• मंसिर ११ २०८१, मंगलवार

एमालेमा निर्वाचन : विचारबिनाको प्राविधिक अभ्यास !

मंसिर १३ २०७८, सोमबार

नेपालमा राजनीतिक पार्टीहरुका सम्मेलन र महाधिवेशन हुन थालेपछि ‘प्रजातान्त्रीकरण’को कुरा निकै उठेको छ । यसले विधिगत बहसको स्वरुप त धारण गरिसकेको छैन । तर पनि प्रजातान्त्रीकरण हुनु बढी राम्रो कुरा हो भन्ने सबैलाई पारेको छ ।
नेपाली कांग्रेसले प्रजातान्त्रीकरणको कुरा भनेको भोट हाल्नु, प्रतिस्पर्धा गर्न पाउनु र विजय भएकाले निस्चित अवधि शासन गर्न पाउनु भन्ने अर्थमा यसलाई बढी अथ्र्र्याउने गरेको छ । यसले आवधिक निर्वाचनले प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रियामा शुद्धीकरण ल्याउँछ भन्ने विश्वास राख्छ ।

वाम पार्टीहरुमा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले हो । यसले पनि नेता मदन भण्डारीको बहुदलीय जनवादको विचार कार्यदिशा अंगीकार गरिसकेपछि प्रजातान्त्रिक अभ्यासमा जोड दिएको छ । त्यो भनेको विवादित विषय निर्वाचनमा लगेर टुंगो लागाउने हो भनेर यसले बुझेको पाइन्छ ।

अर्को भनेको वाम खेमाकै माओवादी केन्द्र हो । यसले सर्वसम्मत बाहेक निर्वाचनमा जाने कुरा भयो भने पार्टी ‘संशोधनवादी’ र ‘संसदवादी’ बन्ने खतरा देखिरहेको छ । यसै कारणले यो पार्टीमा विगत ४० वर्षदेखि यसका नेता प्रचण्डको सदावहार नेतृत्व र राज कायम रहिआएको छ ।

भोट हाल्ने वा निर्वाचनमा जाने भन्ने कुरा नेतृत्व छनौटको केवल प्रक्रिया मात्र हो । कसैले भनेर नेता बन्ने, कसैको टीको थापेर नेता बन्नेभन्दा निर्वाचनमा गएर लोकप्रिय भोट लिएर नेता बन्ने यो केही बढी प्रजातान्त्रिक प्रक्रिया पनि हो । तर भोट हाल्नु आफैमा विचार होइन, बरु कुन विचारका लागि भोट हाल्ने भन्ने कुरा प्रमुख कुरा हो ।

अहिले एमालेको महाधिवेशन अन्तिम अवस्थामा निर्वाचनमा पुगेको छ । अध्यक्षदेखि उपाध्यक्ष र सचिवसम्मका पार्टी पदाधिकारी उमेदवारहरु भोटिङ मैदानमा उभिएका छन् । यो प्रक्रिया आफैमा बढी प्रजातान्त्रिक हो पनि । तर यो प्रक्रिया नै आफैमा प्रजातन्त्र, साध्य वा विचार भने होइन । प्रजातन्त्र भनेको विचार हो, जसले समकालीन मानव समाजको बहुमुखी विकासका लागि सोच्छ र नीति, योजना तथा कार्यक्रम निर्माण गर्छ । यो विचारले निर्वाचनलाई केवल प्रक्रिया, साधन र प्राविधिक निकासका रुपमा अंगीकार गर्दछ ।

नेपाली समाज सामन्ती अवस्थाबाट प्रजातान्त्रिक अवस्थातिर गुज्रिइरहेको छ । तर यसलाई भोट हाल्यो कि हालेन भनेर प्रक्रियाका हिसाबले मात्र हेर्न थालियो भने यो हेराई केवल प्राविधिक र एकांगी हुन जान्छ । प्रजातन्त्र र प्रजातान्त्रीकरणको कुरालाई विचारमा खोजिनु पर्छ ।

