यसपालिको दोस्रो ठूलो चाड भनौँ तिहार, यमपञ्चक शुरु हुन लागेको छ । तिथि क्षय हुँदा ५ दिन परिरहेको यो चाड यसपालि पनि गत वर्ष झैं ४ दिनमै सकिने देखिन्छ । आयुर्वेदका प्रणेता भगवान धन्वन्तरी जयन्तीसँगैै काग तिहारदेखि शुरु हुने यो चाड कुकुर पूजा, लक्ष्मी पूजा, गाई, गोरु पूजा, म्ह पूजा, नेपाल सम्वत् आरम्भ हुँदै भाई पूजा गरेर सकिन्छ । दाजू भाई नहुनेले काठमाडौँको रानी पोखरीस्थित यमलेश्वर मन्दिर पुगी दर्शन गर्ने चलन भएको र ७२ को भूकम्पले क्षति पुगी लामो समय रोकिएको सो स्थान गत वर्षदेखि खुलेको छ ।
कोरोनाका त्रासबीच खल्लो अनुभूति हुँदै विदा गरिएको दसैं सकिनासाथ देशकै मौलिक पर्व तिहारमा पनि खासै रौनक हुने छाँट छैन । सबैले विद्यमान परिवेशलाई बुझेर चाडबाड मनाउनु पर्ने विवशता हामी माझ छँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिन लामो हुने र सबैदिन यमराजसँग सम्बन्धित भएकाले यी दिनहरुलाई यमपञ्चक भनिएको हो । यम सूर्य पुत्र हुन्, यमकी बहिनी यमुनाको घरमा बसी दैनिक कार्यबाट छुट्टी लिएकाले मत्र्यलोकका मानिसहरु खास गरी बहुलदेवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँचदिनलाई काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाई तिहार जस्ता नामहरु दिई पाँच दिनसम्म धूमधामले यो चाड मान्ने गर्छन् । दसैंपछि लगत्तै आउने दोश्रो ठूलोचाड तिहार वर्षभरिको अत्यन्त रमाइलो चाड हो, दीपमालिका यसको अर्को विशेष पक्ष हो । यमपञ्चकको पहिलो दिनलाई कागतिहार भन्ने गरिन्छ ।
(क) काग तिहार
हिन्दु दर्शनमा सम्पूर्ण जीवात्माहरुलाई प्रेम र सद्भाव गर्ने छुटृाछुटृै विधिहरु छन् । स्थावरदेखि पशु, पंक्षी, साना, ठूला सबै जीवहरुलाई मित्रवत् व्यवहार गरिन्छ । यमको प्रतीक कागले मानिसलाई शुभ, अशुभ शकुन बताउँछ भन्ने बिश्वास गरिन्छ । घर वरिपरिको वातावरण सफा गरिदिने काग बोलीमा छुच्चो प्राणीमा गनिने भए पनि हरेक बिहान खाना खानुअघि कागलाई खाना छुट्याउने हाम्रो परम्परा रहेको छ । तिहारको सुरुदिन त कागलाई विशेष खाना दिएर निकै सत्कार गर्ने चलन छ । कार्तिक कृष्ण त्रयोदशीका दिन बिहान कागलाई विशेष खाना बलिका रुपमा दिएर घर वरिपरि सबैतिर रहेका कागहरु अगाडि आएर मैले दिएका खाना खाऊ, सन्तोष होऊ भनिन्छ ।
