• मंसिर १५ २०८१, शनिबार

कांग्रेसलाई बलियो बनाउन पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्छ : नेता सिंह

मंसिर १२ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने उल्लेख गरे ।

विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए । संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद क्षण भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताए । काँग्रेसलाई बलियो बनाए संविधान र लोकतन्त्र बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्न कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको महत्त्वपूर्ण साथ सहयोग रहेको भन्दै सबैलाई धन्यवाद दिए ।