नेपाली कांग्रेसले वीपीको समाजवादी विचारलाई तिलाञ्जली दिइसकेको छ । यो सैद्धान्तिक हुन छाडेको छ, नितान्त प्राविधिक बन्दै गएको छ । केवल प्रक्रियाका हिसाबले चुनावमा लड्नु वा प्रतिस्पर्धा गर्नु यसका लागि सिंगो प्रजातन्त्र हुने गरेको छ । जो आफैमा हास्यास्पद छ ।

नेपाली कांग्रेसमा प्रतिस्पर्धा गर्ने नेता वा गुटहरुको लिखित वा मौखिक नै भनौ वैचारिक दस्तावेज छैन । कोही पनि विचार लिएर लड्न सक्ने हैसियतमा छैनन् । संगठन र सांगठनिक हैसियतको दुरुपयोग गरिरहेका छन् । परिणामतः यिनीहरु जनतामा लोकप्रिय छैनन् ।

एमालेमा नेपाली कांग्रेसको ‘सिको गर्नु’ नै उसका लागि प्रजातान्त्रिक कुरा हुने गरेको छ । सामन्तवादी एकमना र सर्वसम्मतको आधाभाग र निर्वाचनको आधाभाग मिसाएर प्रक्रियाका हिसाबले एमालेले ‘अब्बल सिद्धान्त’ प्रतिपादन गरेको डंका पिटिरहेको छ ।

चितवनको १०औं महाधिवेशनमा पनि यही प्रक्रिया दोहरिएको छ । न त के पी ओलीले परिवर्तन ल्याउनसक्ने खालको दस्तावेज रचना गरेका छन्, न त तिनका प्रतिस्पर्धी भीम रावलले नै । बरु नितान्त प्राविधिक रुपमा रहेको निर्वाचनको प्रक्रियालाई अपनाएर आइयो भने एक नम्बरको प्रजातान्त्रिक भइन्छ र प्रजातान्त्रिक परिपाटी बस्छ भन्ने अज्ञानताले दिमाग खाइदिएको देखिन्छ ।

उता माओवादी केन्द्रमा विचारको त कुरा छाडौं, कहिल्यै पनि निर्वाचन गरेर प्रक्रियाका हिसाबले केही थोरै भए पनि प्रजातान्त्रिक तौर तरिका अपनाऔं भन्ने छैन । त्यहाँ पार्टी नेता प्रचण्ड सदाबहार ‘माओ’ र उनीसँग प्रतिस्पर्धा गर्ने मानिस स्वतः ‘लिनप्याओ’ भएर आउँछ । नेतृत्व गर्नका लागि उनीबाहेक कोही पनि ‘मान्छे नै छैन’ त्यहाँ !

अर्को पार्टी पनि छ मोहनविक्रम सिंहको, नेकपा मसाल । त्यहाँ पनि मोहनविक्रम सिंहको कैयौं दशकदेखि एकछत्र राज कायम छ । उनी त्यो पार्टीका ‘माओ’ र उनको प्रतिस्पर्धा गर्ने जो कोही पनि ‘चाओ’ हुने उनको सदाबहार ‘थ्यौरी’ छ ।

समग्रमा हेर्दा निर्वाचनको अंगीकरण केवल नेतृत्व चयनको विधिगत र प्राविधिक पक्ष मात्र हो । यो विचार होइन । तर प्राविधिक रुपमा यसले नेतृत्व फेरबदलमा देखिने गरी प्रभाव पार्दछ ।

यदि साच्चै प्रजातान्त्रिक प्रणाली र व्यवस्थालाई सजीव र क्रियाशील बनाउने हो भने पहिले विचार निर्माण गरिनु पर्छ । त्यसलाई दस्तावेजीकरण गरिएपछि कार्यकर्ताका बिचमा लगेर विचार बहस चलाई अब्बल र कमसल विचार, त्यो विचारका लागि नेतृत्व दिन सक्ने र नसक्ने नेता र नेतृत्वका बीचमा निर्वाचन गराइनु पर्छ । यो नै प्रजातन्त्र र प्रजातान्त्रीकरणको वास्तविक प्राण, शरीर र जीवन हो ।