रामायण ग्रन्थमा कागभुसुण्डीको चर्चा भएको छ । कागभुसुण्डी ऋषिले गरुडजीले रामकथा बताउँदै आफू काग रुपमै रहन, बस्न मन परेको कुरा उल्लेख गरेका छन् । कागलाई यमदूतको रुपमा हेरिन्छ । मृत्युपछि आशौच कार्यमा कागवलि अनिवार्य हुन्छ । हाम्रो समाजमा कागतिहारका दिन बेलुका घरको मूलढोकामा दीपदान गर्ने चलन छ, यसो गर्दा मृत्युभय हुँदैन । यसो गर्दा अल्पमृत्यु, दुर्घटनाहरु हुँदैन । काग तिहारको अर्को पक्ष धन्वन्तरी जयन्ती पनि हो । यसैदिन आयुर्वेद शास्त्रका प्रणेता धन्वन्तरीको जन्म जयन्ती हो । पूर्वीय शास्त्रहरुमा आयुर्वेद शास्त्र निकै प्रसिद्ध छ । मानिसको आयु बढाउने वैदिक पद्धति भएकाले यसलाई आयुर्वेद भनिएको हो । यो प्राकृतिक चिकित्सा पद्धतिसँग बढी सम्बन्धित छ । यसले शरीर तन्दुरुस्त राख्ने, योग आदि विषय र जडीबुटीसँग प्रत्यक्ष सरोकार राख्ने गर्छ ।
(ख) कुकुर तिहार :
इम पञ्चकको दोस्रो दिन कुकुर तिहार हो । कुकुरलाई यमदूतको रुपमा मानिन्छ । कुकुर दयालु प्राणी हो, मालिकको रक्षा गर्न, घरको सुरक्षा गर्न, चोरीका सामान पत्ता लागाउन यो खप्पिस हुन्छ । यसको घ्राणशक्ति निकै तीव्र हुन्छ । घरपालुवा र मालिक भक्त कुकुरका दुई विशेष नाम छन् । वैवस्वतकुलमा जन्मिएका श्यामवर्ण र छिरबिरे वर्णका दुई कुकुरलाई श्याम र शबल भनिन्छ । तिनलाई म अन्न, विशेष भोजन दिन्छु भनी कुकुर तिहारका दिन भोजन दिइन्छ । तेल लगाउने, माला, टिका लगाउने, कुकुरलाई राम्रो पारी सिंगार्ने पनि चलन छ । कुकुर थोरैले सन्तुष्ट हुन्छ, मस्त निन्द्रामा पनि बाहिरका कार्यहरु बारे थाहा पाउन सक्छ, सुरता र वीरत्व कुकुरको ठूलो गुण नै हो । कुकुरको अनेक गुण र स्वभावले मानिसले यसलाई ग्रहण गर्छन् । हिमाली क्षेत्रमा यसले सामान ढुवानी कार्य गर्छ । पाण्डवहरु स्वर्गारोहण हुँंदा धर्मराजले कुकुरको रुप लिएर युधिष्ठीरको परीक्षा गरेका थिए ।
कुकुर तिहारका दिनलाई नरक चतुर्दशी भनिन्छ । यसदिन घरमा बत्ति बाल्ने र नदीमा बत्ति बगाउने कार्य गरिन्छ । यसदिन तेलमा लक्ष्मी बस्ने विश्वास गरिन्छ । जताततै झलमल्ल तेलको बत्ति बालिन्छ । शरीर स्नान गर्दा पनि तेल मर्दन गर्ने चलन छ । मृत्युपछि नरकको भय दूर गर्न बत्ति बाल्ने भएकाले यस दिनलाई नरक चतुर्दशी भन्ने गरिएको हो ।
(ग) गाई तिहार र लक्ष्मीपूजा :
इम पञ्चकको तेस्रो दिन गाई तिहार हो । गाई हाम्री आमा हुन् । पौष्टिक आहार दूध दिने गाई सोझो प्राणीमध्ये एक हो । हाम्रो समाजमा गाईलाई लक्ष्मीका रुपमा हेर्ने चलन छ । गाई तिहार अर्थात् लक्ष्मी पूजाको दिन गाईलाई विशेष पूजा गर्ने, गोडाधुने, पीठो नैवेद्य खुवाउने, नैवेद्यहरु अर्पण गर्ने गरिन्छ । हिन्दु दर्शनमा गाई, गङ्गा, गीता, गायत्री, गणेश आदिलाई विशेष शुभदायक मानिन्छन् । गाई तिहारका दिन गाईका सिङ, खुरमा तेल लगाउने, घाँंटीमा आकर्षक माला लगाइदिने, मीठामीठा खानेकुरा खान दिने गरिन्छ ।
गाई तिहारको अर्को पर्व हो लक्ष्मीपूजा, धनको पूजा, यस रात्रिमा विशेष दीपावली पनि गरिन्छ । घर बाहिरदेखि गोबरले लिपेर लक्ष्मीका पाइला बनाएर पूजाकोठा, धनसारसम्म लगिन्छ र पूजा गरिन्छ । समृद्धिको चाहना, खुसी, हर्ष, श्री, ऐश्वर्य, शान्ति, अमनचयन चाहनेले लक्ष्मी पूजाका दिन विशेष धनको पूजा, कुवेरको पूजा गर्ने गर्छन् । पसल, व्यापारिक, प्रतिष्ठान, ढुकुटी, अन्न आदि सबैतिर विशेष धूप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, वस्त्रसहित पूजा गर्ने चलन छ । घर पसल रङ्ग्याउने, विशेष फूलहरुले सजाउने, नरिवल मसलाहरु अर्पण गर्ने, रङहरु, पटाकाहरुको प्रयोग गर्ने कार्य गरी खुसी नै खुसी व्यक्त गरिन्छ । यतिबेला सबैको मन प्रफुल्लित र आनन्दित हुन्छ । एक आपसमा खुसी, सुख साटासाट गर्ने चलन छ ।
(घ) गोबद्र्धन पूजा र गोरुतिहार, म्ह पूजा र नेपाल सम्वत् :
इम पञ्चकको चौथो दिनलाई गोरु तिहार भनिन्छ । यसदिन घर घरमा बिहानै गाई, गोरु, एवं गोबद्र्धन पूजा गरिन्छ । कृषि कार्यमा सरिक पशुहरु निकै सहयोगी छन् । तिनको सम्मान गर्ने यस पर्वमा बिहानै फूल, माला, श्रृंगारसहित पूजाआजा धूप, बत्ती, नैवेद्यहरु अर्पणगरी विशेष खाना खुआउने चलन छ । हलो, गाडा समेतको पूजा गरिन्छ । गोरु पनि साधासीधा गौ प्राणी हो । साँढे, बहर आदि गोरुका विभिन्न स्वरुपहरु छन्, युगल पूजा, दम्पत्ति पूजा पूर्वीय चिन्तनको आदर्श नमूना नै हो ।
गाईको गोबर जम्मा गरी गोबद्र्धन पहाड बनाई यसदिन गोबद्र्धन पूजा गरिन्छ । विभिन्न सरसामग्रीहरु जुटाएर विशेष धूमधामका साथ गोबद्र्धन पूजा भागवत सप्ताह आदि विशेष कार्यमा पनि गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन बिहानै गृहस्थहरुले पशुजातिको कल्याण र सम्मान स्वरुप गाई, गोरुको पूजा एवं घर, आँगन, बरण्डामा गोवद्र्धन पर्वत स्थापना गरी, गोपालहरु सहित श्रीकृष्णको पूजा सम्पन्न गर्ने गर्छन् । सर्वप्रथम मेरा सम्पूर्ण पाप नाश भई, दीर्घायु, सुस्वास्थ्य, सुकीर्ति, धनधान्यबृद्धि, सुख, ऐश्वर्य बृद्धिका लागि गोपाल, गोवद्र्धन, गाई एवं गोरुको पूजा गर्छु भनी संकल्प प्रतिज्ञा गर्नुपर्छ । दीप कलश, गणेश, अध्र्य स्थापना गरी बस्त्र, भेटी, नैवेद्य आदि अर्पण गर्दै पूजामा सरिक हुनुपर्छ । साथमा बलिराजाको पूजा गरिन्छ । अष्ट चिरञ्जिवीमध्येका एक बलिलाई संधै स्मरण गर्दा धनबृद्धि हुन्छ ।
