काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन्।
आइतबार(हिजो)देखि नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।
नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ।