• मंसिर १८ २०८१, मंगलवार

प्रेमको प्रतिक मानिने अर्को ताजमहल बन्यो भारतमा

मंसिर १४ २०७८, मंगलवार

काठमाडौँ । भनिन्छ, नि ‘प्रेम अन्धो हुन्छ’ । प्रेमको बारेमा दुनियाँमा अनेक कहानी रचिएका छन् । यसका लागि अनेक कृयाकलापहरु भएका छन् । माया र प्रेमका संकेतहरु दर्साउने मानिसहरुका विभिन्न तरिकाहरु हुने गर्दछन् । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकै आग्रामा रहेको ताज महललाई आजसम्मको सबैभन्दा अजम्बरी मायाको चिनो अर्थात् प्रेमको प्रतिक मानिँदै आएको छ । ताजमहल अर्थात् प्रेमको उपहार वा प्रेमको प्रतिक ।

आग्रामा मुगल सम्राट शाहजहाँले आजभन्दा करिब ४ सय वर्ष पहिले आफ्नी श्रीमती मुमताजको सम्झनामा ताजमहल बनाएका थिए । त्यही ताज महललाई आधुनिक संसारमा प्रेमको स्मारक मानिन्छ । ती सम्राटकी रानीको उनको चौधौँ सन्तानलाई जन्म दिँदादिँदै ज्यान गएको थियो । सिङ्गमरमरले बनेको सो ताज महलको वास्तुकलाको आजको समयमा पनि विश्व भरि चर्चा हुने गरेको छ । संसारको प्रेमको प्रतिक मानिएको सो ताज महल हेर्न सामान्य अवस्थामा अहिले पनि दैनिक ७० हजार मानिस त्यहाँ पुग्ने गर्छन् ।

आनन्द प्रकाश चौकसेले बनाएको ताज महलको भित्रि रुप
आनन्द प्रकाश चौकसेले बनाएको ताज महलको भित्रि रुप

 

ती सम्राट रानीको प्रेममा कतिसम्म पागल थिए भने उनको मृत्युपछि उनको सम्झनामा ताजमहल बनाइसकेपछि त्यो बनाउने कालिगढले त्यस्तै भव्य र सुन्दर महल अन्त बनाउन नसकुन भनेर सम्राटले कालिगढका हात नै काटिदिएका थिए रे, भनेर समेत भन्ने गरिन्छ । अहिले सम्राट शाहजहाँले बनाएको सो ताज महल मानव निर्मित संसारको सातौँ आश्चर्यको रुपमा सुचिकृत छ ।

यो त भयो पहिलेको समयको कुरा । तर हाल पनि माया प्रेमको एउटा यस्तै घटना भएको छ । जहाँ भारत देशमै अर्को शहरमा एक शैक्षिक व्यापारीले आग्राको जस्तै देखिने अर्को ताज महल निर्माण गरेका छन् । उनले ताजमहल जस्तै देखिने एक भव्य भवन बनाएका मात्रै छैनन्, सो भवन आफ्नी श्रीमतीलाई उपहार स्वरुप प्रदान गरेका छन् ।

यसरी भारतमै नयाँ ताजमहल बनाउने व्यापारी हुन् भारतको मध्यप्रदेशका आनन्द प्रकाश चौकसे । व्यापारी  चौकसेले ताजमहल जस्तै अर्को भव्य महल भारतको मध्यप्रदेशस्थित बुरहानपुरमा निर्माण गरेका हुन् । हाल जीवनको ५२औं बसन्तमा हिंडिरहेका चौकसेले बुरहानपुरमा तीन वर्ष लगाएर नयाँ ताजमहल  निर्माण सम्पन्न गरेका हुन् ।

चौकसेले आफूले निर्माण गरेको नयाँ ताजमहल देखाउँदै भने, ‘यो मेरी श्रीमतीका लागि उपहार हो र यो उपहार यो शहरवासीका लागि पनि ।’ मध्यप्रदेशमै ताजमहल जस्तै देखिने नयाँ स्मारक बनेको खबरसँगै नयाँ ताजमहलको स्वरुप हेर्न मानिसहरु आउन थालेका छन् । नयाँ ताजमहल हेर्न आएका आगन्तुकहरुले त्यहाँ विहे हुनुभन्दा पहिले तस्विर खिच्ने गरेको चौकसेले जानकारी दिए ।

