प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले राजीनामा मार्फत् ‘सम्मानजनक निकास’ नदिने संकेत गरिरहेका बेला ‘ग्रेसफुल एक्जिट’ भने दिने भएका छन् । यो भनेको उनले नेपालीमा होइन, ‘अंग्रेजी’मा राजीनामा दिने भएका छन् ।
प्रश्न उठेको छ, ‘सम्मानजनक निकास’ नदिएर किन ‘ग्रेसफुल एक्जिट’ दिने भए त ? यसको घुमारो अर्थ लाग्छ । कहिलेकाहिं त अनर्थ पनि । ‘सम्मानजनक निकास’ भनेपछि सिधा अर्थलाग्छ नेपालीमा राजीनामा । तर ‘ग्रेसफुल एक्जिट’ भनेपछि अंग्रेजीमा राजीनामा हुन्छ, तर त्यसका लागि नेपाल हुँदै भारत, बेलायत र अमेरिकासम्म लामो यात्रा तय गरेर पुग्नु पर्छ ।
यसले केही लामो समयको माग वा ‘टाइम गेन’ गर्छ । यो बाटो वा तरिका नै प्रधानन्यायाधीशको बहिर्गमनको रोजाइमा परेको छ । त्यो भनेको उनले केही समय चाहन्छन् । वा, अझैं केही समय प्रधानन्यायाधीश भएर रहन चाहन्छन् ।
त्यसो भए ग्रेसफुल एक्जिट भनेको राजीनामा नै हो त ? नहुन पनि सक्छ । जस्तो कसैले ‘म त नागढुंगाको जाममा परे’ भनेछ भने उसले अंग्रेजी ‘जाम’ शब्द प्रयोग गरिरहेको हुन्छ । नेपालीमा ‘जाम’ भन्ने बित्तिकै त गैहाल्छ, चलिहाल्छ र गति लिइहाल्छ । रोकिएको हुँदैन ।
यहाँ पनि नेपालीमा सम्मानजनक बहिर्गमन र अंग्रेजीमा ‘ग्रेसफुल एक्जिट’मा यही फरक देखिएको छ । यो आफैमा स्पष्ट छ । अभिव्यक्ति मनसाय अनुसार आएको हुन्छ । यति ठूलो बिबादको बेलामा त घोरिएर, योजना बनाएर साथै आफ्नो जित हुने गरी नै अभिव्यक्ति दिइन्छ ।
प्रधानन्याधीशको शब्द चयनमा यही कुटिलता वा भनौ योजना वा परिपक्वता लुकेकोमा कसैलाई भ्रम छैन । बरु न्यायसम्पादन कार्य अबरुद्ध नहोस् र न्याय प्रणाली धरापमा नपरोस् भन्ने कुरामा चाहिं सबैको साझा र समान चिन्ता रहेको देखिन्छ । ‘ठूलाबडा’को ध्यान ‘साना’ सर्वसाधरणले गरिरहेको चिन्तामा जाओस् ।