• असार २५ २०८१, सोमबार

असहाय बालबालिकाका नाममा अर्कै धन्दा

मंसिर १४ २०७८, मंगलवार

घोराही, १४ मंसिर ।
संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज केन्द्रिय कार्यालय बालुवाटार ४ काठमाडौंको सदस्यता- सहयोग रसिद दिएर मास्क व्यापार गर्नेलाई प्रहरीले पक्राउ गरेर लग्यो । उनीहरुलाई त्यसरी व्यापार नगर्ने सर्तमा सम्झाई बुझाई गरी पक्रेको केहि बेरमै छोडिदिएको छ ।

‘खरिद बिल छैन । बिक्री गरेपछि पनि केहि दिनुभएको देखिन्न’ फोर के गु्रप घोराही–१५ का अध्यक्ष दिपक पाण्डेले भन्नुभयो, ‘सदस्यता रसिद दिएर दैनिक पच्चीस तिस हजारको कारोबार गरेको देखिन्छ ।’ उहाँका अनुसार दुइतिन दिनदेखि ठूलो प्लाष्टिकको ब्यागमा मास्क हालेर डुलाउँदै हिंडेको भेटिन्थे । उनीहरुले त्यसरी राजश्व छली गरी अवैध कारोबार गरेपछि प्रहरीलाई खबर गरियो । प्रहरीलाई खरिद बिक्रिका बिल देखाउन नसकेपछि भ्यानमा हालेर लग्यो ।

उनीहरु पसल पसल र व्यक्तिहरुलाई बेच्थे । चाहनेलाई सहयोग रसिद दिन्थे । चाहिंदैन भनेपछि मास्कको रकम बुझ्थे । दिउँसो तिन बजे सम्म उनीहरु तिन चार वटा मात्रै रसिद काटेको देखाए । प्लाष्टिकमा बोकेको मास्क भने समूहका धेरै जनाले आधाआधि बेचिसकेका थिए ।

राज्यलाई राजश्व नतिर्ने, यता व्यापारीलाई मार पार्ने भएकाले झोला कुम्ला बोकेर हिंड्नेहरुलाई नियन्त्रण गर्ने अभियान पहिल्यै देखि चलाइएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालको भनाई थियो । उहाँका अनुसार कसैलाई पनि अवैध कारोबार सहैय हुँदैन ।

गुपका सबैजना एक हप्ते तालिम पछि फिल्डमा आएको नवलपरासी पूर्व घर बताउने सन्तोष थापाले जानकारी दिनुभयो । अरुले उहाँलाई टिमको अगुवा भनिरहेका थिए । उताबाट बसमा सामान पठाइदिने, यहाँ रिसीभ गर्ने र दुई सय रुपैया पोका बेच्दै आएको थापाले जानकारी दिनुभयो । उहाँले खाने बस्ने होटल र दैनिक भत्ता दिएर काममा लागएको जानकारी दिनुभयो ।

सहयोगी रसिदमा व्यापार गर्न मिल्छ त ? भनेर प्रहरीले प्रश्न गर्दा भने जवाफ दिन सकेनन् । दुई सय भन्दा एक पैयाँ घटि भए आफ्नो खल्तीबाट हाल्नुपर्छ भन्दै दुःख मनाउ गरे । टिममा रहेका केहि डराएका थिए । अवैध कारोबारमा लागेको बदनाम हुन्छ भनेर करियरको प्रश्न उठाएका थिए । बदनाम भयो भन्दै आँखा रसिला पारेका थिए । प्रहरी भ्यानमा उक्लिंदा धेरैले अनुहार लुकाए । अवैध कारोबार गर्ने कसैलाई पनि छुट नदिने दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य विकास वलीको भनाई थियो ।