कार्तिक कृष्णप्रतिपदाको अर्को रोचक पक्ष छ म्ह पूजाको । यो प्रायः नेवारी समुदायमा लोकप्रिय छ । म्हपूजा भन्नु आफ्नो पूजा हो, आप्mनै परिवार जम्मा भई शरीरधारी नाम पूजा हो, स्वाध्यायको एउटा स्वरुप हो, स्वचिन्तनको एउटा नमूना हो । आत्मा ठूलो छ, त्यो परमात्माको अंश हो । त्यो सबैभन्दा ठूलो परमात्मा हो । आत्मा तृप्त भएपछि परमात्मा तृप्त हुने सोच रहेको छ । परमात्माको अंशस्वरुप अदृश्य, निराकार, चित्स्वरुपमा रहेको आत्मा इन्द्रियरुपी शरीरभित्र रहेको हुन्छ । शरीर पिञ्जरा हो, पिञ्जरा भित्रको बोल्ने कारण शरीरचाहिँ आत्मा हो । नेवार समुदायले प्रायः अपराह्नपछि घर शुद्ध पारेर नयाँं पहिरन साथ ठाँटिएर, पंचरङ्गी टिका सजाएर, तन, मन दुवै शुद्ध पारी पिठोले श्रीयन्त्र, मण्डप, मण्डल बनाई प्रसादका रुपमा मीठा खानेकुरा खाने गर्छन् । यतिबेला मानिसको पूजा गरिन्छ । देवता सम्झेर पान, मसला, नैवेद्य, मिष्ठान्न, फल फूल , बिमिरो आदि सजाएर खुसी व्यक्त गर्दै म्ह पूजा गरिएको दृश्य हेर्न लायक हुन्छ । मण्डपमा सजाउँंदा मादक पदार्थदेखि मांसाहारसम्म पनि सजाएको, खाएको देखिन्छ ।
यसदिनको अर्को विशेषता हो, नेपाल सम्वत्को आरम्भ । जसरी पूर्वीय दर्शनमा बैशाख १ गतेलाई नववर्ष र नवपात्रोको रुपमा लिइन्छ त्यसैगरी नेवार समुदायले आफ्ना विशेष चाडपर्व मनाउंँदा यसैदिन आरम्भ भएको नेपाल सम्वत्लाई आधारमानी सम्पूर्ण कार्यहरु गर्नेगर्छन् । नेपाल सम्वत् खासगरी नेवारी समुदायकै लागि हो र यही समय अनुसारको पात्रोबाट वर्षभरिका कार्यहरु सम्पन्न हुनेगर्छन् । हाल नेपाल सम्वत्लाई सरकारी मान्यता प्राप्त छ र नयाँ नयाँ पात्रोहरु पनि प्रकाशन हुन थालेका छन् । आफ्नो स्वाभिमानमा गौरब गर्ने नेवारी समुदायले यस दिनलाई म्ह पूजा आत्म सम्मानको ठूलो पर्वको रुपमा हेर्ने गर्छन् ।
(ङ) भाइतिहार :
इम पञ्चकको सर्वाधिक महत्वपूर्ण चाड हो भाइ तिहार । कार्तिक कृष्णत्रयोदशी काग तिहारदेखि आरम्भ भएको ५ दिन लामो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन घरघरमा दिदीबहिनीहरुले नवग्रह, अष्ट चिरञ्जिवी, यम, यमुना, लक्ष्मी एवं आप्mना दाजूभाईहरुलाई पूजा गरी तिहारको उत्कर्षणलाई विदा गर्छन् । सूर्यपुत्री यमुनाको निम्तो स्वीकारगर्दै कार्यमा व्यस्त यमराज पाँच दिनसम्म बहिनीका घरमा बसी मीठामीठा खानेकुरा खाई, फुर्सदका क्षणहरुमा रहेको सम्झना स्वरुप, दिदीभाई, दाज्यूबहिनीको सुमधुर स्नेहलाई निरन्तरता दिन पञ्चकभरि दिदीबहिनीहरुका घरमा, उनीहरुले बनाएका खानेकुरा खाने चलन चलेको हो । अघिपछि दिदीबहिनीहरुको घरको खानु हुँदैन भन्ने मान्यता बोकेको पूर्वीय समाज यमपञ्चकमा दिदीबहिनीकै घरका खाना खानुपर्छ त्यसबाट आयुबृद्धि हुन्छ भन्ने मान्यता राख्तछ ।