तस्विर खिच्न आउनेहरुलाई आफूले निर्माण गरेको घर खुल्ला राखेको बताउँदै चौकसेले भने, ‘म उनीहरुलाई रोक्दिन किन कि हाम्रो शहरमा हामी सबै मिलेर बसेका छौं । सबैले एक अर्कालाई चिन्छौं । त्यसैले मेरो घर हेर्न आउनेहरुका लागि सधैं खुल्ला छ ।’ तर सो भवन हेर्न आउने आगन्तुकहरु भवनभित्र जान भने पाउँदैनन् ।

आनन्द प्रकाश चौकसेले बनाएको ताज महल
आनन्द प्रकाश चौकसेले बनाएको ताज महल

सो भवनको दुई वटा तलामा एकएक वटा मुख्य सयन कक्ष रहेका छन् । चौकसेले सो घरमा एउटा पुस्तकालय र ध्यान गर्ने कक्ष पनि निर्माण गरेको बताए । भवनको बैठक कोठामा सिङ्गमरमर स्तम्भहरु, घुमेको भर्याङका साथै सुनको जलप लगाएका सिलिङ रहेका छन् । आफू धेरै पटक आग्राको ताज महल हेर्न गएको र त्यसैबाट प्रेरित भएर सो भवन बनाएको चौकसेले जानकारी दिए तर आफूले बनाएको सो नयाँ भवनमा स्लामिक संस्कृति र परम्पराको कुनै प्रभाव नदेखिने गरि भित्रि साजसज्जा गरेको चौकसे बताउँछन् ।

‘बरु यसमा अहिलेको समयको प्रभाव परेको छ’ चौकसेले भने । चौकसेले अगाडि भने,‘हामीले आफ्नै ताज महल बनाउन इन्टरनेटमा पाइने जति धेरै थ्रिडी तस्विरहरु प्रयोग गर्यौं । ‘निर्माण गर्दा त्यसका इञ्जिनियरहरुले ताजमहल जस्तै भवन बनाउने उद्धेश्य भएकोले सो नयाँ संरचनाको आकार आग्रामा रहेको ताज महल भन्दा एक तिहाइले घटाएका थिए ।

तर अहिले त्यस्तै भवन बनाएका आनन्द प्रकाश चौकसेले  फूले बनाएको सो नयाँ ताजमहल भने केवल आफ्नी श्रीमतीलाई मात्रै समर्पण नगरिएको भनेका छन् । भारतमा धर्म र जातका कारण विभाजित भएका मानिसहरुलाई सामाजिक झै झगडा र राजनीतिक कोलाहल भन्दा पर प्रेम र आपसी समझदारीको प्रतिक बनोस् भनेर यो घर निर्माण गरेको चौकसे बताउँछन् । उनले भनेका छन्,‘हाम्रो देशमा धेरै घृणा रहेको छ । मानिसहरु धर्म र जातका कारण विभाजित रहेका छन् । त्यसकारण मेरा लागि यो घर सामाजिक झैझगडा र राजनीतिक होहल्ला भन्दा पर रहेको प्रेमको एउटा प्रतिक हो ।’

आनन्द प्रकाश चौकसेले बनाएको ताज महल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दु राष्ट्रवादको पक्षपोषण गरेको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री मोदीका आलोचकहरुले उनको कारणले गर्दा भारतमा धार्मिक असहिष्णुता र ध्रुवीकरण बढेको भन्दै आलोचना गर्ने गर्छन् । भारतको ताजमहल बेला बेलामा धर्म सम्बन्धी विवादमा समेत पर्ने गरेको छ । सन् २०१७ मै पनि भारतमा भारतीय जनता पार्टीका एक सांसदले ताजमहललाई भारतीय संस्कृतिमा एउटा कलंक भनेका थिए । राज्य द्रोहीहरुले निर्माण गरेको भनेर ताजमहललाई ती सांसदले आरोप लागाएका थिए ।

अर्का मानिसले पनि बनाएका थिए ताजमहल

भारतमा शाहजहाँले बनाएको ताज महलबाट प्रेरित भएर ताज महल जस्तै नयाँ भवन बनाउने चौकसे भने पहिलो र एक्ला व्यक्ति भने होइनन् । यो भन्दा पहिले पनि भारतकै उत्तर प्रदेशमा अर्का एक व्यक्तिले यस्तै भवन निर्माण गरेका थिए । भारतको सरकारी सेवाबाट निवृत्त भएका एक मानिसले पनि सन् २०१३ मा उत्तर प्रदेशमै आफ्नी श्रीमतीको सम्झनामा ताजमहल जस्तै घर बनाएका थिए ।