काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा फरक मत राख्नेहरुको अपमान भइरहेको बताएका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज यहाँ आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले एमालेले फरक मत राख्नेलाई अपमान गर्ने गरेकाले आफूहरुले गरेको बिद्रोह सही भएको बताएका हुन्। ‘एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनमा भइरहेको अधिवेशन पर्याप्त छ’, उनले भने, ‘एमालेमा फरक मत राख्नेहरुको अपमान भइरहेको छ । जनताको बहुदलीय जनवादलाई उपहास गरेको छ, त्यसमा विचार तथा बहसको व्यवस्थापन गर्न चाहदैन ।’
पार्टीका उपाध्यक्ष जयन्ती राई, महासचिव बेदुराम भुसाल, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ, पोलिटब्यूरो सदस्य वसन्त मानन्धर, अखिल नेपाल महिला सङ्घका सदस्य सुशीला भण्डारीलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधित्व हुने विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।