दिदीबहिनीहरु आफू यमुनाको स्वरुप मानी दाजूभाईलाई दाजू यमको प्रतीक मानी पञ्चक आरम्भदेखि नै विवाहित महिलाहरु आआफ्ना दाजूभाईहरुलाई घरमा बोलाउँछन् । घरदेखि टाढा रहेकाहरु पनि यम पञ्चकमा घर आउँछन् । घरमा आउन नसक्नेहरुलाई प्रसाद पठाउने चलन पनि छ । दाजू भाईको सुस्वास्थ्य, कीर्ति, दीर्घायु, ऐश, आराम, मान, सम्मान, प्रतिष्ठाबृद्धि हेतु सकल परिवारकै आशीर्वाद प्राप्त हुनाले दिदीबहिनीलाई देवीस्वरुप सम्झेर उनीहरुबाट आशीर्वाद लिई उपहार, दान, दक्षिणा दिने चलन पनि तिहारको अर्को विशेषता हो ।
निधारमा सप्तरङ्गी टिका, गलामा मखमली फूलको माला, कपालमा तेल, अनि मूलढोकामा ओखर फोरी मण्डपमा सजिएका दाजूभाईहरुलाई तेल मिश्रित करुवाको टुटीको जलाधाराबाट तीन पटकसम्म परिक्रमा गरी यमुना, यम, आदि देवताको पूजा, दीप, कलश, गणेशको पूजासहित भाइहरुको पूजा विशेष विधिपूर्वक गरी पान, मसला, धूप, बत्ती, बस्त्र, फलपूmल, मिष्ठान्न, सगुनसमेत दिएर दाजूभाईहरुलाई प्रसन्न राखी प्रार्थना समेत गरिन्छ । वर्षभरि भएका सबै कल्मष हटाई दिदीबहिनीहरुबाट दाजूभाईहरुले सुख संमृद्धिको आशीर्वाद दिने चलन छ । भाइपूजा गर्नुअघि षष्ठिकादेवीसहित मार्कण्डेय, व्यास, बलि, हनुमान, परशुराम, कृपाचार्य, द्रौणी, प्रहलाद र विभिषण आदि अष्ट चिरञ्जिवीहरुको पूजा पनि गरिन्छ । सातकल्पसम्म जीवित रहने मार्कण्डेय आदि अष्ट चिरञ्जिवी पूजा गरी दाजूभाईको दीर्घायूको कामना गरिन्छ ।
त्यस्तै सूर्य, सोम, भौम, बुध, बृहस्पति, शुक्र, शनि, राहु एवं केतु आदि नवग्रहको पूजागरी दाजूभाईको कुनै अनिष्ट नहोस् भनी प्रार्थना गरिन्छ । सूर्यको पूजागरी सूर्य झैँ तेजिलो, यमुनाको पूजागरी यमुना झैंदयालु हुन प्रेरित गरिन्छ । साथै यज्ञमण्डपमा यमुनाका परिचारिकाहरुको, कुवेरको, लक्ष्मीको पनि पूजा गरिन्छ । यमदूतको पनि पूजा गरिन्छ । धर्मराज स्वरुप यमराजको विशेष प्रार्थना गर्दै कमसेकम मखमलीको माला नओइलुञ्जेल, तेलको धारा नसुकुञ्जेल भए पनि मेरा दाजूभाईहरुको मृत्यु नहोस् भनी कामना गरिन्छ । सामान्यतः मखमली फूल ओइलिएको देखिन्न र तेलको धारा पनि प्रायः सुकेकोे पाइँदैन । लोक पूजिता यमुनाको प्रार्थना गर्दै दाजूभाईहरुले पनि बहिनीदिदीहरु सर्वकल्याणकारी, लोककल्याणकारी मातृशक्ति अविच्छिन्न आफ्नो गति र तेजले अरुको हित र उद्धार गर्न सक्षम हुन् भनी देवतुल्य दाजूभाईहरुले कामना राख्तछन् र देवीस्वरुपका दिदीबहिनीका आशीर्वादले वर्ष भरि दाजूभाईहरु लोकमान्य र लोकपूजित, प्रतिष्ठित, सर्वपूजक होऊन् । सर्वमान्य भई सामाजिकसेवामा प्रेरित हुन देवी यमुनाले दाजु यमुनालाई प्रेरित गरेझैँ दाजुभाइहरु लाई पनि यस्तै बन्न प्रेरित गर्ने चाड हो भाइटिका ।
