• फाल्गुन २३ २०८२, शनिबार

१९ वर्षीया न्यौपानेको ‘शशीकला’ उपन्यास लोकार्पण

कार्तिक १५ २०७८, सोमबार

काठमाडौँ । सामाजिक उपन्यास शशीकलाको लोकार्पण कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । १९ वर्षीया उपन्यासकार दीपा न्यौपानेद्वारा लिखित शशीकलाको काठमाडौँमा एक कार्यक्रम गरि लोकार्पण गरिएको हो । उपन्यास लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि प्रा.डा.गार्गी शर्माले साहित्य सिर्जना गर्दा अरु कसैको नक्कल गर्न नहुने धाराणा व्यक्त गरिन् । प्राध्यापक डा. शर्माले भनिन्,‘साहित्य अरुको जस्तो वा उसको जस्तो होइन आफ्नै जस्तो हुनुपर्छ ।’ शशीकला उपन्यासमा समाजको प्रस्तुतिकरण भएको पाएको बताएकी डा. शर्माले साहित्यको स्रोत वा यसको कच्चा पदार्थ भनेको मानव समाज नै भएको विचार व्यक्त गरिन् ।

उपन्यास लोकार्पण कार्यक्रममा बोल्दै समिक्षक डा.कौसिला रिसालले सामाजिक मनोविष्लेशनात्मक उपन्यास शशीकलामा उपन्यासकारको उच्च कल्पनाशीलता प्रदर्शन् भएको बताइन् । उपन्यासमा साहसी र बलियो महिला पात्रले महिला सशक्तिकरणको सन्देस मात्रै नदिएर युवा युवतीको मायाप्रेमका साथै सामाजिक सेवा भाव समेत देखाइएको हुनाले उपन्यास उत्कृष्ट रहेको विचार डा.रिसालले व्यक्त गरिन् । वर्गीय विभेदको अन्त्य हुनुपर्छ भन्ने समेत देखाइएको सो उपन्यासलाई वियोगान्त र दुःखान्तका रुपमा टुङ्ग्याउन सक्नु उपन्यासकारको चलाखी भएको उनले बताइन् ।

कार्यक्रममा उपन्यासको समिक्षा गर्दै समिक्षक केदार पनेरुले उपन्यास खदिलो रहेको बताए । कार्यक्रममा नेपाली साहित्यमा आफ्नो पहिलो सिर्जनाको रुपमा उपन्यास ल्याएकोमा उपन्यासकार न्यौपानेलाई बागमती प्रदेश सभाका सदस्य प्रेम तामाङ, साहित्यकारहरु सुरेश कुमार भट्ट, डा. सत्यराज थपलिया, वसन्त भट्ट, बौद्ध धर्मगुरु सूर्य बज्रयाना, चलचित्र निर्देशक घनश्याम तिमिल्सिना ‘एण्टेना’, नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशवप्रसाद पौडेल, कवि रसुवाली कवि, पत्रकार साहस न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको लेखनाथ प्रवचन हलमा सम्पन्न भएको कार्यक्रममा नवोदित उपन्यासकार दीपा न्यौपानेले उपन्यासको रचनादेखि प्रकाशन हुँदै लोकार्पणसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् । लोकार्पण कार्यक्रम उपन्यासका प्रकाशक रहेका दिनेश न्यौपानेको अध्यक्षतामा भएको थियो । लोकार्पण कार्यक्रमलाई तारा केसीले संचालन गरेकी थिइन् भने कार्यक्रममा उपस्थितहरुलाई निसा सापकोटाले स्वागत मन्तव्य मार्फत् स्वागत गरेकी थिइन् ।

थप तस्वीरहरु⇓