• मंसिर १४ २०८१, शुक्रबार

न्यायालयको विवाद न्यायालयले नै समाधान गरोस् : कानुनमन्त्री बडु

कार्तिक १६ २०७८, मंगलवार

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बडुले यस्तो बताएका हुन्।

न्यायपालिका, कार्यपालिका र संसद्का आ-आफ्नै जिम्मेवारी र सीमा भएको बताउँदै न्यायालयभित्रको विवाद न्यायालयभित्रै समाधान खोजिनुपर्ने उनको भनाइ छ।

‘सरकारले न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गरोस् भनेर हेरिरहेका छौँ । समयमा यसको व्यवस्थापन गरेर जनताको न्याय पाउने अधिकार सुनिश्चित गर्न पनि हामी प्रतिबद्ध छौँ,’ मन्त्री बडुले भने।

‘अदालत नै जनताले न्याय पाउने अन्तिम थलो हो । अदालतमा यस्तो समस्या आउनु दुखद् कुरा हो । यही कारणले अदालतप्रतिको विश्वासमा कमी आउन दिनुहुँदैन’उनले भने, ‘जनताको विश्वास गुमाउने अवस्था आउन दिनु हुँदैन । यो कुरामा सबै सचेत हुनुपर्छ।’

प्रधानन्यायाधीशको भूमिकालाई लिएर अदालतमा पछिल्लो समय देखिएको विवादबारे सत्तारुढ कांग्रेससहित विभिन्न दलका नेताहरूले बोल्नुपर्ने भन्दै प्रश्न उठिरहँदा मन्त्री बडुले यस्तो प्रतिक्रिया दिएका हुन् ।