यम दण्डाधिकारी हुन् । असल काम गर्नेलाई ढाडस र खराब काम गर्नेलाई दण्ड गरेर न्यायाधीशको काम गर्ने यम नै हुन् । उनी कालका प्रतीक पनि हुन् । भयंकर, डरलाग्दो रुप छ यमको । सज्जनका लागि उनी नै धर्माधिकारी पनि हुन्छन् । सत्कर्ममा हर मानवलाई प्रेरित गर्ने यमकी बहिनी यमुनाको पनि भिन्नभिन्न रुप रहेको छ । जलरुपमा उनी यमुना हुन् भौतिक स्वरुपमा, भागीरथी गङ्गाको चर्चा हुँंदा मानवीय यमुनाको पनि चर्चा भएका अनेकौँ शास्त्रहरु हाम्रा सामु जीवन्त छन् । यमुनाको उदयभूमि हिमालयको तट यमुनोत्तरी हो । दुईस्रोत प्राप्त यसक्षेत्रबाट हिमनदी चिसोजल यमुना बगेकी छिन् भने अर्कोतर्फ तप्तकुण्डबाट तातोपानी बगेको छ । यमुनोत्तरीबाट जोडले बग्दै आएकी हिमनदी यमुनाको मिलनचाहिँ तीर्थराज प्रयागक्षेत्र भारतको अलाहवादमा आई गङ्गासँग मिलन हुन पुग्छ ।
भौतिकरुप यमुनाको विषद् वर्णन यमुना महात्म्यमा पाइन्छ भने तिनै यमुनाका तटमा द्वापर युगमा श्रीकृष्णले आप्mना सम्पूर्ण बाललिलाहरु गरेको पाइन्छ । रासेश्वरीयमुना आफ्नोसम्पूर्ण यौवन भगवान् श्रीकृष्णलाई अर्पण गर्न कालिन्दी बन्न पुग्छिन् र श्रीकृष्णका आठ पटरानीमध्येकी कालिन्दी एक महारानी बन्छिन् । कालिन्दीलाई निर्विषाक्त बनाई प्रदूषण रहित बनाउन श्रीकृष्णले अनेकौँ प्रयत्न गरेको प्रसंग भागवतमा चर्चा भएको छ । भौतिक यमुना आध्यात्मिक कालिन्दी बनेर जीवनलाई यौवनमय र भगवान् समर्पित बनाउँछिन् । कार्तिकमासमा यमुनास्नानले विशेष महत्व राख्तछ भने भ्रातृपूजाअघि यमुनास्नानगरी भाइपूजा गर्नाले सर्वसिद्धि हुने कुरामा सम्पूर्ण शास्त्रकारहरु विश्वस्त छन् ।
यहाँसम्म कि कार्तिक शुक्ल द्वितीयाको पर्वमा यमुनास्नान गरी यमको पूजा गर्नेले कहिल्यै यम र यमदूतको दृश्य देख्नु पर्दैन, यमलोक जानु पर्दैन भनी व्रतार्कलगायत अन्यग्रन्थहरुमा चर्चा भएको देखिन्छ । श्रीकृष्णले यो प्रसंगलाई राजा युधिष्ठीर सामु राख्नु भएको चर्चा पनि भविष्यपुराण आदि ग्रन्थमा पाइन्छ । यमराजकै नामबाट भाइतिहारको नाम यमद्वितीया भएको चर्चा पनि शास्त्रहरुमा पाइन्छ । त्यसो त दिदीबहिनी दयाका प्रतिमूर्ति नै हुन् । स्नेह, करुणाको स्रोत दिदीबहिनीप्रति दाजूभाईको वैभाव नभएको प्रमाण हाम्रो समाजमा धेरै छ । यदाकदा दाजुभाइमा अंशपातदेखि झैझगडा, मुद्दा मामिलासम्म देखिएपनि दिदीबहिनी आमातुल्य मानी कहिल्यै वैरभाव नगर्ने हाम्रो समाज पूर्वीय चिन्तनको एउटा असल नमूना नै हो । त्यसो त तिहारमा दिदीबहिनीले दाजुभाइहरुको निधारमा लगाई दिने पञ्चरङ्गी टिकाको पनि आफ्नो छुटृै महत्व छ ।