काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन्। ललितपुरमा पहिलो चरणको निर्वाचनमा मिनकृष्ण महर्जन, रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो ।
जसमा, चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३६ मत प्राप्त गरेका थिए । जसमा कुल मतदाता १३ सय २२ रहेका थिए भने दश मत बदर भएको थियो ।
यस पश्चात् आइतबार चित्रकार र श्रेष्ठबीच भएको दोस्रो चरणको निर्वाचनमा श्रेष्ठ ६ सय ६५ मतले विजयी भएको ललितपुर जिल्ला निर्वाचन अधिकृत विजय मिश्रले जानकारी दिए।
यसैगरी, चित्रकारले ६ सय ५३ मत प्राप्त गरेको उनले बताए। दोस्रो चरणको निर्वाचनमा भने तीन मत बदर भएको छ । जिल्ला पार्टी सभापतिको मतपरिणामसँगै कार्य समितिका अन्य पदाधिकारी एवम् सदस्यको मतगणना सुरु भएको छ ।