• चैत्र २३ २०८१, आईतवार

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा निषेध

मंसिर १३ २०७८, सोमबार

काठमाडौँ। गृह मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस सङ्क्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा निषेध गरेको छ ।कूटनीतिक नियोग, अफिसियल र आपत्कालीन कामबाहेक अफ्रिकी मुलुकबाट आउने नागरिकको प्रवेशमा रोक लगाउन अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा नाकामा रहेका प्रशासन कार्यालयलाई आन्तरिक
परिपत्र गरिएको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले कोभिड–१९ को नयाँ भेरियन्ट फैलिएका अफ्रिकी मुलुकका नागरिकलाई निषेध गरिएको बताए । अन्य देशमा पनि फैलिएको सूचना आएको छ तर आधिकारिक जानकारी नभएकाले पहिलो चरणमा अफ्रिकी नागरिकलाई रोक लगाइएको
उनले स्पष्ट पारे ।


Advertisement

अध्यागमन विभागले पनि मन्त्रालयबाट प्राप्त निर्देशन आफू मातहत अध्यागमन कार्यालयलाई परिपत्र गरिसकेको जनाएको छ । अफ्रिका र युरोपलगायतका मुलुकमा देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट निकै घातक रहेको दाबी स्वास्थ्य विज्ञहरूको छ । त्यस्तै अफ्रिकी मुलुक हुँदै यात्रा गरेर नेपाल प्रवेश गर्ने अन्य देशका नागरिकमाथि समेत उच्च निगरानी राखी कोरोना परीक्षण रिपोर्ट, खोपको मात्रा र स्वास्थ्य अवस्थाका बारेमा आवश्यक विवरण सङ्कलन गर्नसमेत निर्देशन दिइएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण जोखिम बढेसँगै विश्वका एक दर्जनभन्दा बढी देशले अन्य देशका नागरिकको प्रवेशमा रोक लगाउन थालेका छन् । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि छलफल गर्ने जनाएको छ ।