनियाँ राष्ट्रपति सीले पनि २०२० को सुरुदेखि चीन छोडेका छैनन् ।