काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् । पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन् ।
यसअघि एक मात्र सहमहामन्त्री पद रहेको काँग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन् । यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ ।
आकांक्षीको व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सहमहामन्त्रीको संख्या अझै थप्ने पक्षमा देखिएको छ । तर नेता रामचन्द्र पौडेल यसको विपक्षमा देखिँदा प्रस्ताव अघि बढ्न सकेको छैन ।
देउवा नेता पौडेलसहित संस्थापन इतर पक्षलाई विश्वासमा लिएर खुलातर्फ केही सहमहामन्त्री पद थप गर्ने रणनीतिमा छन् । तर महाधिवेशनको मिति नजिकिएकाले यो चाहना पूरा हुने सम्भावना कमजोर बन्दै गएको छ । सभापतिमा साझा उम्मेदवार बनाउन दबाब खेप्दै आएको संस्थापन इतर समूह पनि सहमहामन्त्रीको पद थप हुँदा नेताको व्यवस्थापनमा सहज हुने बुझाइमा छ । नेता पौडेल भने जिम्मेवारीविहीन पदमात्र थप गर्ने कुराले संगठन सञ्चालनमा समस्या आउने भन्दै विपक्षमा देखिएका छन् ।
सहमहामन्त्रीको पद थप गर्न सके संस्थापन पक्षबाट महामन्त्रीका आकांक्षी ज्ञानेन्द्रबहादुर कार्की,एनपी साउद,रमेश लेखक, विश्वप्रकाश शर्मासहितका नेतालाई उक्त पदमा व्यवस्थापन गरेर टिम बनाउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ ।
सहमहामन्त्रीका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, गोविन्द भट्टराई, किशोरसिंह राठोरसहितका नेता पनि आकांक्षी छन् । खस आर्य कोटामा महामन्त्री र सहमहामन्त्रीका आकांक्षीमध्ये एकलाई संस्थापन पक्षले अघि सार्ने निकटहरूको दाबी छ ।
संस्थापन इतर समूहमा दीपक गिरी, दिलेन्द्रप्रसाद बडु खसआर्य समूहबाट सहमहामन्त्रीको आकांक्षी छन् । संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने पहल सफल भए उपसभापति र महामन्त्रीका आकांक्षीहरूको व्यवस्थापनमा उक्त पद प्रयोग हुनसक्ने छ ।
त्यस्तै दलित कोटाको सहमहामन्त्रीमा संस्थापनतर्फबाट मानबहादुर विक र मीन विक आकांक्षी छन् भने इतर समूहबाट जीवन परियार छन् ।
महिला सहमहामन्त्रीमा संस्थापन पक्षबाट महालक्ष्मी उपाध्याय र पुष्पा भुसालले आफूलाई प्रस्तुत गर्दै आएका छन् । संस्थापन इतर समूहबाट कमला पन्त र सरिता प्रसाईं आकांक्षी छन् ।
पिछडिएको क्षेत्रबाट संस्थापन इतर समूहका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई अघि सार्ने तयारी गरेको छ ।
मधेसी कोटाको सहमहामन्त्रीमा संस्थापनबाट चित्रलेखा यादव र महेन्द्र यादव आकांक्षी छन् । चित्रलेखा पार्टीको पूर्वकोषाध्यक्षसमेत हुन् । संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य रामकृष्ण यादवलाई अघि सार्ने तयारी छ । मुस्लिम कोटामा संस्थापन पक्षबाट फर्मुल्लाह मन्सुर उम्मेदवार बन्ने तयारीमा छन् । संस्थापन इतर समूहले कसलाई अघि सार्ने निश्चित छैन ।
जनजातितर्फको सहमहामन्त्रीमा संस्थापनबाट भिष्मराज आङ्दम्बे र संस्थापन इतरबाट धनराज गुरुङलाई अघि सार्ने नेताहरूको तयारी छ । गुरुङ आफूले भने महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
त्यस्तै थारुबाट रामजनम चौधरी,योगेन्द्र चौधरी, उमाकान्त चौधरीलाई अघि सार्ने तयारी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संस्थापन इतरको समूहमा समावेश भए उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने नेताहरूको तयारी छ । सिटौला अलग्गै वा संस्थापन पक्षसँग मिलेर अघि बढेको अवस्थामा संस्थापन इतर पक्षलाई सहमहामन्त्रीमा नयाँ उम्मेदवार तयार गर्नुपर्ने बाध्यता छ ।
अझ संस्थापन र इतर समूहबाट सभापतिका आकांक्षी देखिएका सबै नेताले उपसभापति, महामन्त्रीसहितको टिम बनाएर अघि बढ्दा सहमहामन्त्रीका कतिपय आकांक्षीले उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिने सम्भावना पनि रहेको निकट नेताहरूले जानकारी दिए । नागारिक दैनिकबाट